काठमाडौँ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा अवधि विस्तार गरी दुई सिफ्टमा राहदानी सेवा सञ्चालन गरिने जनाएको हो। विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।
गत हप्तादेखि विशेष गरी दक्षिण कोरियाको ईपीएस कार्यक्रमका लागि आवेदन दिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि सेवाग्राहीलाई सहज रूपमा राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा अवधि विस्तार गरिएको विभागको भनाइ छ।
राहदानी विभागले नेपाली नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाएको छ।



