No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आफूहरूले छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग नपोत्न रवि लामिछानेको सुझाव

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनका लागि आन्दोलनहरुको आवश्यकता रहेको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को सिन्धुपाल्चोकको मेलम्चीबाट शुभारम्भ गर्दै सभापति लामिछानेले परिवर्तनका लागि आन्दोलन आवश्यक रहेको बताएका हुन् ।

उनले हिजोको रातो क्रान्तिमा रगत बगेकाले अब हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने बताए । उनले भने, ‘इतिहासमा रातो क्रान्ति भए। राता क्रान्तिप्रति हामीले अवमूल्य गरेका छैनौं, गर्दैनौं । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ।’

उनले  आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको पनि बताए । उनले भने, ‘हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ । हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।’

सभापति लामिछानेले जनतालाई अगाडि लगाएर आफू पछाडि बस्ने दिन गएको बताए ।उनले भने,‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ। त्यसको शान्त विरोध रास्वपाले गरेको हो ।’

उनले आफूहरुले समस्याको ज्ञापन पत्र नभई समाधानसहितको ज्ञापन पत्र बुझाएर जनतालाई जानकारी दिने बताए । उनले भने,‘हामीले दिएको सुझाव पत्र त सरकारले हेर्ने छैन। तर चिन्ता छैन ८४ मा जनताले रास्वपालाई सरकारमा पठाउने हुन् त्यो बेला योजनाहरुलाई प्राथमिकता दिने लिस्ट भएको कार्यान्वयन गर्छौं।’

अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका छन् । सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गरेकी छन् । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको छ । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।

दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको हो ।

प्रकाशित: २१ माघ २०८०, आईतवार ०८:५९

Leave a Reply