+

आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१३ श्रावण २०८३, बुधबार १८:५३

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, गृह, र उद्योग मन्त्रालयका प्रतिनिधि तथा चिकित्सक संघका पदाधिकारीहरूबीच भएको गहन छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति जुटेसँगै चिकित्सक संघले आफ्ना आन्दोलनका सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै देशभरका नियमित स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ।

वार्ताका क्रममा सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

ऐनका व्यवस्थाहरूलाई व्यवहारमा उतार्न आवश्यक पर्ने निर्देशिका छिट्टै तयार गर्ने र स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीहरूमाथि कडा कानुनी कारबाही अघि बढाउन सम्बन्धित मन्त्रालयहरूबीच चुस्त समन्वय गर्ने सहमति भएको छ।

यसका साथै स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन चिकित्सक संघको समेत सहकार्यमा एक विशेष कार्यदल गठन गरिनेछ, जसले सुरक्षा नीतिको कार्यान्वयन र प्रगतिको नियमित समीक्षा गर्नेछ।