+

सामाजिक सद्भाव खलबलिने कार्यमा संलग्न नहुन नेपाली कांग्रेसको निर्देशन

१३ श्रावण २०८३, बुधबार १९:०२

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई कडा निर्देशन दिएको छ। पार्टीले निर्देशनात्मक विज्ञप्ति जारी गर्दै यदि पार्टीको निर्देशनको उल्लङ्घन गरेको पाइएमा विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा हालै भएको दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति नेपाली कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्ला सुरक्षासम्बन्धी घटनाहरूलाई हेर्दा वर्तमान सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता तथा चुनौतीहरूप्रति पूर्ण रूपमा अनभिज्ञ रहेको कांग्रेसको ठहर छ।

सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था किन सिर्जना भयो र यस्तो संवेदनशील परिस्थितिमा राज्य संयन्त्र किन संयमित हुन सकेन भनी पार्टीले सरकारसँग जवाफ माग गरेको छ। साथै, घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न कांग्रेसले पुनः जोडदार माग गरेको छ।

यस्तो असहज परिस्थितिमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउनु सबैको साझा कर्तव्य भएको कांग्रेसले स्पष्ट पारेको छ। धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने तथा साम्प्रदायिक हिंसा भड्काउन खोज्ने तत्वहरूप्रति विशेष चनाखो रहन आवश्यक रहेको औंल्याउँदै पार्टीले अफवाह र उत्तेजनाले परिस्थिति थप जटिल बन्ने चेतावनी दिएको छ।

संकटको यस घडीमा सरकारले संवेदनशीलता गुमाए पनि समाजले संयम गुमाउन नहुनेमा जोड दिँदै कांग्रेसले सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गरेको छ।

प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्‍याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ। साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उल्लङ्घन गरेमा विधानबमोजिम कारबाही हुने स्मरण गराउँदछौँ।’