+

सूर्य थापाले भने : शिक्षा मन्त्रीकाे राजीनामा अनपेक्षित

८ बैशाख २०८२, सोमबार १४:५५

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट दिनु अनपेक्षित र असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता थापाले उनको राजीनामा स्वीकृत नगर्न पनि सुझाव दिएका छन् । उनले भट्टराईले केही नराम्रो काम नगरेको भन्दै शिक्षकहरुको माग सम्बोधनका लागि प्रयास गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्

शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिनु जरूरी नै थिएन। मेरो सुझाव छ- उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न/बढाउन संभव हुनेछ।

उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गंभीर व्यक्तित्वका साथ उहाँले बिना धाकरवाफ बिमारी अवस्था र शल्यक्रियाका बाबजुद यस कामलाई निष्कर्षमा पु-याउन बडो निष्ठाका साथ कोसिश गर्नुभएको थियोे। बरू शिक्षक महासंघको आन्दोलनरत नेतृत्वले आवश्यक र अनिवार्य समन्वय/सहयोग नगरी उहाँको राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यसरी स्टाटसमा लेख्नुभएको छ।

मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो। प्रधानमन्त्रीज्यूले बैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेतारूलाई स्पष्ट भन्नुभएको थियोे।उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो। र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ। बैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब संभव नहुने स्थिति सिर्जना भयो कि?

जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ। यसको अत्यावश्यक प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझेर जिम्मेवारीपूर्वक समितिमा हुने दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने नै देखियो।