+

भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग

१२ श्रावण २०८३, मंगलवार ०६:४८

काठमाडौँ । नेपाली कांग्रेसले रासायनिक मल खरिदका लागि भारत जाँदा पक्राउ परी भारतीय जेलमा रहेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि सरकारसँग माग गरेको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका दुई किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहको रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि बाध्य भएर सीमावर्ती भारतीय बजार सोनवर्साबाट २ बोरा युरिया र डीएपी मल खरिद गरी ल्याउने क्रममा उनीहरूलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो। उनीहरू विगत २० दिनदेखि बिहारको सीतामढीस्थित डुमरा जेलमा रहेका छन्।

कांग्रेसले आफ्नै खेतमा प्रयोग गर्नका लागि मल लिन गएका किसानलाई पक्राउ गरिनु र २० दिनसम्म जेलमा राखिनु दुःखद भएको बताएको छ। ‘मल गोदाममा र किसान जेलमा हुनु अत्यन्तै विडम्बना हो,’ विज्ञप्तिमा भनिएको छ।

मल आपूर्ति व्यवस्थापनमा रहेको कमजोरी, योजनाको अभाव र प्रशासनिक असक्षमताको प्रत्यक्ष मार किसानमाथि परेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘समयमै र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा वर्षौंदेखि हाम्रा अन्नदाता किसानहरूले खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएका छन्।’

नेपाली कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक लाभका लागि नभई आफ्नै खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको रूपमा नहेर्न आग्रह गरेको छ। कांग्रेसले भारत सरकारसँग पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई रिहा गर्न र आवश्यक कानुनी सहजीकरण गरिदिन अनुरोध गरेको छ।