रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार

नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणाम बारेको खोज।

भद्र शर्मा | खोज पत्रकारिता केन्द्र

खकेन्द्र खत्रीले दाङबाट कृषि जेटीएको पढाइ सकेर पनि रोजगारी पाएनन्। पढ्दा लागेको ऋण तिर्न र परिवारलाई भरथेग गर्न उनलाई कमाउनै पर्ने बाध्यता थियो। एकल बाबुले हुर्काएका खकेन्द्रले कोरिया जाने सुर कसे। रोल्पा, गंगादेवका उनी तुलसीपुर, दाङमा बसेर कोरियाली भाषा सिक्न थाले।

खकेन्द्रको डेरा नजिकै बस्थे सल्यानका ‘सुशान्त’ भनिने निमबहादुर कुँवर र मोहन वली। उनीहरूले खकेन्द्रलाई कोरिया जाने झञ्झट भन्दा ‘धेरै कमाइ हुने’ रूस जान हौस्याए। रूसी सेनामा महीनाको तीन लाख रुपैयाँ तलब, एक वर्षपछि रूसी नागरिकता जस्ता प्रलोभन दिए। यी दुईसँगै भेटिइरहने गणेश न्यौपानेले त कोरियाको ‘सपना’ देख्नु पैसा र समयको बर्बादी भएको ठोकुवा गरिदिए।

यसअघि पोहोर भदौतिर रोल्पाकै नुवागाउँका अभिषेक बुढालाई पनि सुशान्त र मोहनले रूस पठाइसकेका थिए। उनीहरूले त्यहाँको सेनामा भर्ती भए पनि लडाइँमा गई नसकेका अभिषेकसँग खकेन्द्रको कुरा गराइदिए। अभिषेकले उनलाई रूसी सेनामा भर्ना हुन थप प्रलोभन दिए। अहिले लडाइँका क्रममा अभिषेकको मृत्यु भइसकेको सरकारले पुष्टि गरेको छ।

रूसी सेनामा भर्ती भई जसोतसो त्यहाँबाट फुत्किएका युवाहरूका अनुसार मोहन वलीका दाइ नाता पर्ने सल्यान, छत्रेश्वरीकै राज वली रूसमा बस्छन्। उनले रूसी प्रहरीमा कार्यरत महिलासँग विवाह गरेका छन्।

रूसी सेना छोडेर आएका खकेन्द्र खत्री।

यी वली दाजुभाइले विदेश जान चाहने नेपाली युवालाई विभिन्न प्रलोभन दिएर रूसी सेनामा भर्ती गराएका छन् र, त्यसबापत ठूलो रकम असुल्छन्।

खकेन्द्रका आफन्त पर्ने रोल्पा गंगादेवका दलबहादुर वलीले पनि मोहन वलीलाई ७ लाख रुपैयाँ बुझाएर रूस गए। सँगै रूस जानेमा थिए, सल्यान दामाचौरका तारा घर्ती पनि। परिवारका अनुसार लडाइँमा युक्रेनी सेनाको गोली लागेर ताराको मृत्यु भइसकेको छ।

गएको ३० असोजमा रूस पुगेका खकेन्द्र र दलबहादुर १६ कात्तिकमा अजरबैजान एअरलाइन्सबाट दिल्ली हुँदै नेपाल फर्किए। दलबहादुर अहिले भारतको हिमाञ्चलमा मजदुरी गर्दैछन् भने खकेन्द्र दलाललाई बुझाएको पैसा फिर्ता लिएर कसरी अन्य देश जाने भन्ने ध्याउन्नमा छन्।

खकेन्द्र र दलबहादुरले रूसी सेनामा जानका लागि मोहन वलीलाई नगद रु.३ लाख र बाँकी रकम उनकै निर्देशनमा निमबहादुर कुँवर र गणेश न्यौपानेको बैंक खातामा जम्मा गरिदिएका थिए (हे. बैंकिङ कारोबार)। पैसा बुझाएको दश दिनमै उनीहरूको भिसा आयो। काठमाडांै छाडेको दुई दिनपछि उनीहरू दुबई हुँदै रूसको राजधानी मस्को पुगे।

त्रिभुवन विमानस्थलमा उनीहरूसँगै रूस जान हिंडेका धादिङ, सल्यान र रोल्पाका थप पाँच जना भेटिए। दुबई पुग्दासम्म यो समूह ५२ जनाको भइसकेको थियो। युद्धग्रस्त क्षेत्रको जोखिमबारे बेखबर यी नेपाली युवाहरू उत्साहित थिए।

मस्को पुगेपछि त्यहाँका एजेन्टले अरू सबैलाई भर्ती केन्द्रमा पुर्‍याए पनि पचास हजार रुपैयाँ तिर्न बाँकी रहेको भन्दै खकेन्द्रलाई अर्कै होटलमा दुई दिन राखे। बक्यौता बुझाएपछि मात्रै भर्ती केन्द्र पुर्‍याइएका खकेन्द्रले भर्तीका लागि तम्तयार करिब १५० युवा देखे।

त्यहाँ उनलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो। ‘ग्रुप सेभेन बटालियन’ अन्तर्गत भर्तीका लागि रूसी भाषामा लेखिएकोे उक्त करारनामालाई गुगलको सहायताले अनुवाद गर्दा पहिले सुनाइए जस्तोे घाइते वा मृत्यु भएमा रु.१ करोड पाइने प्रावधान थिएन।

अन्योलका बीच उनीहरूलाई एक दिनको बस यात्रापछि तालीम हुने ठाउँमा पुर्‍याइयो। ६ महीनाको तालिमपछि युद्धमा पठाउने भनिए पनि दुई हप्तासम्म ड्रोन र बन्दुक चलाउने तालीम दिएर लडाइँमा पठाउन सुरु गरिएको थियो। त्यो पनि युक्रेनी सेनाका बङ्कर र टुकडी कब्जा गर्नका लागि।

यति बेलासम्म खकेन्द्र ‘ग्रुप सेभेन बटालियन’को ह्वाट्सएप ग्रुपमा जोडिइसकेका थिए। यसअघि नै युद्धमा सहभागी नेपालीहरूले त्यो ग्रुपमा हालेका मृत्यु र अङ्गभङ्गका दर्दनाक भिडियो र तस्वीरहरू देखेपछि उनको मन फेरियो।

अब युद्धमा गएपछि फर्किने सम्भावना छैन भन्ने बुझेका उनले त्यहाँबाट निस्कने उपाय खोज्न थाले। आफूसँग भएको १७ हजार रुबल (करिब २६ हजार रुपैयाँ) कमाण्डरलाई घुस दिए र, घरमा आफन्त बिरामी भएको भनेर विदाको बहाना बनाएर युद्धमा जानुअघि कात्तिक १२ गतेको साँझ ब्यारेकबाट बाहिर निस्किन सफल भए।

आधा रातमा सबै सुतेको मौका छोपेर निस्किएका उनी जंगलको बाटो  हिंडिरहँदा ट्याक्सी भेटियो। गुगल अनुवादको सहायताले ट्याक्सी चालकसँग सहयोग मागेर थप १४ घण्टाको यात्रापछि १३ कात्तिकमा मस्को पुगे। आफूसँग भएको पैसा सबै सकिएकाले नेपालबाटै टिकट काट्न लगाएर उनी अजरबैजान एअरलाइन्स मार्फत नेपाल फर्किएका हुन्।

खकेन्द्रले रूस जाँदा सुशान्त र मोहनलाई बुझाएको रु.७ लाख जसरी पनि फिर्ता लिनु छ। त्यसैले उनी आफ्ना अरू साथी रूस जान चाहेको बहाना बनाएर सुशान्तलाई भेट्न नेपालगञ्ज पुगेका थिए।

त्यही भेटमा पैसा फिर्ता मागेपछि सुशान्तले बैंकको चेक थमाए। तर, चेक दिएको बैंक खातामा रकम थिएन। अहिले सुशान्त फरार छन्। “बैंकिङ कसुर र मानव तस्करीको आरोपमा नेपाल प्रहरीको बेचबिखन ब्यूरोमा जाहेरी दिएको छु” खकेन्द्रले भने, “अहिलेसम्म केही भएको छैन।”

मानव तस्करको जालो

बेरोजगार युवालाई रूसी सेनामा पठाई लाखौं रुपैयाँ असुल्ने मानव तस्करहरूको ठूलो सञ्जाल रहेकोे पीडितहरूको बयानबाट स्पष्ट हुन्छ।

रूसी सेनाको कब्जाबाट फुत्किएर खोज पत्रकारिता केन्द्र को सम्पर्कमा आएका एक दर्जन बढी युवाले रूस जानकै लागि दलाललाई ७ देखि १० लाख रुपैयाँसम्म बुझाएकोे बताएका छन्।

उनीहरूका अनुसार नेपालीलाई विना तालीम अग्रमोर्चामा पठाइने भएकाले त्यहाँबाट सकुशल फर्केर आउने सम्भावना ५ प्रतिशत पनि छैन। नेपाल र रूसबीच सैनिक सम्झौता नभएकाले युद्धका घाइतेले क्षतिपूर्ति पाउँदैनन्, मृतकका परिवारले आफन्तको शव समेत पाउँदैनन्।

नेपाली युवालाई रूसी सेनामा पठाउने मोहन वली।

रूसी सेनामा भर्ती भएका खकेन्द्र लगायतका करिब १०० नेपाली ज्यानको बाजी राखेर कालको मुखबाट फर्किए। तर, उनीहरू जस्तै दलालको विश्वासमा परी रूस पुगेका मकवानपुरको थाह नगरपालिकाका रामकुमार प्रधान युक्रेनी भूमिबाटै सम्पर्कविहीन भएका छन्।

त्यसअघि रामकुमार नेपाली सेनामा कार्यरत थिए। जागिरको थोरै पैसाले परिवार धान्न धौ–धौ थियो। २०६४ सालमा आमाको निधनपछि उनले सेनाको जागिर छाडे। अरू रोजगार नपाएका उनको परिवारमा २०७२ सालको भूकम्पले घर लडाइदिएपछि थप दुःख निम्तियो। अवस्थामा सुधार नभएपछि ऋणमाथि ऋण थपेर गएको असारमा रु.८ लाख दलाललाई बुझाए, रूस गए।

अहिले उनको परिवारले त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयकोे कन्सुलर विभागमा बुझ्दा त्यहाँका कर्मचारीले उनको लडाइँका क्रममा युक्रेनमा मृत्यु भएको खबर सुनाएको भाइ बाबुकाजी बताउँछन्।

रामकुमारसँगै रूस हिंडेका काठमाण्डौ डीबी गुरुङ त्यहाँको सेनामा भर्ती हुनु अगावै नेपाल फर्काइएको भनिए पनि रामकुमार गएको ९ महिनादेखि सम्पर्कमा छैनन्।

“अक्टोबर १६ मा मलाई युद्धमा लैजाँदैछ। के हुन्छ थाह छैन। फर्केपछि फोन गरौंला” युद्धमा जानु दुई दिनअघि भाइ बाबुकाजीसँग ह्वाट्सएप कुराकानी गरेका रामकुमारले रूसी सेनाको कम्ब्याट लगाएको फोटो पनि पठाएका थिए।

“पैसाकै लागि दलालको भर परेर गएको हो। अहिले मृत्यु भइसक्यो भन्छन् तर, सरकारले केही प्रमाण दिएको छैन”, भाइ बाबुकाजीले भने।

बाबुकाजीका अनुसार डीबी गुरुङ पनि रामकुमारसँगै रूस जान भनेर कतारसम्म पुगेका थिए। तर कतारको अध्यागमनले उनलाई फर्काइदिएको थियो। दोस्रो पटक प्रयास गर्दा चाहिं उनी रूसको अध्यागमनबाट फर्काइएका थिए।

डीबी गुरुङले बेपत्ता हुनुअघि प्रधानको परिवारलाई भने अनुसार उनी र रामकुमारलाई एजेन्ट नवराज केसी र म्यानपावर सञ्चालक सुरज थापा मिलेर रूस पठाएका थिए। रामकुमारले रूस जानका लागि रु.८ लाख सुरजलाई बुझाएको उनको परिवारले बताएको छ। उनीहरूको टिकट न्यू नेपाल एजुकेसन वल्र्ड नामक ट्राभल कम्पनीले बनाएको थियो। पीडित परिवारका अनुसार नवराज र सुरज अहिले भारतमा लुकेका छन्। न्यू नेपाल एजुकेसन वल्र्डका सञ्चालक पनि सम्पर्कमा छैनन्।

रूसी सेनामा ज्यान गुमाएका रामकुमार प्रधानका भाइ बाबुकाजी प्रधान।

बाबुकाजी आफैं सेवाग्राही बनेर रूस जाने टिकट बनाइदिन आग्रह गर्दा त्यहाँका कर्मचारीले चासो त देखाए तर, सञ्चालक सुरज थापा त्यहाँ थिएनन्। सम्पर्क सूत्र पत्ता लगाएर ह्वाट्सएपमा कुरा गर्दा नवराजले रामकुमारलाई आफूले टिकट मात्र मिलाइदिएको बताएका थिए।

“एक पटक कुरा भएको हो, त्यसपछि उनीे ह्वाट्सएपमा पनि छैनन्”, बाबुकाजीले भने।

नेपाली सेनाको जागिरबाट सेवा निवृत्त तीर्थराज पाण्डे दुबईको रोयल गार्डमा जागिर खुल्ने हल्ला सुनेर सुर्खेतबाट काठमाडौं आएका थिए। पोहोर वैशाखमा काठमाडौं आएका उनको अधिकांश समय गोंगबुको बर्गर हाउसमा बित्थ्यो।

त्यहीं धादिङका कुबेर कार्की उनीसँग नजिकिए। “दुबई रोयल गार्ड भन्दा रूसी सेनामा जानुस्। म ढुक्कले मिलाइदिन्छु” उनले लोभ देखाए, “महिनाको तीन लाख तलब, भविष्यमा नागरिकता, पासपोर्ट सबै मिल्छ।”

कुबेरको आश्वासनमा लोभिएका तीर्थराजले सल्यान छत्रेश्वरीका राज वलीलाई रु.६ लाख ५० हजार बुझाएको एक हप्तामै अर्थात् ३० सेप्टेम्बरमा दुबई हुँदै मस्को पुगे। त्यहाँ उनलाई लिन रूसी नागरिक एलेक्स विमानस्थलमा आइपुगेका थिए। ३ अक्टोबरमा तालीम केन्द्रमा पुगेपछि उनलाई २२ पृष्ठको करार सम्झौता थमाइयो। त्यसमा दलालले भने जस्तो सेवा–सुविधा उल्लेख नभएको देखेपछि तीर्थराज झस्किए।

उक्त करारमा हस्ताक्षर नगरे रूसी सरकारले १५ वर्षसम्म जेल हाल्न सक्ने चेतावनी भारतीय एजेन्टले दिए पनि तीर्थराज सहमत भएनन्। “बरु जेल हाल्, म अब अगाडि जान्नँ भनेर अड्डी कसें। मेरै कारण अरूको भर्ती पनि भाँडिन्छ भनेर होला, मलाई छोडिदियो”, तीर्थराज भन्छन्।

मस्कोबाट नेपाल फर्कंदा उनको थप रु.४ लाख खर्च भयो। काठमाडौंमा भेटिएका राज वलीले जाँदा लागेको खर्चमध्ये रु.३ लाख ५० हजार फिर्ता गर्ने वाचा त गरे त्यसपछि बेपत्ता भए।

“म्यासेज गर्‍यो भने कहिले दिल्लीमा, कहिले कहाँ छु भन्छ” रूस जानुअघि तत्कालीन शिक्षामन्त्री देवेन्द्रराज पौडेलको सुरक्षार्थ नौ महिना खटिएका तीर्थराज सुनाउँछन्, “रूसको चक्करमा निकै दुःख पाइयो।”

कति मरे, कति हराए, थाहै छैन

‘रूसी सेनामा भर्ना भएका नेपालीको जीवन रक्षार्थ अभियान’ले संकलन गरेको विवरण अनुसार रूस–युक्रेन युद्धमा ४९ नेपाली युवाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यस्तै, मृत्यु भएको खबर पाए पनि आधिकारिक पुष्टि नभएका थप ४१ जना छन्। रूसी सेनामा रहेका नेपालीले दिएको सूचनाको आधारमा मृतकका परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पनि गरिसकेका छन्।

नेपाली युवालाई रूसी सेनामा पठाउने राज वली।

समाजले २०८१ वैशाखसम्म रूसी सेनामा भर्ती भएका ९९१ जना युवाका परिवारको विवरण संकलन गरेको छ। उक्त विवरण अनुसार युद्धमा घाइते भएका १२७ जना नेपाली युवा रूसी अस्पतालमा उपचाररत छन्। २७२ जना आठ महिनादेखि परिवारको सम्पर्कमा छैनन्।

नेपालको परराष्ट्र मन्त्रालय, कन्सुलर सर्भिस विभागका महानिर्देशक प्रकाशमणि पौडेल रूसी सेनामा भर्ती भइसकेपछि त्यहाँबाट भागेर मस्कोसम्म फर्किन सकेका ११० जना नेपालीको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाएर नेपाल पठाएको बताउँछन्।

फर्किएका नेपाली युवाहरू भन्छन्– नेपालीलाई भर्ती गर्ने रूसी सेनाका ब्यारेक संगठित र व्यवस्थित देखिए पनि युद्धको अग्रमोर्चा निकै भद्रगोल र अव्यवस्थित छ। तालीम प्राप्त वास्तविक सैनिक कमाण्डर युद्धमा सबैभन्दा अगाडिको मोर्चाबाट टाढा अर्थात् सुरक्षित क्षेत्रमा रहेर अनुगमन गर्छन्। अपराध प्रमाणित भई जेल सजाय काटिरहेका कैदीलाई चाहिं कमाण्डर बनाएर अग्रमोर्चामा पठाइन्छ। उनीहरूले नेपाली सैनिकलाई कुटपिट गर्ने, मानसिक यातना दिने र अङ्गभङ्ग गरेर ज्यान लिने धम्की दिन्छन्।

हत्या, बलात्कार, डकैती आदि जघन्य अपराधमा जन्मकैदको सजाय भोगिरहेका रूसी नागरिकले एक वर्ष युद्ध लड्न मञ्जुर भए सजाय मिनाह हुन्छ। युद्धमा मृत्यु नभएमा उनीहरू एक वर्षमा घर फर्कन्छन्। त्यसपछि उनीहरूले समाजमा जस्तोसुकै अराजकता देखाउँदा पनि प्रहरीले पक्राउ गर्दैन। बरु युद्धबाट बाँचेर आएको ‘वार हिरो’ भन्दै सम्मान गरिन्छ।

अवैध धन्दा, सबैको मिलेमतो

नेपाली कानून अनुसार भारतीय र बेलायती सेना बाहेक विदेशका अन्य सैन्य संस्थामा नेपाली नागरिकको भर्ती अवैध हो। सन् २०२२ को जून महिनामा भारतले अग्निपथ योजना अघि सारेपछि उत्पन्न विवादका कारण भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया स्थगित भएको छ।

साढे दुई वर्षअघि रूसले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर भी पुटिनले विदेशी नागरिकलाई पनि रूसी सेनामा भर्तीको बाटो खुला गरे। आकर्षक तलब, रूसी नागरिकता, पासपोर्ट र आवासीय सुविधा लगायत घोषणा गरेपछि अध्ययनका लागि रूस पुगेका युवाहरू पहिलो पटक रूसी सेनामा भर्ना भए।

दुई हप्तासम्म सैनिक शिविरमा कम्ब्याट डे«स लगाएर हतियार र ड्रोन चलाउन सिकाइएका उनीहरूलाई रूसी कमाण्डरले त्यसको भिडियो बनाएर टिकटक लगायतका सामाजिक सञ्जालमा हाल्न लगाए।

उक्त भिडियो हेरेर लोभिएका खाडीमा काम गर्ने र बेरोजगार नेपाली युवाको सोधपुछ बढ्न थाल्यो। त्यहींबाट नेपाली युवालाई रूसी सैनिक बनाउन दलालहरू पनि सक्रिय भए। नेपाली युवालाई धमाधम भिजिट भिसामा दुबई हुँदै मस्को पुर्‍याउन थालियो।

रूसी सेनामा ज्यान गुमाएका नवीन शाही युद्धमा खटिंदा (माथि) र उनको आईडी।

“मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ।” युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही भन्छिन्, “लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।”

पैसाको लोभमा सेना र प्रहरीको जागिर छोडेर खाडी मुलुकमा पुगेका अन्य नेपालीले पनि तालीम अवधिभर रूसी सेनामा जागिरको राम्रो अवसर भएको विज्ञापन गरे। रूसी सेनाकै आग्रहमा सामाजिक सञ्जालमा राखिएका त्यस्ता भिडियोबाट आकर्षित नेपाली युवा अझै पनि मानव तस्करको फन्दामा परिरहेका छन्।

मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ। लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।

– युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही

“जाँदा आठ लाख तिरेको थिएँ, फर्कंदा समेत गरेर ११ लाख सकियो”, रूस पुगेर फर्किएका दैलेखका कृष्णबहादुर शाहीले भने। नेपाली सेनाबाट अवकाशप्राप्त उनका दुई गाउँले तुलाराम अधिकारी र दुर्गा पौडेलको भिडियो हेरेपछि उनी पनि दलाललाई पैसा बुझाएर रूस गएका थिए।

बायाँ हातबाट चार र दाहिने तिघ्राबाट दुईवटा गोली निकालिएका कृष्णबहादुरको शरीरभरि बमका छर्राले बनाएका घाउ छन्। उनकै क्षेत्रका खेम सुनारलाई रु.८ लाख बुझाएर रूस गएका कृष्ण ऋणको भारीले थिचिएका छन्। उनी आफूलाई रूस पठाउने दलाल खोजिरहेका छन्।

रूसी सेनामा भर्ना भएका नेपालीको ज्यान गइरहेको खबर सञ्चारमाध्यममा प्रकाशित भएपछि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले फागुन २३ गते रूसी समकक्षी सर्गेइ लाभरोभसँग टेलिफोनमा कुरा गरेका थिए। श्रेष्ठले रूसी सेनामा भर्ना भएका नेपालीको करार सम्झौता रद्द गरी फिर्ता पठाउन, घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको परराष्ट्र मन्त्रालयले त्यसबेला जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रूसी सेनामा ज्यान गुमाएका नवीन शाहीकी पत्नी दीपा सिंह शाही।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर राई दुई देशका विदेश मन्त्रीबीच कुरा भए पनि त्यसको कार्यान्वयन नभएको बताउँछन्। “उनीहरूले हाम्रो कुरा सुनेपछि कार्यान्वयनका लागि मोडालिटीको विषय उठाएका थिए” राई भन्छन्, “तर, त्यसमा खास काम भएको छैन।”

यता बेरोजगार युवालाई ललाई–फकाई युद्धमा पठाउने दलालहरूको पहिचान गरी कारबाही गर्ने काम पनि अहिलेसम्म सरकारको प्राथमिकतामा परेको छैन।

“कति दलालहरू त विदेश पुगिसके” रूसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी भन्छिन्, “यहीं भएकालाई पनि कारबाही गर्न प्रहरीले चासो दिएको छैन।”

उनका अनुसार रोजगारीको आशमा रूसी सेनामा भर्ती भएका नेपालीहरू अग्रमोर्चामा पठाउन थालिएपछि दिनहुँजसो मारिने, घाइते हुने र घर फिर्तीको लागि याचना गर्नेको संख्या बढिरहेको छ।

उनीहरूको उद्धार, उपचार, क्षतिपूर्ति र दाहसंस्कार जस्ता विषय सम्बोधन नभएपछि यस अघिदेखि नै मानव तस्करले खाडीमा अलपत्र पारेका महिलाको रक्षार्थ काम गरिरहेकी कृतु यो अभियानमा संलग्न भएकी हुन्।

२३ चैतमा मानव तस्करीमा संलग्न ६१ जनाको नाम प्रमाण सहित गृहमन्त्री रवि लामिछानेलाई बुझाए पनि खासै कारबाही नभएको भण्डारीको गुनासो छ।

रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्, हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।

– प्रहरी उपरीक्षक गौतम मिश्र, निर्देशक, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो

यद्यपि, त्यही सूचीका आधारमा प्रहरीले २२ जना म्यानपावर सञ्चालक, ट्राभल एजेन्सीका सञ्चालक र केही पूर्व सैनिकलाई पक्राउ गरेको थियो। “प्रहरीले २२ जनालाई पक्राउ गरेर छाडेको छ। केहीबाट रकम फिर्ता गराइएको छ तर, थप कारबाही कसैलाई भएको छैन”, भण्डारीले भनिन्।

“रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्” नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, “हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।”

रूसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका २२ जनाका परिवारले खोजी र उद्धारका लागि पहल गरिदिन निवेदन दिएका छन्। निवेदनमा नाम रहेकामध्ये दुई जनाको मृत्यु भएको उनीहरूसँगै रूसी सेनामा रहेका नेपालीले सम्बन्धित परिवारलाई सूचना दिएका छन्। त्यहाँ सम्पर्कविहीन भएका भनिएका एक जना नेपाली भने फर्किसकेका छन्।

“यसअघि उद्धारका लागि निवेदन मात्र आएकाले अनुसन्धान अगाडि बढाएर कारबाही गर्न सकिएको थिएन। अब जाहेरी पनि आएकाले कारबाही अगाडि बढेको छ। यसको नतिजा केही दिनमा देखिएला”, एसपी मिश्रले भने।

गएको मंसीर तेस्रो साता नेपालीलाई अवैध बाटो मस्को पुर्‍याएर रूसी सेनामा भर्ती गराएको आरोपमा शैक्षिक परामर्श दिने कन्सल्टेन्सी सञ्चालक सहित १२ जना पक्राउ परेका थिए। तीमध्ये नेपाली सेनाबाट अवकाशप्राप्त हरि बिक र अरू दुई जना सुजाता दाहाल र ईश्वर अधिकारी पनि थिए। ती सबै तुरुन्तै रिहा भए।

पक्राउ परेकामध्ये चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भए पनि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै आरोपितलाई सफाइ दियो। अभियन्ता कृतु भण्डारी मानव तस्करहरूलाई राजनीतिक पहुँचको आधारमा उन्मुक्ति दिइएको आरोप लगाउँछिन्।

सिकलसेलले जायजेथा सकिँदै

सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर तराईको श्रमशील जनशक्ति ‘विरामी’ भइँदिदा राज्यलाई ठूलो क्षति पुगिरहेको छ।

उन्नती चौधरी | खोज पत्रकारिता केन्द्र

सिकलसेल पीडित साँघुराम चौधरी। तस्वीरहरु: उन्नती चौधरी

गाउँपालिका कार्यालय बाहिर बैसाखीको सहारामा बल्लतल्ल उभिन सकेका थिए, साँघुराम चौधरी। देख्ने जो–कोहीले पनि उनको अनुहारमा असिम पीडा अनुभूत गर्न सक्थ्यो।

कैलारी गाउँपालिका–८ लोहरपुरका ३८ वर्षीय साँघुरामलाई सिकलसेल रोगले च्यापेको ९ वर्ष पुग्यो। रक्तप्रवाह रोकिएर सुक्दै गएको उनको एउटा खुट्टा पोहोर मंसीरमा चिकित्सकले काटिदिए। त्यसमाथि निरन्तरको शरीर दुखाइ र विभिन्न अंगमा देखा पर्ने समस्याले गिजोलिराख्छ। साह्रो–गाह्रो हुँदा रगत चढाइहाल्नुपर्छ।

त्यसदिन उनी सिकलसेलका बिरामीले पाउने सुविधाबारे जानकारी लिन गाउँपालिका कार्यालय पुगेका थिए।

साँघुरामका अनुसार उपचारमा उनको जायजेथा सबै सकियो। लघुवित्तको ऋण तिर्न दुई कट्ठा जग्गा र बस्तुभाउ बेच्नु पर्‍यो। घरमा श्रीमती र ११ वर्षका छोरा छन्। “अब त रगत दिने साथीभाइ पनि टाढिन थालिसके”, उनले भने।

उता कैलारी–५ का नेकिराम कठरियाका १६ र १४ वर्षका दुई सन्तान रोग पत्ता नलागेरै बिते। “छोरीलाई ज्वरो आइराख्थ्यो, एक दुई पटक पखाला चलेपछि बचाउन सकिएन” उनले भने, “छोरालाई पित्तथैलीमा पत्थरी थियो, जन्डिस पनि देखिएको थियो।”

कठरियाकी श्रीमती पनि सिकलसेलकी बिरामी हुन्। पछि परीक्षण गराउँदा उनकी जेठी छोरीमा पनि सिकलसेल देखियो। त्यसैले बितेका दुई बच्चाको मृत्युको कारण पनि सिकलसेल हुनसक्ने उनको अनुमान छ। चिकित्सकहरूका अनुसार सिकलसेलका बिरामीलाई पत्थरी, जण्डिस जस्ता समस्या पनि हुने गर्छ।

धनगढीकी २९ वर्षीया सुष्मा राना थारूलाई सानैदेखि हातखुट्टा दुख्ने, थकाइ लाग्ने, शरीर दुख्ने समस्या थियो। महीनैपिच्छे बिरामी पर्न थालेपछि अभिभावकले झारफुक गराए। उस्तै समस्या भाइ शिवमलाई पनि देखिएपछि २१ जेठ २०७७ मा परीक्षण गराउँदा दिदीभाइ दुवैमा सिकलसेल पोजिटिभ देखियो।

अहिले शिवमका पाँच वर्षीय छोरामा पनि त्यही समस्या देखिएको छ। यस पटक भने उनीहरूले झारफुक गरेनन्, अस्पताल लगे। सुष्मा भन्छिन्, “तीनै जना औषधि खाइरहेका छौं।”

असाध्यै पीडा, भद्रगोल व्यवस्थापन

सिकलसेल रोगले असाध्यै पीडा दिने र उपचार पनि महँगो हुने गरेको प्रा.डा. विशेष पौडेल बताउँछन्। यो रोगका बिरामीलाई सरकारले उपचारका लागि केही सहयोग गरे पनि त्यसबाट खासै मद्दत नपुगेको उनको बुझाइ छ। उनी भन्छन्, “यो रोगका बिरामीलाई प्रसवका बेला महिलालाई हुनेभन्दा पनि धेरै बढी पीडा निरन्तर भइरहन सक्छ।”

सिकलसेलबाट खुट्टा गुमाएकी साँघुराम चौधरी र उनकी पत्नी।

सिकलसेल रोगका बिरामीको शरीरमा रक्त कोषिकाहरू हँसिया आकारको हुने हुँदा त्यस्ता कोषिकाहरू एकापसमा गुजुल्टिएर रक्त प्रवाहमा बाधा पुग्ने र त्यसले असह्य पीडा दिने उनी बताउँछन्। चिकित्सकका अनुसार रक्त प्रवाहमा अवरोधका कारण शरीरका विभिन्न अंग काम नलाग्ने, हृदयघात हुनेसम्म हुन्छ।

पश्चिम नेपालको थारू समुदायमा बढी देखिएको यो वंशाणुगत रोगका पीडितहरू कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा बढी छन्।

दुई वर्षअघि अध्येता सन्तराम चौधरीले दाङ जिल्लामा गरेको एक अध्ययन अनुसार त्यहाँ थारू समुदायका ९.३ प्रतिशतमा सिकलसेल देखिएको थियो। जबकि, थारूबहुल पश्चिमका पाँच जिल्लामध्ये दाङमा प्रभावितको संख्या कम भएको अनुमान छ। स्वास्थ्य कार्यालय, बर्दियाले १ हजार ९९२ जनामा गरेको अनुसन्धानमा ११ प्रतिशतमा सिकलसेल रोग फेला परेको थियो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सानो आकारमा भएका यस्ता छिटपुट सर्वेक्षण बाहेक नेपालमा सिकलसेल प्रभावित जनसंख्या कहाँ कति छ भन्नेबारे विस्तृत अध्ययन भएको छैन। परिषद्ले सिकलसेलबारे नेपालको तराईका जिल्लामा गरेको एक विस्तृत अध्ययनको प्रतिवेदन भने अझै तयार भइनसकेको त्यहाँका सूचना अधिकारी चन्द्रभूषण यादव बताउँछन्।

“यो रोग निर्मूल पार्न अहिलेसम्म पत्ता लागेको उपचार भनेको १२ वर्षभन्दा माथिका बिरामीका लागि जिन थेरापी हो, जुन असाध्यै महँगो छ” प्रा.डा. पौडेल भन्छन्, “जिन थेरापीका लागि विदेशमा करिब १६–१७ करोड रुपैयाँ खर्च लाग्छ।” यद्यपि पाँच वर्ष मुनिका बालबालिकामा बोनम्यारो ट्रान्सप्लान्ट गरेर निर्मूल पार्न सकिने उनले बताए। नेपालमै संभव रहेको बोनम्यारो ट्रान्सप्लान्टका लागि आवश्यक स्रोतसाधन भए पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ।

संघीय सरकारले सिकलसेल प्रभावितका लागि उसकोे जीवनभरमा उपचार बापत एक लाख रुपैयाँ उपलब्ध गराउँछ।

महिलालाई झनै गाह्रो

गोदावरी नगरपालिका–८ की राधा चौधरीको जीवन सिकलसेलले कष्टसाध्य बनाएको छ। उनका दाइ, दिदी र भाइ समेत यही समस्याबाट प्रभावित छन्।

३५ वर्षीया राधाका अनुसार ९ वर्षअघि माइती गाउँ कञ्चनपुरको कृष्णपुर–६ मा छँदा सिकलसेल पोजिटिभ पुष्टि भएकी उनी गाउँकै पहिलो व्यक्ति हुन्। भन्छिन्, “त्यसै बेलादेखि हो, सेती अस्पतालले सिकलसेल बिरामीको तथ्यांक राख्न शुरू गरेको।”

सिकलसेलपीडित राधा चौधरी सन्तानसँगै।

२०७३ सालमा स्नातक तह पढ्दै गर्दा उनको विवाह पक्कापक्की भइसकेको थियो– आफ्नै प्रेमी राजेश चौधरीसँग। तर, बिहे हुनुअघि उनी बिरामी परिन्। बिरामीको कारण सिकलसेल भन्ने थाहा पाएका केटा पक्षले उनलाई भित्र्याउन मानेनन्। त्यसको तीन वर्षपछि २०७६ सालमा मात्रै राधाको सम्भावित उपचार खर्च माइतीले नै व्यहोर्ने शर्तमा विवाह भयो।

२०७९ सालमा राधा गर्भवती भइन्। पिसाबबाट रगत आउने समस्या देखिएपछि उनी धेरै अस्पतालहरूमा पुगिन्। अन्त्यमा सिकिस्त भइसकेपछि काठमाडौंको ब्लड हस्पिटलमा भर्ना भइन्।

“१२ दिनसम्म आईसीयूमा बस्नु पर्‍यो” उनी भन्छिन्, “१७ पिन्ट रगत चढाउनु परेको थियो।” चिकित्सकको सुझाव अनुसार उनी सुत्केरी हुँदासम्म काठमाडौंमै बसिन्। सिकलसेलले गर्दा बेलाबेला राधाको फियो सुन्निन्छ। उनी भन्छिन्, “दुखाइको सीमा नै हुँदैन। सास फेर्न, उठ्न–बस्न पनि गाह्रो हुन्छ।”

बारम्बार सुन्निएर असाध्यै दुःख दिने फियो शल्यक्रिया गरेर निकाल्न चिकित्सकले सुझाव दिएका छन्। उसो त उनलाई बोनम्यारो प्रत्यारोपण गरेपछि यो रोग धेरै हदसम्म नियन्त्रण गर्न सकिने पनि थाहा छ। तर, त्यसका लागि लाग्ने ५ देखि ७ लाख रुपैयाँ खर्च राधाको हैसियतभन्दा निकै परको कुरा हो।

कञ्चनपुरकी १७ वर्षीया सम्झना चौधरीको शरीर सिकलसेलले थिलोथिलो पारेको छ। एक वर्षअघि उनी बिरामी परेर अस्पताल पुग्दा शरीरमा रगतको मात्रा निकै कम भइसकेको थियो। सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा थाहा भयो, उनलाई सिकलसेल भएको रहेछ। “उपचारमा धेरै पैसा खर्च भइसक्यो, नियमित औषधि खाइरहेकी छु” उनी भन्छिन्, “तर, पनि बेलाबेला हुने पीडाले अब जीवन सकिन्छ जस्तो लाग्छ !”

कैलारी–८ की ३५ वर्षीया संगीता चौधरी बिरामी पर्दा अस्पतालमा कुरिदिने मान्छे समेत हुँदैनन्। सिकलसेल भएकी उनका हात–खुट्टाको जोर्नी कमजोर भएर राम्रोसँग हिंडडुल गर्ने अवस्था छैन। मासिक औसतमा ४ पिन्ट रगत चढाइरहेकी उनको आर्थिक अवस्था कमजोर हुँदा उपचार राम्रोसँग भएको छैन।

उपचारका लागि खर्च जुटाउने, बिरामी पर्दा कुरुवा बस्ने जस्तो सहयोग माइतीले नै गर्दै आएका छन्। नौ वर्षको अवधिमा ७ लाख रुपैयाँ  खर्च भइसकेको उनी बताउँछिन्। भन्छिन्, “यो रोग पत्ता लागेपछि छरछिमेकले समेत हेलाँ गर्छन्।”

चेतना कम भएको समुदायमा सिकलसेलका बिरामीलाई हेर्ने दृष्टिकोण फरक छ। यही कारण युवा–युवतीको विवाह रोकिन्छ। विवाह भइहाल्यो भने पनि हेलाँहोचो र मातृत्वमा प्रश्न उठाइन्छ।

संगीताको दुई वर्षीय बच्चालाई पनि सिकलसेल पोजिटिभ छ। तर, परिवार र समाजबाट तिरस्कृत हुने डरले यो कुरा अरूलाई सुनाएकी छैनन्। भन्छिन्, “गाउँमा सिकलसेल रोगबारे गलत जानकारी छ। यस्ता बिरामीलाई गाउँमै बस्न दिनुहुन्न भन्छन्। छुवाछूत गर्न थाल्छन्।”

राधा चौधरीको साथीलाई पनि सिकलसेल देखियो। यसैकारण स्नातकसम्म सँगै पढेको साथीसँग तय भएको विवाह टुट्यो। अहिले ती बिरामी काठमाडौंमा उपचाररत छन्।

राधा भन्छिन्, “सिकलसेलले जीवनमा ठूलो निराशा ल्याउँछ। स्वस्थ मानिस बराबर हामी सक्रिय हुन सक्दैनौं, तर परिवार र समाजले उत्तिकै काम गर्न दबाब दिन्छ। समाजमा यसै पनि हेपाइमा परेका महिला यो रोग लागेपछि त झन् धेरै उत्पीडनमा बाँच्नुपर्छ।”

अनुसन्धानकर्ता यूजिन कुश्मी सिकलसेलले महिला र पुरुषमा एकै खालको प्रभाव पार्ने भए पनि महिलालाई गर्भवती र सुत्केरी हुँदा विशेष स्याहार र उपचार चाहिने बताउँछन्।

महिलामाथि हुने कामको बोझ, लुगाधुने, भाँडा माझ्ने जस्ता घरेलु कामदेखि कृषि क्षेत्रमा काम गर्ने महिला पानीको सम्पर्कमा रहने हुँदा त्यसले पनि उनीहरूलाई बढी दुःख दिन्छ।

स्नातकोत्तर तहको थेसिस यही विषयमा गरेका यूजिन सिकलसेल प्रभावित केही बिरामीले पारिवारिक तथा सामाजिक विभेद सहन नसकेर आत्महत्या समेत गरेको दाबी गर्छन्।

चिकित्सक विशेष पौडेल सिकलसेलले महिला र पुरुषमा बेग्लै प्रभाव नपारे पनि गर्भवती र सुत्केरी हुँदा महिलाको अवस्था अनुसार विशेष उपचार आवश्यक पर्ने बताउँछन्।

सरकारको बेवास्ता

देशमा संघीयता लागू भएपछि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य उपचार आर्थिक सहायता निर्देशिका २०७७ (पहिलो संशोधन) को २ (ग) मा कडा रोग भन्नाले मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोगलाई सम्झिनुपर्छ भन्ने उल्लेख गर्‍यो।

उक्त निर्देशिकालाई टेकेर गोदावरी नगरपालिकाकी राधा चौधरीले २०७८ सालमा मन्त्रालयबाट रु.५० हजार उपचार खर्च पाइन्। उनका अनुसार त्यतिबेला सिकलसेलका बिरामीले १० हजारदेखि १ लाख रुपैयाँसम्म उपचार खर्च पाएका थिए। तर २०७९ मा भने प्रदेश सरकारले सिकलसेल बिरामीलाई उपचार खर्च दिएन।

सिकलसेल जाँच गर्न कैलाली स्वास्थ्यचौकी पुगेका सर्वसाधारण।

प्रदेश सरकारको उपचार आर्थिक सुविधा सम्बन्धी कार्यविधि २०८० मा विपन्न बिरामीलाई कडा रोगको उपचार र आपत्कालीन खर्च सुविधा प्रदान गर्न कार्यविधि बनायो। यो कार्यविधि २०८० को २ (ग) मा कडा रोग भन्नाले क्यान्सर, मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण, मुटुको शल्यक्रिया, स्पाइनल सर्जरी, मस्तिष्कघात, प्यारालाइसिस तथा नसा सम्बन्धी रोगको सर्जरी उल्लेख छ। सिकलसेल कतै पनि उल्लेख छैन।

सिकलसेल रोग विरुद्धका अभियन्ता पीताम्बर चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले सिकलसेल रोगका नाममा करोडौं खर्च गरिरहेको छ। तर बिरामी लक्षित कार्यक्रम कुनै छैन। “सरकारले गोष्ठी, सम्मेलन र बिरामीको पहिचानका लागि बजेट खर्च गरिरहँदा वास्तविक बिरामी भने उपचार नपाएर छट्पटाइरहेका छन्।”

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हालसम्म सिकलसेल रोग व्यवस्थापनका लागि रु.४ करोड पचास लाख खर्च गरे पनि कुन कुन शीर्षक अन्तर्गत खर्च भयो भन्ने अभिलेख नराखिएको जनाएको छ।

निजामती अस्पताल, काठमाडौंमा सेवारत रक्त रोग विशेषज्ञ प्रा.डा. विशेष पौडेल भन्छन्, “अहिले पनि औसतमा दैनिक १० जना सिकलसेलका बिरामी सिभिल अस्पतालमा आइरहेका छन्। सरकारले यो रोगका बिरामी धेरै रहेका ठाउँमा उपचारको विशेष व्यवस्था मिलाएको भने पनि आर्थिक अवस्था कमजोर रहेका बिरामीहरू सिकिस्त अवस्थामा काठमाडौं आइपुग्नुपर्ने बाध्यता अझै विद्यमान छ।”

उनका अनुसार बिरामीको अवस्था निक्र्योल नगरी शरीरमा रगत कम छ भन्दै थप रगत दिन थालेपछि समस्या झन् बल्झिन सक्छ। सिकलसेलका बिरामीलाई कुन बेला, कस्तो रगत, कति मात्रामा कसरी चढाउनेबारे राम्रो हेक्का राख्न सक्नुपर्छ। बिरामीको शरीरका अन्य अंगहरू प्रभावित छन् भने त्यसको उपचारमा पनि विशेष विधि अपनाउनुपर्छ।

सरकारले चाहेमा सिकलसेल प्रभावित क्षेत्रका अस्पतालहरूमा यो रोग सम्बन्धी राम्रो जानकारी राख्ने रक्तरोग विशेषज्ञहरू र यसै विषयमा डीएम गरिरहेका रेजिडेन्ट डाक्टरहरू पालैपालो पठाउन सकिने उनी बताउँछन्।

मानव शरीरमा भएका दुई थरी हेमोग्लोबिनमध्ये एउटा हँसिया आकारको र अर्को स्वाभाविक आकारमै छ भने त्यसलाई सिकलसेल ट्रेट भनिन्छ। दुवै हेमोग्लोबिन हँसिया आकारका छन् भने त्यसलाई सिकलसेल डिजिज भनिन्छ।

सिकलसेल ट्रेट भएका विवाहित जोडीका सन्तानमा सिकलसेल रोग हुने सम्भावना २५ प्रतिशत हुन्छ भने सिकलसेल डिजिज भएका दम्पतीका सन्तानमा यो रोग लाग्ने सम्भावना शतप्रतिशत नै हुन्छ। त्यसैकारण सिकलसेल भएका महिला र पुरुष दम्पतीले सन्तान जन्माउन उपयुक्त नहुने चिकित्सकहरूको सल्लाह छ।

डा. पौडेल भन्छन्, “कसले कोसँग विवाह गर्ने वा कस्तो जोडीले सन्तान जन्माउने कसले नजन्माउने कुरा अरूको सरोकारको विषय नहोला तर, हाम्रो जस्तो भद्रगोल स्वास्थ्य सेवा र अधिकांश सिकलसेल प्रभावितहरूको आर्थिक अवस्था हेर्दा त्यस्तो सल्लाह जायज नै हुन्छ।”

अनेक अतिरन्जना जोडेर ममाथि भइरहेको आक्रमण हेर्दा बास्तवमा मैले गिरीबन्धुतिर जान हुने थिएन भन्ने लागिरहेको छः दीपक मल्होत्रा

तीन दशकअघि स्थापित इन्टिग्रेटेड मोबिलिटी सोल्युसन (आईएमएस)का संस्थापक दीपककुमार मलहोत्रा नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्षसमेत हुन्। मलहोत्राको आईएमएस ग्रुप नेपालमा सामसुङ मोबाइलको अधिकृत बिक्रेता हो। तर पछिल्लो समय उनको नाम झापाको गिरीबन्धु टी–इस्टेटअन्तर्गत जग्गा व्यवस्थापकका रूपमा पनि जोडिएको छ। गिरीबन्धुको ३४४ बिघा जमिनमध्ये १०० बिघा मलहोत्रा र अर्को १०० बिघा बिर्तामोडका विष्णुबहादुर राईले व्यवस्थापन (स्मार्ट सिटी योजना, बैनाबट्टा–बिक्री) गर्नेगरी लिएका थिए। मलहोत्रासँग गिरीबन्धु जग्गा प्रकरणबारे उकालोका देवेन्द्र भट्टराईले गरेको कुराकानी :

गिरीबन्धु प्रकरणमा जेजति भैरहेको छ, तपाईं त त्यसको सम्पूर्ण योजनाकारका रूपमा चिनिन थाल्नुभएको छ नि? 
म रियल स्टेट व्यवसायी हुँ, यसमा चार दशकको अनुभव छ। मैले अहिलेसम्म नाम र दाम कमाएको भनेको कि मोबाइलमा हो, कि त जग्गा कारोबारमा। त्यही क्रममा गिरीबन्धुको अवधारणा आएको हो। स्थानीय जग्गा व्यवस्थापक विष्णुबहादुर राईमार्फत आएको गिरीबन्धु जग्गा एजेन्डाबारेमा कुराकानी शुरू भयो। त्यस बेला गिरीबन्धु चियाबगानको त्यो ठाउँलाई स्मार्ट–सिटी बनाउने भनेर विस्तृत योजना आएको हो। यो सबै भूमिसुधार ऐन/नियमावली संशोधनअगाडिको कुरा हो, २०७७ सालको मध्यतिर।

मलाई गिरीबन्धुको ‘जी’ पनि थाहा थिएन शुरूमा। त्योबेला डिजिटल म्यापिङसहितको प्रेजेन्टेसन नि देखाएका थिए राईजी र गिरीबन्धुका संचालक छत्र गिरीजीसहितले, यही अफिस (ज्ञानेश्वर)मा आएर। मलाई सही लाग्यो, त्यो साँच्चै हेर्नलायक थियो। मैले गिरीबन्धु चियाबगानको जमिनमा पाइला नहाली १०० बिघा जमिनको जिम्मा लिएको हो, बैना गरेको हुँ। यसकारण म योजनाकार होइन।

आफूलाई रियल स्टेट व्यवसायी भनेर चिनाउनुहुन्छ। जग्गाको स्थिति, कानूनी पद्धति र हदबन्दीसहितको पक्ष नहेरीकन ‘डिजिटल म्याप’कै भरमा पैसा हाल्नुभएको हो?
यो प्रश्नको जवाफ दिइरहँदा मैले गिरीबन्धु बगानको आधा शताब्दी पुरानो योजना, चिया, माटो, उर्वर क्षमता र चियाको गुणका बारे पनि भन्नैपर्ने हुन्छ। चिया उत्पादन हुनै छाडेको र बिर्तामोड शहरबीचमा अरू वैकल्पिक कृषि/उद्यमका योजना ल्याउने अवस्था बन्दप्रायः भएपछि नियमानुसार जग्गा सट्टापट्टादेखि स्मार्ट–सिटीको परिकल्पना अघि बढेको हो। शहरबीचको कृषि बगानमा नयाँ मल हाल्न वा रासायनिक उपचार गर्न मिल्दैन। यसको सट्टा नयाँ जमिनमा चिया लगेर रोप्न सके त्यसले दिने उत्पादन र गुण स्वभावतः अझ विशिष्ट हुन सक्छ। मलाई त्यही रूपमा अवगत गराइएको थियो।

अर्कातिर, सिंगो राज्यले चौतर्फी दिशामा स्मार्ट–सिटीको अवधारणा ल्याए पनि एउटै काम गर्न नसकेको देखेर मुलुककै लागि उदाहरणीय शहर बनाउने ध्याउन्नमा पनि म लागिपरेको हुँ। अर्कातिर, ‘ऐन संशोधन हुन्छ’ भन्ने कुरामा उनीहरू पहिलादेखि लागिरहेकै रहेछन्। त्यसपछि ऐन संशोधन पनि भयो। खासमा त्यो संशोधन गिरीबन्धुका लागि मात्रै थिएन, सबैका लागि थियो। तर गिरीबन्धु मात्रै हो कि झैँ गरियो।

नियमावली संशोधन गराउने तहको प्रभाव–पहुँच र नीतिगत प्रबन्ध (अपचलन) जुटाउने काममा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको निकटवर्तीका रूपमा तपाईं लाग्नुभएको थियो नि? यो पनि व्यर्थको कुरा हो त?
म त्यस बेला च्याम्बर अफ कमर्सको उपाध्यक्ष थिएँ र अहिले वरिष्ठ उपाध्यक्ष हुँ। विभिन्न विषयगत मुद्दामा मैले मन्त्री, प्रधानमन्त्री तहमा भेटघाट गरिरहनुपर्छ। यो साता पनि मन्त्री, प्रधानमन्त्रीकै तहमा भेटेर जग्गामा हदबन्दी राख्ने प्रावधानमा पुनर्विचार गर्न ‘लबिइिङ’ भइरहेकै छ। योजनामा हामी कृषिको औद्योगिकरण–आधुनिकीकरणका गफ गर्छौं, कृषिमा वैदशिक लगानीको कुरा गर्छौं तर अहिले तोकेको ११ बिघा जग्गाभित्रको हदबन्दीमा लगानी गर्न को आउँछ? अनि के को कृषि औद्योगीकरण? यही एजेन्डामा हदबन्दी हटाउनका लागि ‘लबिइिङ’ भैरहेछ।

हो, त्यस बेला पनि भूमि व्यवस्थामन्त्रीका हिसाबमा पद्मा अर्यालसँग भेट हुन्थ्यो नै, विषयगत रूपमा प्रधानमन्त्री ओलीसँग पनि भेट हुन्थ्यो। मैले म चिन्दिनँ, थाहा छैन भन्न मिल्दैन। अब यही विषयलाई जे–जसरी अतिरन्जित बनाइयो, यो जति अनौठो छ उत्तिकै चित्तदुख्दो पनि। यही गिरीबन्धु प्रकरणमा जोडेर मैले १७ करोड रूपैयाँ एमाले अध्यक्ष ओली र एमाले पार्टीलाई दिएको कुरा पनि आएको छ। होइन, कसले देख्यो मैले करोड वा लाख बुझाएको? यस्ता मनगढन्ते सूचनाले म हैरान भएको छु। यसबाट मेरो मानमर्दन पनि भएको छ।

प्रकृयागत अनिश्चय र अनिर्णयको बेला गिरीबन्धुको जग्गा बैनाबट्टामै करोडौँ रूपैयाँ हालेर खरिदबिक्री भैरहेकै रहेछ। त्यसमाथि प्रतिबिघा ६ करोड रूपैयाँ मूल्य तोकेर (६ किस्तामा उठाउने गरी) पहिलो किस्ताको १ करोड (प्रति बिघा) उठाउने काम धमाधम भएको रहेछ। के यो सही विवेक र नियमको कुरा थियो? 
तत्कालीन क्याबिनेटको निर्णयपछि र कानूनसंगत आधार बनेपछि मात्रै सामान्य समझदारीमा बैनाका भरमा केही जग्गा बिक्री भएको हो। तर यसबाट कहीँकतैको एक धुर जग्गा पनि कित्ताकाट वा घडेरी योजनामा गएको छैन। ‘भोलि गएर स्मार्ट–सिटीका रूपमा जे बन्छ, त्यसमा एक प्रतिशत तिम्रो पनि सेयर हो है’ भनेर पैसा लिइएको यथार्थ हो। एक बिघाको एक प्रतिशत भनिएको हो। चर्चामा आएझैँ पूरापुर बिक्री गरिएकै होइन। अरू बेला पनि जग्गाको बैना हुन्छ। बैना–बैनामै कारोबार हुन्छ। म रियल स्टेट व्यापारी हुँ, अहिले पनि अदालती मुद्दामा रहेका काठमाडौँ उपत्यकाका तीन ठाउँका जग्गा मैले किनेको छु। यस्ता मुद्दामा हार्ने मात्रै होइन, जित्ने पनि सम्भावना रहन्छ। यसकारण ‘रिस्क–फ्याक्टर’ त सधैँ हुन्छ।

गिरीबन्धुको सबै जग्गा बिक्री गर्ने भनेर २०७३ सालमा नै कागज बनाएर दिइएको रहेछ, पैसा त्यही बेलादेखि उठाइएको रहेछ। तपाईंले पनि १७ लाख रूपैयाँ प्रतिकठ्ठा (प्रतिबिघा ३ करोड ४० लाख रूपैयाँ)मा किनेर त्यही जमिन ३० लाख रूपैयाँ प्रतिकठ्ठा (६ करोड रूपैयाँ प्रतिबिघा)सम्ममा बेच्नुभएको रहेछ। आफूसँग लालपुर्जा नहुँदा र बन्दबिक्रीको प्रबन्ध नहुँदा पनि यसरी कारोबार गर्न मिल्छ? 
तपाईंले सोधेकोमध्ये अघिल्लो सन्दर्भमा र जग्गा साटफेरको कानूनी व्यवस्था तय (२०७८ वैशाख) भएभन्दा अघिको कुरा मलाई थाहा भएन। त्यसअघि गिरीबन्धु जग्गाको हकमा कहीँकतै मुद्दा परेको पनि थाहा थिएन। मैले त भनिसकें– आकर्षक डिजिटल म्याप हेरेँ, उहाँहरू (गिरीबन्धु टिम)को कुरा पत्याएँ, पैसा हालेँ। तपाईंले भनेजस्तो १७ लाख रूपैयाँ प्रतिकठ्ठा होइन, अलिक बढी हो। पछि विभिन्न क्रेताको चर्को आग्रहमा मैले केही जग्गा फिर्ता दिएको हुँ।

तपाईंको भागबाट झापामै हाउजिङ व्यवसायी मनोज प्रसाई (समूह)लाई १३ बिघा, कुमार गिरीलाई पाँच बिघा, छत्र गिरीकै छोरालाई ३० बिघा जमिन बैनाबिक्री गरिएको रहेछ। झापामै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईलाई पनि २ बिघाजति बैनाबट्टामा दिनुभएको रहेछ। कुनै कानूनी प्रबन्ध र आधार तय नभईकन एउटा अमूक बिन्दुमा उभिएको जमिनको बिक्री वितरण पनि ‘रियल स्टेट’ हो त?
मैले अघि पनि भनिसकेँ, हामी रियल स्टेट व्यवसायीहरू उधारो त के बैना–बैनामा पनि काम गर्छौं। मैले कुनै जग्गाको बैना दिएँ तर मलाई कसैले मैले दिएकोभन्दा बढी बैना दिए म बैनामै बिक्री गर्न सक्छु। यो यसैगरी चलेको व्यवसाय हो। आज पनि मैले ‘डाइरेक्ट डिल’ गरेकासँग कुनै विवाद छैन। कुमार गिरी, मनोज प्रसाईं, छत्रजी सबैसँग व्यक्तिगत सम्बन्ध छ। भूमी ऐन संशोधनपछि गिरीबन्धुका तर्फबाट छत्रबहादुर गिरीले मलाई ‘३० बिघा जमिन पुगेन, फिर्ता गर्नुपर्‍यो’ भनेपछि ‘डिफरेन्स’ रकम मिलाएर त्यो जग्गा फिर्ता दिएको हुँ। बाँकी व्ययभार छिट्टै मिलाउने क्रममा छु।

गिरीबन्धु जग्गामा ठगिने झापाका स्थानीयले आवाज उठाउन थालेका छन्। उनीहरूबाट उठाइएको रकम व्याजसहित तत्काल फिर्ता नभए कीर्ते, जालसाजी अभियोगमा तपाईंहरूविरुद्ध न्यायिक कारबाहीमा जान सकिने भनेका छन् नि?
आजको दिन निकै खराब छ। ‘लिक्विड क्यास’ कोहीसँग छैन, पैसा ‘टाइट’ छ। मेरो पनि पैसा अन्यत्र फँसिराखेको छ। व्यापार एकदमै मन्दीमा छ, मोबाइल फोन घाटामा छ। यो यथार्थ कुरा सामुमा राख्दै मैले उहाँहरूलाई आफूले सक्ने गरिराखेको छु। मैले (छत्र) गिरीजीलाई पनि पैसा बुझाउनेहरूलाई भेट्नुस्, एड्रेस गर्नुस्, कागज गर्नुस् भनेर सुझाएको छु। भोलि गोलमाल हुनसक्छ भनेको छु।

फेरि त्यति टाढा नगइहालौँ पनि। मैले छत्रजीलाई भनिसकेको छु, जसरी हुन्छ यो मामला चाँडो सल्ट्याउँ। पैसा लिइसकेको हकमा सबैलाई बोलाउने, भेट्ने र संवाद गर्ने गरौँ। भोलि यो समस्या समाधान भएको खण्डमा फेरि सँगै अघि बढ्ने कि आजै बाहिर बस्ने भन्ने विकल्पमा कुरा गरौँ भनेको छु। यो साता पनि छत्रजीसँग यही मेरो कार्यालय (ज्ञानेश्वर)मा लामै कुराकानी भएको छ। उहाँ पनि मिल्ने र मिलाउने पक्षमा हुनुहुन्छ। पैसा फिर्ता माग्नेलाई छ भने दिउँ, छैन भने ६ महिनाको अवधी राखेर कागज दिउँ भनेको छु।

अदालतमा मुद्दा चलिरहेको छ, गिरीबन्धुमै विगतमा रहेका साटफेर र बिक्रीको नजिर पनि गतिलो छैन। यो स्थितिमा पनि तपाईंहरूबाट त्यहीँको जग्गाको कारोबार, त्यो पनि हाकाहाकी भैरहेको देखियो त?
त्यसो होइन। २०७८ वैशाखमा भूमि ऐन संशोधन भएपछि र यसबारे सर्वोच्चमा मुद्दा नपर्दै ३/४ महिनाबीचमा मात्रै कारोबार भएको हो। मेरा हकमा भने, अदालतमा मुद्दा परेपछि कुनै प्रकारको बैनाबट्टाको डिल भएको छैन। अरूका बारे म भन्न सक्तिनँ। मेरो भागको जग्गाका हकमा मेरो कम्पनीभित्रै केही पाटनरका लागि केही जग्गा दिने काम भएको होला तर बाहिर निकै कम छ।

के, कता र कति भन्दा पनि कुनै प्रकारको स्पष्ट व्यवस्था नभैकन र तोकिएको व्यवस्थामा जग्गा सट्टापट्टाका लागि जग्गा नै नपाएको र टुंगो नभएको अवस्थामै कारोबार हुनु कतिको उचित हो? यो त अलि अनैतिक र असंवेदनशील होइन?
होइन, तपाईंले भनेकै अवस्था र आधारमा उनीहरूले पनि त मसँग पैसा (बैना) उठाए नि। लगत्तै ‘लौ न मलाई जग्गा चाहियो’ भन्दै आएपछि मैले फेरि फिर्ता दिएको हुँ, बढेको मार्जिन रकम लिएर। मैले बजारमा गएर बेचेको छैन। कसैलाई मेरो एक धुर जग्गा, एक बिघा जग्गा किनिदेउ पनि भनेको छैन, भनेको भए अगाडि ल्याउनुस्, म जे पनि बेहोर्न तयार छु।

यसो भनेर मात्रै पुग्ला र? जबकि तपाईंले झण्डै १७ लाख रूपैयाँ प्रतिकठ्ठामा किन्नुभएको जमिन छत्र गिरीलाई २४ लाख, मनोज प्रसाईं र कुमार गिरीलाई ३० लाख प्रतिकठ्ठामा दिनुभएको रहेछ। कागजी प्रमाणले यसै भन्छ। यसरी फाइदासहितको चलखेल त जारी रहेछ त? 
गिरीबन्धु भनेर कित्ताकाट गरेर अथवा कसैलाई यो वा कसैलाई त्यो भनेर जग्गा दिइएको छैन, होइन। यसो गरिएको भए भद्रगोलै हुन्थ्यो। केवल शेयर बेचिएको हो। मैले अघि पनि भनें, हामी रियल स्टेट व्यापारमा उधारो, बैना, घटबढ सबै बेहोर्छौं, त्यो सामान्य नम्स हो।

फेरि यो पनि स्पष्ट पारौँ, मलाई गिरीबन्धुबारे शुरूमा कुरा आउँदा सट्टापट्टाको सबै जग्गा (३४४ बिघा) तयार छ भन्ने आएको थियो। त्यो तयार भनिएको जग्गा म आफू हेर्न गइनँ, त्यो मेरो कमजोरी हो। मलाई गरिएको रिपोर्टिङका आधारमा अगाडी बढेको थिएँ। एकछिनलाई मानौं, त्यो मुद्दा नपरेको भए र जग्गा सट्टापट्टा गरेर अघि बढ्ने स्थिति आएको भए पनि काम नहुने रहेछ। यही जग्गामा रहेको एउटा मुद्दा (कानून व्यवसायी भक्तराज भारती) थाँती नै रहेछ, त्यसले रोक्काको स्थिति यथावत् राखेकै रहेछ। तर मलाई यो सबैबारे केही थाहा थिएन, पछि मात्रै थाहा भो। हो, त्यो जग्गा सट्टापट्टा गर्न भ्याइसकेको भए एउटा ठूलो कान्ड हुन सक्थ्यो होला, तर एक धुर जग्गा पनि तलमाथि भएकै थिएन।

तल भुईं तहमा देखाइएको आशा र सपनाका कारण ५/१० लाख रूपैयाँ बैना दिने साना उद्यमी/व्यवसायीको त बिचल्ली भएको देखिन्छ नि? यो त नक्कली भुटानी शरणार्थी केसजस्तै मिलेमतोको भरमा नीतिगत अपचलन गर्नेहरू भने माथि (केन्द्रमा) ढुक्कसँग बसिरहेको जस्तो देखियो त?
होइन, कसले कति उठाए अथवा कसरी कारोबार गरे भन्ने म अनविज्ञ छु। मेरा हकमा पछि गिरीबन्धुलाई फिर्ता गरिएको ३० बिघा र मसँग बाँकी ७० बिघाको हिसाब स्पष्ट छ। म एक स्थापित रियल स्टेट व्यवसायी भएको नाताले जो–जसको पैसा लिइएको छ, इज्जतका साथ फिर्ता गर्नुपर्छ, गर्नेछु। यसमा यो वा त्यो कुरै छैन।

रियल इस्टेट व्यवसायमा लागेको ४० वर्ष भयो भन्नुभो। आज आएर धेरै कुरा नबुझी र धरातलमा नपुगी गिरीबन्धुमा हात हालेर गल्ती गरेको बोध भएको छैन? 
म आफू पनि सचेत नागरिक हो। पक्कै पनि कुनै राष्ट्रिय सम्पत्ति दोहन गर्नुहुन्छ वा हुँदैन भन्ने मलाई राम्रैसँग थाहा छ। गिरीबन्धुको सम्पत्ति के हो भन्ने म बुझेरै गएको हो। यो त निजी सम्पत्ति हो गिरीहरूको। तर अनेक अतिरन्जना जोडेर ममाथि भइरहेको आक्रमण हेर्दा बास्तवमा मैले गिरीबन्धुतिर जान हुने थिएन भन्ने लागिरहेको छ। यसले गर्दा म धेरै डिस्टर्ब भएको छु। आफ्नै काममा पनि बाधा पर्ने अवस्था आएको छ। मेरो इमेजमा धक्का पुगेको छ। यो स्थितिलाई हेर्दा मैले गलत गरेछु भन्ने बोध भैरहेको छ।

प्रकारान्तरले गिरीबन्धु जग्गा पनि नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै हुने स्थिति देखिन्छ। जस्तो, उचित नीतिगत प्रबन्ध गरिदिने र पैसा उठाउने काम यहाँ पनि भएको छ। आज पैसा डुब्ने स्थिति आएपछि भुईं तहबाट उठेको सरोकारले मात्रै तपाईंहरू केन्द्रमा मुख खोल्न बाध्य हुनुहुन्छ, होइन र? 
त्यसरी तुलना गर्न नमिल्ला। नक्कली भुटानी शरणार्थीको इन्ट्रीमै गलत देखिन्थ्यो। यसमा त्यस्तो होइन। फेरि विगतमा ५१ बिघा र १९ बिघाका नजिर पनि बनेकै रहेछन्। गिरीबन्धुका हकमा कतिपयले ‘पैसा हाल्दिराखम् न त, भएमा भैहाल्छ नभएमा पैसा फिर्ता आउँछ’ भनेर पनि हालेका हुन सक्छन्। यो समझदारीमा चलेको र भएको कुरा हो।

अब भने गिरीबन्धु प्रकरणमा सट्टापट्टा वा अहिलेजस्तै बिक्रीबैनाको खेल टुंगियो होला नि? कि अझै आशा गर्नुभएको छ?
पछिल्लो फैसला र संवैधानिक इजलाशको पूर्णपाठमा आएका सबै बुँदा पुरानै हुन् तर खाली दुई बुँदा भने नयाँ परेका छन्। मूल्य र जग्गा (क्षेत्रफल)बारे थपिएको यो प्रबन्ध निकै मुश्किलको छ। समानुपातिक मूल्य र जग्गा एकै ठाउँमा हुनुपर्ने व्यवस्था गाह्रो छ। गाह्रो पक्कै हो तर असम्भव भने होइन। अब के हुन्छ, के गर्ने भन्ने अन्योल यथावत छ। तर यत्ति हो, एक नम्बर (कोशी) प्रदेशमा जतै भए पनि (जग्गा) स्वीकार्य हुने भनेकाले शायद मिल्न पनि सक्छ। साह्रै निराश भैहाल्न पनि मिल्दैन। हामी अहिले अघि बढेका छैनौँ, बढ्ने वा नबढ्ने पनि टुंगो भएको छैन।

काठमाडौँको ललिता निवास र झापाको गिरीबन्धुलाई ‘छावा र हात्ती’को संज्ञा दिएर चिनिन थालेको छ नि? 
होइन, त्यसरी सम्बोधन गर्न मिल्दैन जस्तो लाग्छ। सरकारी सम्पत्ति ललिता निवासका कुरामा पक्कै धाँधली भएको थियो, गिरीबन्धुमा त्यस्तो होइन। नक्कली मोही खडा गरेर अनेक भएको थियो ललितामा। गिरीबन्धु त निजी सम्पत्तिको कुरा हो। ललिताझैँ गरेर भ्रम पारिएको मात्रै हो। त्यसरी तुलना गर्नु नै गलत थियो।

 

उकालो डटकमबाट साभार

मदिरा सेवन नगरे पनि मात लाग्ने अचम्मको रोग

मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा पक्राउ परेका एक बेल्जियन नागरिक केही साताअघि दोषमुक्त ठहरिएपछि उनीबारे निकै चर्चा भयो। चिकित्साशास्त्रीहरूको सहयोगमा ती ४० वर्षे पुरुषले आफू ‘अटो-ब्रूअरी सिन्ड्रोम’ (एबीएस) भनिने एउटा दुर्लभ खालको रोगबाट पीडित भएको प्रमाणित गरे। उक्त रोगमा शरीरभित्रै ‘एल्कहोल’ अर्थात् मदिरा बन्छ। एबीएस के हो त? अनि कसरी एउटा कुकुरले एबीएसबाट पीडितलाई सघाउँछ?

संयुक्त राज्य अमेरिकाको ओरिगन राज्यस्थित एउटा अस्पतालमा बिउँझिदा रे लूइसलाई दुइटा कुराको भेउ थियो। उनले मत्स्य तथा वन्यजन्तु मन्त्रालयको स्वामित्वमा रहेको ट्रक चलाएका थिए। एघार हजारवटा जीवित ‘स्यामन’ माछा बोकेको ट्रक दुर्घटनामा परेपछि आफू समस्यामा परेको उनलाई लागिहाल्यो। दोस्रो कुरा, सन् २०१४ को डिसेम्बरमा प्रहरीले उनको रगतमा उच्च मात्रामा मदिराको अंश देखिएको बताए पनि त्यो रात उनले मदिरा सेवन गरेका थिएनन्। ‘ले मदिरा छोएकै थिइनँ। ठिहिर्‍याउने जाडोमा दुई घण्टासम्म गाडी चलाउनुपर्छ भन्ने कुरा मलाई थाहा थियो,’ ५४ वर्षीय सम्झन्छन्। घटना भएको आठ महिनापछि परीक्षणबाट थाहा भयो यी बायो-टेक्निसियनलाई ‘एबीएस’ भएको देखियो। उक्त दुर्लभ रोगका कारण शरीरमा ‘मदिरा’ उत्पादन हुँदो रहेछ।

एबीएस के हो?

एबीएस अर्थात्‌ गट फर्मेन्टेशन सिन्ड्रोम (जीएफएस) एकदमै रहस्यपूर्ण अवस्था हो जसले रगतमा एल्कहोलको मात्रा बढाइदिन्छ। त्यसका कारण उक्त समस्या भएका व्यक्तिले थोरै मदिरा सेवन गर्दा अथवा सेवन नगर्दा पनि मात लाग्छ।  पेटभित्र, मूत्रप्रणाली अथवा मुखमा हुने ब्याक्टेरियाले सेवन गरिएको काब्रोहाइड्रेट र चिनीलाई मदिरामा परिवर्तन गरेपछि यो अवस्था उत्पन्न हुन्छ। शरीरभित्रै मदिरा बन्ने यो प्रक्रियालाई ‘एन्डोजिनस एल्कहोल प्रोडक्शन’ भनिन्छ।

यस्तो समस्या हुने व्यक्तिको बोली लर्बराउन सक्छ, हिँड्दा सन्तुलन नमिल्न सक्छ भने ह्याङ्ओभर हुँदा अर्थात् मात ओर्लिसकेपछि मुख गन्हाउन सक्छ। सन् १९४० को दशकमा यूगान्डाका चिकित्सकहरूले एउटा शवपरीक्षणपछि ब्रिटिश मेडिकल जर्नलमा लेखेपछि उक्त समस्या भएको पत्ता लागेका प्रारम्भिक व्यक्तिबारे थाहा भएको हो। ती व्यक्ति भुँडी फुटेर ज्यान गएका एक पाँच वर्षमा एबीएस भएको थियो। शल्यक्रिया गर्दा उनको पेटबाट मदिराकै कडा गन्ध निस्किएको थियो।

एबीएस कसलाई हुन्छ

एबीएस एकदमै दुर्लभ हो। सन् २०२१ मा ‘अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्टरोलजी’ मा प्रकाशित एउटा शोधका अनुसार अमेरिकामा एबीएस भएका १०० भन्दा बढी व्यक्तिको अभिलेख छ। यद्यपि कतिपय विज्ञहरू उक्त सङ्ख्यामा सबै बिरामी नपरेको ठान्छन्। कतिपय मानिस एबीएसबाट प्रभावित हुन्छन् भन्नेबारे चिकित्सकहरूले अझैसम्म केही भन्न सकेका छैनन्।

पाचन प्रक्रियाअन्तर्गत मानव शरीरले पेटभित्र थोरै मात्रामा एल्कहोल उत्पादन गर्छ। तर अधिकांश व्यक्तिको हकमा रक्तप्रवाहमा पुग्नुअघि नै त्यो हराइसक्छ। त्यो प्रक्रियालाई ‘फर्स्ट-पास मट्याबलिजम’ भनिन्छ। ‘हामी सबैको शरीरमा प्राकृतिक रूपमै केही एल्कहोल उत्पादन हुन्छ। तर एबीएस भएका मानिसहरूले बढी मात्रामा एल्कहोल उत्पादन गर्छन् जुन रक्तप्रवाह सम्ममा पुग्छ,’ पोर्चुगलस्थित बायोमेडिक तथा फरेन्सिक विज्ञ रिकार्डो जोर्ज डिनिस-ओलिभिएरा भन्छन्। उक्त अवस्थाका सम्बन्धमा उनले थुप्रै लेख लेखेका छन्। तर यो रोगबाट पीडित व्यक्तिहरूविरुद्ध मुद्दा पर्ने गरेकोमा उनी दुःखी छन्। उनी विभिन्न कारण एकैपटक हुँदा देखा पर्ने बताउँछन्। मधुमेह, मोटोपन वा क्रोन्ज् डिजीज हुँदा पनि एबीएस हुन सक्छ। अनि मानिसले सेवन गर्ने एन्टिबायोटिक र इम्युनोसप्रेसन्टजस्ता विभिन्न औषधिका कारण मानिसको पेटमा हुने ब्याक्टेरिया र अन्य जीवाणुहरू प्रभावित हुन्छन्।

एबीएस भएर बाँच्नुपर्दा

थ्याङ्क्सगिभिङका बेला पारिवारिक जमघटका क्रममा अमेरिकी नर्स जो कोर्डेलको बोली लर्बराउन थाल्यो। उनलाई टर्कीको मासु धेरै खाएर त्यसो भएको होला कि जस्तो लाग्यो। तर टेक्सस अस्पतालमा उनका सहकर्मीहरूले काममा रहेकै बेला कोर्डल मदिरा सेवन गरेको आरोप लगाए। ‘उनीहरूले मेरो सासमा मदिराको दुर्गन्ध आएको भने,’ ७५ वर्षीय कोर्डेल सम्झन्छन्। ‘मानिसहरूले मलाई जँड्याहा भन्ठाने।’

‘मलाई एकदमै लज्जाबोध भयो। म कामलाई माया गर्ने मानिसमा म पर्छु, म कहिल्यै गयल भइनँ।’ केही  समय त उनकी श्रीमती बार्बराले पनि शङ्का गरिन्। बार्बरा पनि नर्स थिइन्। उनलाई पनि आफ्ना ‍पतिलाई के भएको हो भन्ने बुझ्न समय लाग्यो। ‘सुरुमा मलाई उनीप्रति शङ्का लाग्यो। तलमाथि नहोस् भनेर घरमा भएका मदिराका बोतलमा मैले चिह्न पनि लगाएँ,’ उनले भनिन्।

पहिलो लक्षण महसुस गरेको चार वर्षपछि सन् २०१० मा जोलाई एबीएस भएको पत्ता लाग्यो। उनले कामलाई त जारी राखे। तर प्रत्येक दिन उनले रगत जाँच गराउनुपर्थ्यो। जोकी पत्नी बार्बराले ‘अटो-ब्रूअरी सिन्ड्रोम एड्भोकेसी एन्ड रिसर्च’ नामक सहयोगी समूह फेला पारिन्। त्यसमा झन्डै ८५० सदस्य छन्। ‘दिनहुँजसो बिरामीले अपमान सहनुपरेको हामीले सुन्यौँ,’ बार्बराले भनिन्। ‘उनीहरूले गाली खान्थे, उनीहरूलाई हेपिन्थ्यो र रोग लागेको स्वाङ पारेको भन्दै ढँटुवा भनिन्थ्यो। कुनै न कुनै किसिमले नराम्रो व्यवहार गरिन्थ्यो।’

उनी धेरै बिरामीले उपचार थालेपछि ‘विद्ड्रोअल सिम्प्टम’ देखा परेको गुनासो गरेको बताउँछिन्। ‘बिस्तारै उनीहरू मदिरामा बानी पर्छन् र मदिरा छोड्दा देखा पर्ने तलतल र अन्य समस्याबाट जोगिन मदिराको कुलतमा फस्छन्,’ उनले भनिन्। जो आफूलाई पनि धेरै तलतल लागेको बताउँछन्। ‘मैले सहयोग माग्नुपर्‍यो। तर १० वर्षदेखि म मदिरामुक्त छु,’ उनले भने।

एबीएसको परीक्षण तथा उपचार

चिकित्सकहरूले सुरुमा लक्षण के कारण देखिएको हो भनेर हेर्छन् र अरू कारण नभएको टुङ्गोमा पुग्छन्। त्यसपछि उनीहरू शरीरभित्र एल्कहोल उत्पादन गर्ने तत्त्वको उपस्थितिबारे पत्ता लगाउने उद्देश्यले बिरामीको पाचन प्रणालीमा ब्याक्टेरियाबारे विश्लेषण गर्न प्रयोगशाला परीक्षण गर्छन्। बिरामीमा ग्लूकोजको अवस्था पत्ता लगाउने क्रममा चिकित्सकहरू बिरामीलाई उच्च कार्बोहाइड्रेटयुक्त खाना खान अथवा खाली पेटमा ग्लूकोज पनि सेवन गर्न लगाउँछन्।

त्यसको केही घण्टापछि एबीएस नभएका मानिसको रगतमा पत्ता लगाउन नसकिने तहमा एल्कहोलको मात्रा देखा पर्छ भने भने एबीएस भएका मानिसमा उच्च मात्रामा हुन्छ। डा डिनिस ओलिभिएराका अनुसार औषधि सेवन तथा कम कार्बोहाइड्रेट भएका खाना खाने लगायतका उपायबाट एबीएसलाई नियन्त्रण गर्न सकिन्छ। जोलाई यो उपाय प्रभावकारी भएको छ। दश वर्षदेखि उनमा एबीएसको समस्या दोहोरिएको छैन। मदिरा सेवन नगर्दा र थोरै कार्बोहाइड्रेटयुक्त खाना खाँदा पनि रेमा केही दुष्प्रभाव देखिएको छ। यद्यपि सन् २०२० देखि उनलाई ठूलो समस्या भने भएको छैन।

अहिले उनले मिया नामक एउटा पोथी कुकुरको सहयोग लिएका छन्। ‘ल्याब्रडूडल’ जातको उक्त कुकुरलाई रेको शरीरमा मदिरा उत्पन्न हुँदाको गन्ध र अन्य रासायनिक परिवर्तन सुँघ्न तालिम दिइएको छ। कुनै परिवर्तन हुनासाथ मिया उनका अगाडि उभिन्छे र एकटकले उनलाई हेर्छे। ‘मिया आउनुभन्दा अघि म हतपत घरबाट बाहिर जान पाउन्नथेँ किनभने मलाई आफूलाई वा अरूलाई केही हुन्छ कि भन्ने डर लाग्थ्यो,’ उनी भन्छन्। ‘त्यो दुर्घटना हुँदा म आफू मात्रै घाइते भएँ, मैले चलाएको गाडीले अरूलाई हानेन।’ अरू मानिसले गाडी चलाउँदा आफूले मदिरा सेवन नगरेको प्रमाणित गर्न सके पनि रेका हकमा अदालतले भिन्न फैसला गर्‍यो।

‘मेरो शरीरमा जसरी मदिरा आइपुगेको भए पनि त्यसका लागि म नै उत्तरदायी छु भन्ने ठहर न्यायाधीशले गरे,’ उनी भन्छन्। ‘मलाई रोग लागेको छ र अदालतले जस्तोसुकै फैसला गरेको भए पनि मैले जे सही हो त्यसका लागि लड्नुपरेको छ।’ उनी र उनकी पत्नीले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न लागेका छन्। अदालतले उनलाई दोषी ठहर गरेपछि र एबीएस भएका कारण उनले जागिर गुमाउनुपर्‍यो।

तर उनले हरेस खाएका छैनन्। उनको हास्यचेत पनि उस्तै छ। ‘धेरै मानिस एबीएस भएका मानिस बिनापैसा मात्न पाउँछन् भन्ठान्छन्। तर मलाई चाहिँ खालि ह्याङ्ओभर मात्र हुन्छ।’

फर्नान्डो डुआर्टे
बीबीसी विश्वसेवा

मृत्युनिकटको समय आफन्त तथा निकटहरूसँगको सम्पर्क पुनर्स्थापनाको समय पनि हो

सन् १९९९ को अप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो। मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो। अस्पतालको शय्यामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन्। शय्यामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा कुनै बच्चा रहेको जस्तो गरी हातलाई झुला बनाएर हल्लाइन्। उनले मात्रै देखिरहेको उक्त बच्चालाई उनले ‘ड्यानी’ भन्दै बोलाइन्, अँगालो हालिन् र चुमिन्।

उनका छोराछोरीका निम्ति त्यो दृश्य अनौठो थियो किनभने उनीहरूले ड्यानी नाम गरेको कसैलाई चिनेका थिएनन्। तर अर्को दिन मेरीकी दिदी अस्पतालमा आइन् र उनले चार सन्तान जन्मनुअघि मेरीले ड्यानी नाम गरेका छोरालाई जन्म दिएकी थिइन्। तर ती शिशुको जन्मँदै निधन भइसकेको थियो। मेरीका निम्ति त्यो घटना यति पीडादायी बन्यो कि उनले त्यसबारे कहिल्यै बताइनन्। डा केरले मुटुरोगमा विशेषज्ञता हासिल गरेका छन् र न्यूरोबायोलजीमा विद्यावारिधि गरेका छन्। उनलाई यो घटना यति असाधारण लाग्यो कि उनले आफ्नो विज्ञताको क्षेत्र परिवर्तन गर्दै मर्न लागेका मानिसहरूको अनुभव अध्ययन गर्न थाले।

‘शान्तिको अनुभूति’

मेरीलाई भेटेको २५ वर्षपछि अहिले डा केर यो विषयको विश्वकै अग्रणी विज्ञ भएका छन्। उनी मर्न लागेका मानिसहरूले देख्ने दृश्य र सपनाहरूको अध्ययन गर्छन्। मानिसहरूले मृत्यु हुनुभन्दा हप्तौँ अगाडिदेखि फरक अनुभूति गर्ने र मृत्युको दिन नजिकिँदै जाँदा त्यो अझ बढी महसुस हुने उनी बताउँछन्। केरका अनुसार उनले मानिसहरूले आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरू पुन:स्मरण गर्न थालेका अनि वर्षौँ पहिल्यै मरिसकेका तिनका बुबाआमा, बालबच्चा वा तिनले पालेका जनावरसँग बोलेका दृश्यहरू देखेका छन्।

ती बिरामीहरूका निम्ति ती दृश्य एकदम वास्तविक, सघन हुने गर्छन् र तिनले उनीहरूलाई एक किसिमको ‘शान्तिको अनुभूति’ गराउँछन्। ‘ती घटना वा सम्बन्धहरू अर्थपूर्ण तरिकाले पुन:स्मरण हुन्छन् जसले तिनले बाँचेका जीवन अर्थपूर्ण रहेको अनुभव गराउँछन् र मृत्युको त्रास पनि कम गराइदिन्छन्,’ केरले भने।

त्यस्तो अवस्थाका बिरामीहरू दिग्भ्रमित वा असन्तुलित मनस्थितिमा नहुने भन्दै केरले तिनको शारीरिक स्वास्थ्य अवस्था खस्किए तापनि भावनात्मक रूपले उनीहरू सामान्य रहने गरेको बताए। तर कतिपय डाक्टरहरूले यस्ता घटनालाई भ्रान्तिको संज्ञा दिएका छन् र बिरामीहरू भ्रमित भएका कारण गलत आभास उत्पन्न हुने बताएका छन्। कुनै निर्क्योलमा पुग्नुअघि यस्ता घटनाका थप वैज्ञानिक अनुसन्धानको आवश्यकता उनीहरूले ‌औँल्याएका छन्।

सन् २०१०मा डाक्टर केरले एउटा नौलो अध्ययन अमेरिकामा सुरु गरे। मृत्युको नजिक पुगेका बिरामीहरूमाझ उनले एउटा सर्वेक्षण नै गरे, जसमा तिनले ती समयमा कस्तो दृश्य देखे भनेर सोधिएको थियो। सर्वेक्षणमा सामेल गराउनुअघि कतै उनीहरूको मानसिक सन्तुलन खलबलिएको छ कि भनेर सबै बिरामीहरूको जाँच गरिएको थियो। यो अध्ययनभन्दा अगाडि यस्ता विषयका प्रतिवेदनहरूमा बिरामीहरूको अनुभवबारे तेस्रो व्यक्तिका भनाइमात्र समेटिएका थिए।

केरको अध्ययनका नतिजाहरू स्वीडनको ‘न्याश्नल लाइब्रेरी अफ मेडिसिन’सहित कैयौँ वैज्ञानिक जर्नलहरूमा प्रकाशित भएका छन्। यस्ता अनुभूतिहरूको वास्तविक वर्णन गर्नसक्ने गरी डाक्टर केरले कुनै ठोस जबाफ अझै पाइसकेका छैनन्। ती अनुभूतिका कारण पत्ता लगाउने विषय उनको अध्ययनको मुख्य प्राथमिकता पनि नभएको उनी बताउँछन्। ‘मैले कारण वा प्रक्रिया वर्णन गर्न नसक्दैमा बिरामीहरूको अनुभूति नै नकार्न मिल्दैन,’ उनले भने।

अचेल डा केर न्यूयोर्क राज्यको बफालोमास्थित एक पालिएटिभ उपचार केन्द्रका प्रमुख कार्यकारी हुन्। उनको पुस्तक ‘डेथ इज बट अ ड्रीम : फाइन्डिङ होप एन्ड मिनिङ एट लाइफ्स एन्ड’ सन् २०२० मा प्रकाशित भएको थियो र १० विभिन्न भाषामा अनुवाद गरिएको थियो। आफ्ना अध्ययन अनि त्यस्ता अनुभूतिका अर्थबारे उनले बीबीसी न्यूज ब्रजिलसँग कुराकानी गरेका छन्।

यत्तिका वर्षपछि यस्ता अनुभूतिहरूबारे तपाईँले के थाहा पाउनुभयो?

‘मलाई लाग्छ मर्नु भनेको भौतिक रूपमा खस्कँदै जानु मात्र होइन, जुन हामी देख्छौँ। यसमा त तपाईँको अवस्थामा आएका फेरबदल, तपाईँका धारणा, अनि जीवनको सार्थकता सम्झाउने अन्य तत्त्व पनि पर्छन्।’ ‘मृत्युले तपाईँलाई जीवन नियाल्ने एउटा बिन्दुमा पुर्‍याउँछ। मानिसहरूले उनीहरूका निम्ति सबैभन्दा महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्छन् – उनीहरूका सबैभन्दा ठूला उपलब्धिहरू अर्थात् उनीहरूका सम्बन्धहरू।’

‘रोचक के छ भने त्यस्ता सम्झनाहरू एकदमै अर्थपूर्ण र मनलाई शान्ति दिने किसिमले आउने गर्छन् जसले उनीहरूले बाँचेको जीवनको सार्थकता पुष्टि गर्छ र जसबाट मृत्युको त्रास पनि कम हुन्छ।’ ‘जीवनको अन्त्य सामना गर्दै गर्दा मानिसहरूले मानसिक तनाव वा कष्ट बेहोर्छन् होला भन्ने हामी ठान्छौँ। तर धेरै जसो घटनामा त्यसो भएको देखिँदैन।’ ‘हामीले त बरु उनीहरू एक किसिमले माया र अर्थले घेरिएको अवस्थामा रहेको पाउँछौँ।’

तपाईँको अध्ययनअनुसार मृत्युनजिक हुँदा हुने यस्ता अनुभूति कतिलाई हुन्छ?

‘हाम्रा अध्ययनमा करिब ८८ प्रतिशत मानिसहरूले कम्तीमा एउटा त्यस्ता अनुभूति गरेको बताए।’ ‘सामान्य रूपमा बताइने गरेको भन्दा सायद् यो २० प्रतिशत धेरै हो। यस्तो किन भएको होला भनेर हाम्रो अध्ययनमा हामीले मानिसहरूलाई हरेक दिन सोध्ने गर्थ्यौँ।’  ‘मृत्यु भनेको एउटा प्रक्रिया हो। त्यसैले सोमवार सोध्दा उनीहरूले दिने जबाफभन्दा शुक्रवार दिने जबाफ बिल्कुल फरक हुन सक्छ।’ मृत्युको जति नजिक पुग्दै गयो बिरामीहरूले गर्ने अनुभूति पनि बढ्दै जान्छ।

उनीहरूको अनुभूतिका मुख्य विषयवस्तु के हुन्?

‘करिब एक तिहाइ बिरामीहरूले यात्राबारे दृश्य देखेको बताए। धेरैजसोले तिनले गुमाएका वा प्रेम गरेका मानिसहरू सम्झने गरेको बताए।”तिनले कसको सपना देखे भन्ने पनि रोचक छ। उनीहरूलाई धेरै माया र सहयोग गर्ने वा उनीहरूले धेरै भर गर्ने मानिसहरू हुने गर्छन्। त्यो भनेको एकमात्र अभिभावक, वा कुनै एक दाजुभाइ वा दिदीबहिनी हुन सक्छन्।’  करिब १२ प्रतिशतले चाहिँ तटस्थ प्रकारको वा असहज गराउने सपना देखेको जबाफ दिए। असहज गराउने सपना पनि एकदम अर्थपूर्ण थिए। ‘ त्यसैले तपाईँले पाएका घाउहरू सायद् यस्तै अनुभूतिबाट सम्बोधन हुन्छन्।’ कुनै घटना यस्ता पनि थिए जसमा बिरामी विगतमा कुनै युद्धमा सामेल थिए र तिनको मनमा त्यससम्बन्धी अपराधबोध थियो। तर अन्त्यमा आफ्ना दिवङ्गत साथीहरूलाई देख्दा तिनले सहज अनुभव गरे।

त्यस्ता मानिस भ्रान्तिमा छन् कि भन्ने सामान्य गल्ती हुने गरेको तपाईँले बताउनुभयो। यी अनुभूति (भ्रान्तिभन्दा) कसरी फरक छन्?

‘जीवनको अन्तिमतिर भ्रान्ति हुनु वा मानसिक असन्तुलित अवस्था हुनु स्वाभाविक हो। तर ती फरक हुन्।’ ‘मानिसहरू कुनै भ्रान्तिबाट मुक्त हुँदा सहज महसुस गर्दैनन्। त्यस्तो अवस्थामा त मानिसहरूलाई त्रास उत्पन्न गराउने अनुभव हुन्छ र भ्रान्तिमा परेका बिरामीहरू थप उत्तेजित हुन्छन्….’  ‘तर मर्न लागेका बिरामीहरूको अनुभूति भनेको वास्तविक मानिस तथा घटनासँग जोडिएका हुन्छन्। तिनको स्मरण स्पष्ट खालको हुन्छ र यसले बिरामीलाई शान्ति तथा आराम दिन्छ।’

कहिलेकाहीँ बिरामीहरूले सपना देख्छन् तर अरू बेला जागा नै हुन्छन्। यी दुई प्रकारका अनुभवबीच फरकहरू छन्?

‘हामीले मानिसहरूलाई उनीहरू निदाएका थिए वा जागा थिए भनेर सोधेका थियौँ – जसको नतिजा बराबर जस्तो निस्कियो।’ ‘मर्ने अवस्थामा दिनरात मिसिन्छन्, समयको ख्याल हुँदैन।’  ‘हामीलाई यकिन भने छैन।’

तपाईँले अन्तिम अवस्थाका पुगेका बालबालिकाहरूसँग पनि काम गर्नुभएको छ। उनीहरूले र पाका मानिसले गर्ने अनुभूतिहरू कसरी फरक छन्?

‘बालबालिकाहरूले दिने जबाफ अझ राम्रो हुन्छ। उनीहरूले काल्पनिक वा वास्तविकबीच कुनै लाइन पनि खिचेका हुँदैनन्। साथै मृत्युबारे कुनै धारणा पनि तिनको हुँदैन। उनीहरू तत्क्षणमा बाँचिरहेका हुन्छन्।’ ‘उनीहरूका अनुभूति निकै विविध वा सिर्जनशील भएको पाइन्छ। र, तिनले त्यसको अर्थ पनि आफसेआफ थाहा पाएको जस्तो देखिन्छ।’ ‘यदि उनीहरूले चिनजानको कसैको मृत्यु भएको थाहा पाएका छैनन् भने पनि कुनै जनावर मरेको पक्कै थाहा पाएका हुन्छन्। र त्यसलाई उनीहरूले उत्तिकै स्पष्टताका साथ देख्छन्।’

यस्ता अनुभूतिले परिवार अनि बिरामीका निकटका मानिसहरूमा चाहिँ कस्ता प्रभाव पार्छ?

‘यसबारे हामीले दुई वटा शोधपत्र प्रकाशित गरेका छौँ। करिब ७५० अन्तर्वातामा ती आधारित छन्। मुख्य कुरा के भने यदि कुनै कुरा बिरामीका निम्ति राम्रो छ भने तिनका आफन्तका लागि पनि राम्रो हुन्छ।’ ‘हामीले एउटा निकै रोचक अध्ययन गर्‍यौँ जसमा हामीले शोकका प्रक्रियाहरूलाई नियाल्यौँ। बिरामीले यस्ता अनुभूति गरेको देखेका मानिसहरूले शोक पनि निकै स्वास्थ्यकर ढङ्गले मनाएको पाइयो किनकि यसले उनीहरूको धारणा र दिवङ्गत बिरामीको सम्झनालाई खास आकार दिन्छ।’

तपाईँले न्यूरोबायोलजीमा पीएचडी गर्नुभएको छ। तर तपाईँ यस्ता अनुभूतिका उत्पत्ति बिन्दु औँल्याउन सकिँदैन अनि यस्ता विषय बुझ्नु खास प्राथमिकता नभएको पनि भन्नुहुन्छ। एक डाक्टरका रूपमा तपाईँका धारणा वा बुझाइहरू कसरी विकसित भएका छन्?

‘एकदमै विनम्र बनाउने गरी [भएका छन्]।’  ‘केही घटनाको म आफैँ साक्षी थिएँ। मैले देखेका कुरा निकै गहिरा थिए।’ ‘बिरामीले तिनको अनुभूतिको अर्थ यति स्पष्ट रूपमा बताउँथे कि म त त्यहाँ बाहिरियाजस्तो लाग्थ्यो।’

तपाईँले के भन्नुभएको छ भने मानव दर्शनको क्षेत्रमा यो विषयमा समृद्ध छलफल भएका छन्, न कि औषधि विज्ञानको क्षेत्रमा। किन औषधि विज्ञान क्षेत्रले यसलाई धेरै महत्त्व नदिएको? अनि के त्यो सोचमा कुनै परिवर्तन आइरहेको छ?

‘छैन। झन् खराब हुँदै गरेको जस्तो मलाई लाग्छ।’ ‘मलाई लाग्छ मानव दर्शनले हाम्रो अस्तित्व र जीवनको अर्थबारे प्रश्न गर्छन्। त्यहाँ त्यो खुलापन छ।’

अन्य डाक्टरहरूले प्रमाण चाहिन्छ भनेपछि अध्ययन थालेको तपाईँले बताउनुभएको छ। तर तपाईँको कामबारे औषधि विज्ञानको क्षेत्रले भन्दा सञ्चार क्षेत्रले धेरै चासो दियो। यो फरकलाई कसरी लिनुहुन्छ?

‘युवा डाक्टरहरूलाई बिरामीहरूले गरिरहेका अनुभवबारे बुझाउन मलाई कठिन भइरहेको थियो। त्यसैले प्रमाण जुटाउन र उनीहरूले बुझ्ने भाषामा त्यसलाई प्रस्तुत गर्न हामी लागिपर्‍यौँ। तर जब यो विषयले मूलधारको सञ्चारमा प्रवेश पायो, त्यसले विश्वभरि चर्चा पायो।’  त्यसैले उपचार प्रदान गर्नेहरूलाई यस विषयमा थोरै मात्र चासो छ। तर ती मानिस जसले उपचार पाइरहेका छन् वा जसले हेरचाह गरिरहेका छन् वा जो आफ्नो मृत्युको विषयबारे उत्सुक छन् तिनले [हाम्रा काम]लाई चासोपूर्ण रूपमा अँगालेका छन्। यो फरक निकै रोचक छ।

आलेसान्द्रा कोरिया
बीबीसी ।

 

सराहनाले आफूलाई असहज बनाएको कुरामा ज्यादा ध्यान दिनुहुँदैन

कसैले गरेको आफ्नो प्रशंसा वा सराहना (कम्प्लिमेन्ट) ले केही मानिसलाई मन विचलित तुल्याउने र आफ्नो बारेमा अरूले के भन्ला भनेर चनाखो भैरहने अवस्थाको सिर्जना हुन जाँदा मानसिक रूपमा थकान नै अनुभव हुने गरेको देखिएको छ। विशेषगरी उदाहरणका लागि नेदरल्याण्ड्समा बालबालिकाहरूलाई कसरी प्रशंसा गर्ने भनेर सिकाउन डच भाषामा लेखिएका ‘बालबालिकालाई प्रशंसा गर्ने एकसय एक व्यवहार’ शिर्षकका पोस्टर निकै प्रचलित छन्। तिनमा वर्णन गरिएका तरिकाहरू हेर्दा प्रेरणादायी लागे पनि केही विज्ञहरूले बालबालिकाको हकमा ति उपायहरूले सकारात्मक प्रभाव पार्न नसक्ने भनी शंका व्यक्त गरेका छन्। ती मध्ये एक हुन् एडी ब्रमल्मन। उनी युनिभर्सिटी अफ एम्स्टर्डममा डिभेलप्मन्ट साइकोलजीका एशोसियट प्रोफेसर छन्।

त्यस्ता शिक्षादायी पोस्टरहरूमा बालबालिकालाई प्रशंसा गर्दा ‘अहो तिमी यो काम कस्तो राम्रोसँग गर्छौ…’र’आहा धेरै राम्रो’ भन्ने जस्ता वाक्य वाक्यांशहरूको बारम्बर प्रयोग गर्ने लगायतका उपायहरू लेखिएका हुन्छन्। झट्ट हेर्दा त्यस्ता पोस्टरहरूको सन्देश निर्दोष ,स्वाभाविक र केही हदसम्म त उपयोगी पनि लाग्न सक्छ। तर ब्रमल्मन भन्छन् त्यो बढाइचढाइ गरिएको खोक्रो प्रशंसा मात्र हो। र उनले गरेको अनुसन्धानबाट त्यसरी बढाइचढाइ गरेर गरिने प्रशंसाले कमजोर आत्मविश्वास भएका बच्चाहरूलाई सहयोग पुर्याउनको साटो त्यसको चक्रलाई झन गहीरो बनाइ दिन्छ।

बढाइचढाइ गरेर गरिने चर्को प्रशंसाले मानिसहरूलाई असहज मात्रै बनाउने गर्दैन। त्यसको अर्को असर पनि देखिने गरेको छ जस्तै आफ्ना सहकर्मीले उनको रूपको प्रशंसा गर्दा एक जना जर्मन महिलाले ‘त्यस्ती राम्री त केही देखिएको छैन’ भनेर फर्काउने जवाफ होस् वा आफन्तले तिमी त कति प्रतिभाशाली छौ भनेर एकजना जापानी केटालाई प्रशंसा गर्दा उनले ‘होइन, होइन’ भनेर प्रतिक्रिया जनाउँदा त्यसलाई सन्दर्भ अनुसार कस्तो रूखो भनेर समेत अर्थ्याइन सक्छ।

खासमा, अरूले सराहना गर्दा त्यसलाई कसरी स्वीकार गर्ने भन्ने सुझाव इन्टरनेट भरि देखिन्छ। यद्यपि मनोविज्ञानसम्बन्धी अध्ययनले त्यसरी आफूलाई अरूले गरेको प्रशंसालाई अलि सानो तरिकाले ग्रहण गर्ने व्यवहार कसैको कमजोरी हो भनेर भन्दैन। जसलाई अरुले सराहना गर्दा झट्ट जवाफ फर्काउन गाह्रो लाग्छ तर पछि त्यसप्रति उपयुक्त प्रतिक्रिया जनाउन नसकेकोमा दुःख लाग्छ त्यसता धेरै मानिसहरूका लागि भने यो सुखद खबर हो।

गर्नका लागि मात्र गरिएको प्रशंसा
अरूले गरेको सराहना राम्रो गरी लिनुपर्छ भनेर कसरी सिक्ने भनेर जान्न सँधै आवश्यक नहुन पनि सक्छ किनभने केही सराहनाका शब्दहरू भने नजानिँदो तरिकाले अपमानजनक पनि हुन्छन्। जब अश्वेत अमेरिकीहरूलाई ‘कस्तो स्पष्ट वक्ता’ भनिन्छ वा अमेरिकामा जन्मिएका एसियालीहरूलाई ‘कति राम्ररी अङ्ग्रेजी फर्रर्रर बोल्न जानेको’ भनिन्छ त्यस्तो अवस्थामा भने प्रशंसा गर्ने व्यक्तिको पक्षपाती सोच झल्किन्छ; जातीय अल्पसङ्ख्यकले पनि राम्ररी बोल्न जानेका छन् भनेर छक्क पर्नु नै पक्षपाती हुनु हो।

पहिचानका आधारमा सराहना गरेजस्तो गर्नु जस्तै कि ‘महिला भएर पनि राम्रो नेतृत्व क्षमता रहेछ’ भनेर गरिने टिप्पणीले मानिसलाई आक्रोशित पार्न सक्छ वा त्यसतो टिप्पणीबारे बहस गर्न मन लाग्न सक्छ।

लैङ्गिक मान्यताका आधारमा गरिने प्रशंसामा अनुपयुक्त सराहनाले रुढीवादी धारणा स्थापित गर्न सक्छ। यौन दुर्व्यवहार पनि जिस्किएको जस्तो देखिन सक्ला तर त्यसले पुरुषलाई दुर्व्यवहार नगर्न वा महिलालाई ‘अब्जेक्टीफाइ’ वा बस्तुको रूपमा प्रस्तुत नगर्न भन्नु पर्दा धेरै जसो अवस्थामा महिलामाथि नै त्यो स्वीकार गर्नुपर्ने भार पर्छ।

‘कस्तो देखिन्छ’ भन्ने आधारमा गरिने सराहना खासगरी महिलाका लागि दिक्क लाग्ने खालको हुने मनोवैज्ञानिक प्रमाणहरूले बताएका छन्। सामान्यतया, पुरुषले भन्दा महिलाले आफ्नो सराहना अरूले धेरै गर्ने गरेको पाउँछन्। पुरुषलाई उनीहरूको क्षमताबारे सराहना गरिन्छ भने महिलालाई धेरैजसो उनीहरू कस्तो देखिन्छन् भनेर सराहना गरिन्छ। यसरी गरिने प्रशंसाका फरक असरहरू पर्छन्।

‘स्वरूप वा कस्तो देखिन्छ भन्नेबारेमा गरिने सराहनाले शरीरको अवलोकन वा आवरण समेट्छ,’ इजरेलमा रहेको बार-इलान विश्वविद्यालयका समाज मनोविज्ञानका सहायक प्राध्यापक रोतेम कहालोनले भने। स्नायु विज्ञान अनुसन्धानले शरीरबारे गरिने सराहना व्यक्तिको ‘मित्रवत्’ व्यवहारभन्दा दिमागले छिट्टै टिप्ने र प्रशोधन गर्ने जनाएको छ। यसको एउटा सम्भावित असर भनेको प्रशंसा वा सराहना पाउने व्यक्तिको विचारलाई यसले सुस्त बनाउँछ। इजरेली विश्वविद्यालयका विद्यार्थीहरूको अध्ययनका सह लेखक कहालोनले मान्छे कस्तो देखिन्छ भन्ने आधारमा पाउने सराहनाले खराब गर्ने देखाएको छ। सराहनाका शब्दले मान्छेलाई राम्रो महसुस गराए पनि कहालोनले यसले आफूबारे सजग गराएर बिचलित तुल्याउने र त्यसले मान्छेको प्रस्तुतीलाई असर गर्ने अध्ययनमा देखिएको छ। ‘कसैको शरीर हेरेर सराहना गर्दा त्यसले मानसिक अवस्थालाई कमजोर बनाउँदै लैजान्छ,’ कहालोनले भने।

कस्तो देखिन्छ भन्ने आधारमा सराहना गरिदिँदा खासगरी महिलाहरूलाई थकाउने वा दिक्क लगाउने अन्य मनोवैज्ञानिक प्रमाणहरूले गरेका छन्। इटलीका महिलाहरूमाथि गरिएको अध्ययनमा जागिरका लागि अन्तर्वार्ता दिँदा अनुचित प्रशंसाले उनीहरूमा चिन्ता र अवसाद बढाउने गरेको पाइएको छ। जबकि पुरुषलाई भने त्यसले असर नगर्ने उक्त अध्ययनले देखाएको छ। सँगै धेरै संस्कृतिमा महिलाहरू नम्र, आकर्षक हुनुपर्ने विषयले पनि कसरी प्रतिक्रिया जनाउने भन्नेबारे महिलालाई तनावमा पार्छ। समग्रमा, ‘कस्तो देखिन्छ भन्ने आधारमा गरिने सराहनाले परम्परागत रूपमा महिलालाई यौनका साधन अर्थात ‘सेक्स अब्जेक्ट’ का रूपमा प्रस्तुत गर्न बढावा दिन्छ वा त्यसले उसलाई राम्रो देखिन निरन्तर दबाब दिइरहन्छ,’ कहालोनले भने।

महिलालाई कस्तो देखिन्छ भन्नेबारे गरिने प्रशंसा निर्दोष र सकारात्मक देखिए पनि यसले, ‘लैङ्गिकताको आधारमा गरिने कुरा देखाउँछ किनभने महिलालाई उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने आधारमा मूल्याङ्कन गरिन्छ,’ उनले भनिन्।

सराहना गर्दा कस्तो प्रतिक्रिया
सराहना वा ‘कम्प्लिमेन्ट’ पाउँदा जनाइने प्रतिक्रियाबारे अनुसन्धान गर्दा त्यसमा पश्चिमा, शिक्षित, औद्योगिक, धनी र प्रजातान्त्रिक भनिने समाजका मानिसहरू र विद्यार्थीहरू सहभागी थिए। अन्तर सांस्कृतिक अध्ययनहरूले कसैले आफ्नो प्रशंसा गर्दा कसरी प्रतिक्रिया जनाउने भन्ने कुनै निश्चित वा सर्वमान्य तरिका नभएको देखाएका छन्। केही समाजमा भने अरूले गरेको प्रशंसालाई संधै सकारात्मक रूपमा हेरिँदैन। उदाहरणका लागि, डाहा गर्ने वा जादू टुनामा विश्वास गर्ने समुदायमा भने अरूले गरेको प्रशंसालाई सहजै राम्रो रूपमा लिइँदैन।

प्रशंसालाई धेरै हदसम्म राम्रो रूपमा लिने समाजमा पनि अरूले गरेको प्रशंसा स्वीकार गर्ने थुप्रै तहहरू हुने गरेको अनुसन्धानदाताहरूले बताएका छन्। यी समाजमा प्रशंसा पाउँदा मानिसहरूले ‘धन्यवाद’ फर्काउँछन्। नाइजेरियाका अङ्ग्रेजीभाषीहरूमाझ गरिएको एउटा अध्ययनले ९४ प्रतिशतले अरूले गरेको प्रशंसालाई स्वीकार गरेको पाइएको छ जबकि त्यस्तो सङ्ख्या दक्षिण अफ्रिकीहरूमाझ ८८ प्रतिशत पाइएको छ। त्यस्तै अमेरिकीहरूमा ६६ प्रतिशत र न्युजिल्यान्डका मानिसहरूमध्ये ६१ प्रतिशतले त्यस्तो स्वीकार गरेको पाइएको छ।

तर प्रशंसा स्वीकार वा अस्वीकार गर्ने बाहेक पनि त्यसमा प्रतिक्रिया जनाउने थुप्रै तरिका हुन्छ। जर्मनहरूको संवाद विश्लेषण गर्दा उनीहरूले ‘धन्यवाद’ को सट्टा अन्य तरिकाले प्रशंसा स्वीकार गरेको पाइयो। उनीहरूले कहिलेकाहीँ ‘तिम्रो घरमा आज यो साँझ रमाइलो भयो’ भनेर भन्दा ‘अहो त्यो त राम्रो भयाो’ भनेर प्रतिक्रिया जनाएको पाइयो। धेरै अनुसन्धानकर्ताहरूले कसैले प्रशंसा पाउँदा हुने आन्तरिक द्वन्द्व समेटेका छन् जहाँ संवादलाई निरन्तरता दिन सहमति जनाउने तर आत्मप्रशंसा स्वीकारेको महसुस हुनुबाट जोगिन खोज्छन्।

केही खास अवस्थामा यो द्वन्द्व एकदमै बलियो हुन्छ। जापानमा, प्रशंसा अस्वीकार गर्न दबाब हुन्छ। पाएको ४५ प्रतिशत प्रशंसामा नकारात्मक प्रतिक्रिया दिइएको एउटा अध्ययनमा पाइएको थियो। तर जापानीहरूमा त्यसलाई अनुमोदन नगरीकनै पनि प्रशंसा स्वीकार गर्ने थुप्रै रणनीतिहरू छन्। त्यसमा टाउको हल्लाउने वा हाँसेर तारिफ गर्ने व्यवहार अशुभ भएको प्रतिक्रिया दिने गर्छन्। तर कुनै कामबारे दिइने प्रतिक्रियात्मक सुझाव ‘फिडब्याक’ खासगरी उसले के राम्रो गरिरहेको छ भन्दा पनि सुधार गर्न सक्ने ठाउँमा केन्द्रित हुने समाजमा प्रशंसा ग्रहण गर्न असहज हुनसक्छ।

चिनियाँ बालबालिकाहरूलाई “उनीहरूले के हासिल गरेका छन् भन्नेमा भन्दा पनि उनीहरूको कमीमा केन्द्रित हुन सिकाइएको हुन्छ,’ चाइनिज युनिभर्सिटी अफ हङकङको शैक्षिक मनोविज्ञान विभागका प्राध्यापक फ्लोरी फेइ-यीन ङ् भन्छिन्। ‘यो धारणाबाट हेर्दा चिनियाँ बालबालिकाहरू प्रशंसा पाउँदा असहज महसुस गर्न सक्छन् भन्ने बुझिन्छ,’ उनले भनिन्।

चिनियाँ संस्कृतिको पश्चिमीकरण भइरहँदा त्यसको अर्थ प्रशंसा स्वीकार गर्ने अभ्यास चीन लगायत इरानसहितका देशमा पनि बढ्दो छ। ङ्ले चिनियाँ बालबालिकाहरू अझै पनि वयस्कहरूले गर्ने प्रशंसामा कसरी प्रतिक्रिया जनाइरहेका छन् भनेर हेरिरहेको र त्यही व्यवहारको सिको गरिरहेको बताएकी छन्। उदाहरणका लागि, जब आफन्तहरूले अभिभावकको अगाडि बालबालिकाको प्रशंसा गर्छन् त्यतिबेला अभिभावकले त्यो प्रशंसाको प्रसङ्ग अन्यत्रै मोड्ने गरेको उनले बताइन्।

बालबालिकालाई उनीहरूको खास कुनै उपलब्धीपूर्ण काम बिना नै निरन्तर प्रशंसा गरिदिँदा पनि त्यो खोक्रो र अप्रभावकारी हुनसक्छ। तर त्यसो नगर्दा पनि त्यसले उनीहरूको भावनामा असर पुर्‍याउनसक्छ। केही वयस्कका लागि पनि आलोचना प्रशंसाभन्दा धेरै प्रभावकारी हुनसक्छ। उदाहरणका लागि विज्ञहरू नकारात्मक ‘फिडब्याक’ बाट थप प्रेरित हुन खोज्छन्।

जब प्रशंसाले काम गर्दैन
पक्कै पनि कुनै मानिसले प्रशंसाप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने उसको व्यक्तित्वमा पनि भर पर्छ। आत्म-सम्मान कम भएका व्यक्तिमा प्रशंसाले चिन्ता बढाउन सक्छ किनभने उनीहरूको स्वधारणामा प्रशंसाले चुनौती दिनसक्छ। ‘सोसल एनजाइटी डिस्अर्डर’ भनिने एक प्रकारको आत्तिने मनोवैज्ञानिक अवस्था भएका व्यक्तिमा पनि कसैले नकारात्मक रूपमा आफ्नो मुल्यांकन गरिरहेको पो होला भन्ने भय हुन्छ। तर अन्य मानिसको मनलाई पनि अनपेक्षित प्रशंसाले अस्थीर बनाउन सक्छ। ‘सारमा प्रशंसा भनेको मुल्याङ्कन हो,’ एडी ब्रमल्मन भन्छन्। सकारात्मक नै हुँदा पनि, ‘मानिसलाई अरूले मूल्यांकन गरेको मन पर्दैन…यसले तपाईँलाई त्यो क्षणबाट बाहिर निकाल्छ। अरू मानिसले तपाईँबारे के सोच्छ भन्नेबारे तपाईँलाई थप सचेत गराउँछ।’

ब्रमल्मनको अध्ययनले बालबालिकाहरू आफ्नोबारे गरिने प्रशंसाबारे असाध्यै संवेदनशील हुने देखाएको छ। द नेदरल्यान्डस्‌का गीत गाउने बालबालिकामा गरिएको अध्ययनमा ब्रमल्मन र सहकर्मीहरूले असमानुपातिक रूपमा गरिने प्रशंसाले ‘सोसल एनजाइटी डिस्अर्डर’ भएका बालबालिका लजाउने गर्छन्। ‘त्यसरी लजाउनु भनेको अन्य मानिसले नकारात्मक रूपमा मूल्यांकन गर्न सक्छन् भन्ने संकेत हो,’ ब्रमल्मनले भने। ‘अरूले हामीलाई हेरिरहेका बेला यस्तो हुन्छ।;

यो अवस्थामा बालबालिकालाई असहज बनाउने एउटा कारण सामाजिक चिन्ता हो भने अर्को चाहिँ कुन तहको प्रशंसा भन्ने हो। बालबालिकालाई बढाइचढाइ गरिएको प्रशंसा नलजाइकन स्वीकार गर्न भनियो भने त्यसले मद्दत नगर्न सक्छ। प्रशंसाको मिहिन पक्षबारे बालबालिकाहरू सानै उमेरदेखि सचेत हुन्छन्। ‘किन्डरगार्टन जाने बालबालिकाहरूले जब उनीहरूले केही राम्रो नगरीकनै शिक्षकले बढाइचढाइ प्रशंसा गरेको देख्छन् उनीहरूले शिक्षकको प्रशंसामा त्यति विश्वास गर्दैनन्,’ ब्रमल्मनले भने।

अर्को शब्दमा, अन्धाधुन्ध रूपमा गरिएको छ भने प्रशंसाको मूल्य घट्छ। खासमा बढाइचढाइ गरिने प्रशंसाले राम्रोभन्दा नराम्रो धेरै गर्न सक्छ।ब्रमल्मन भन्छन्, ‘कम आत्मसम्मान भएका बालबालिकालाई अभिभावकहरूले धेरै प्रशंसा गर्छन्। यस्ता बालबालिकाहरूले प्रशंसा सुन्दा राम्रो महसुस गर्छन् भन्ने ठानेर अभिभावकले त्यसो गर्छन्। तर त्यो सत्य होइन।’ उनी र उनका सहकर्मीको अध्ययनले यदि कम आत्मविश्वास भएका बालबालिकाले बढाइचढाइ गरेको प्रशंसा पाए पनि त्यसले खासमा उनीहरूको आत्मविश्वास समयसँगै थप खस्काउने देखाएको छ। आफ्नो रुचि देखाउन अभिभावकले प्रशंसा गर्नुपरे त्यसका लागि उपायहरू छन्। उदाहरणका लागि, बालबालिकाले बनाएको चित्रको प्रशंसा गर्नुको सट्टा बालबालिकासँगै त्यसबारे कुरा गरेर आफ्नो रुचि व्यक्त गर्न सकिन्छ। ‘बालबालिकाले तपाईँको सकारात्मक मूल्यांकनभन्दा पनि तपाईँको न्यानोपन र स्नेह खोज्छन्,’ ब्रमल्मन ठान्छन्।

दबाबबाट राहत
त्यसैले अरूको सराहना गर्नेले अर्को मानिसलाई राम्रो महसुस गराउने आशयले प्रशंसा गरेको हुनाले उसलाई नराम्रो अनुभव नगराउनु महत्त्वपूर्ण हुन सक्छ। अरूको प्रशंसा वा सराहना गर्ने व्यक्तिले एकदमै विचार पुर्‍याएर त्यस्तो गर्न सक्छन्। सँगै सराहना पाउने व्यक्तिले पनि त्यसलाई सहजै स्वीकार गर्न सक्दैनन् भने त्यसबाट पार पाउन सक्नुपर्छ। यो व्यक्तित्वसँग जोडिएको हुनसक्छ वा सांस्कृतिक पक्ष हुनसक्छ कि यस्तो अवस्थाबाट सहजै पार पाउन सजिलो छैन। अथवा कुनै खास किसिमको सराहनाले त्यो पाउने भन्दा पनि दिने व्यक्तिबारे थप कुराहरू बताउन गर्नसक्छ। ‘यी र यस्ता विभिन्न कारणहरू छन् जस्ले प्रशंसा पाउँदा पनि मानिसलाई नराम्रो महसुस गराउन सक्छन्,’ ब्रमल्मनको निष्कर्ष छ। ‘म पक्कै पनि विश्वास गर्छु कि अरूले गरेको सराहनालाई कसरी स्वीकार गर्ने भन्ने व्यक्तिको जिम्मेवारी होइन। तर कसरी कुनै निश्चित प्रतिक्रिया जनाउने भनेर अभ्यास गर्दा मात्रै पनि त्यसले मद्दत गर्न सक्छI त्यसो गर्दा सराहनाले आफूलाई असहज बनाएको कुरामा ज्यादा ध्यान दिनुहुँदैन,’ उनले भने।

क्रिस्टिन रो
बीबीसी

पैसा जोगाउने नयाँ काइदा ‘सेभिङ पार्ट्नर’

कोभिड महामारीका बेला क्याथी चूओ र उनका पतिको आधा तलब काटियो। उनका लागि यो कठिन थियो किनकि उनले पाँच वर्षअघि क्यान्सर भएको पुष्टि भएकी आमाको पनि हेरचाह गर्नुपर्थ्यो। ‘हरेक वर्ष हाम्रो पैसा विरलै बच्थ्यो। आफू असुरक्षित भएको महसुस हुन्थ्यो तर के गर्ने भन्ने थाहा थिएन,’ दुई सन्तानकी आमा भइसकेकी यी ३६ वर्षे महिला भन्छिन्।

दक्षिणी चीनको फूज्यान प्रान्तकी यी महिलाले परिवारमा आइपरेको आर्थिक सङ्कटका कारण अन्य चिनियाँ युवायुवतीले जस्तै अनलाइन माध्यममा आफूसँग मिल्ने रुचि भएका अन्य ‘पार्ट्नर’ वा ‘ता ची’ खोजिन्। सँगै घुम्ने वा शारीरिक अभ्यास गर्नेभन्दा पनि उनले पैसा जोगाउन चाहने मानिससँग साझेदारी गरिन्।

इन्स्टाग्र्यामजस्तै चिनियाँ एप ‘शाउहोङ्शु’मा सन् २०२३ को फेब्रुअरीमा पहिलो पटक ‘सेभिङ ता ची’ ह्याशट्याग प्रयोग भयो। ‘न्यूजर्‍याङ्क’ नामक डेटा विश्लेषण कम्पनीका अनुसार त्यसपछि यसले हालसम्म १७ लाख भ्यू पाइसकेको छ। ‘विबो’मा पनि ‘बचत साझेदारी’ भनिएका शीर्षकहरूले लाखौँ भ्यू पाएका छन्।

सिङ्गापुरको न्याश्नल यूनिभर्सिटीमा सार्वजनिक नीतिका प्राध्यापक रहेका लू सीका अनुसार यो प्रवृत्तिले ‘भविष्यको अर्थतन्त्रबारे न्यून आत्मविश्वास; देखाउँछ। चीनको अर्थतन्त्र सोचेभन्दा तीव्र गतिमा विकसित भए पनि यसका अगाडि घट्दो विदेशी लगानी र स्थानीय सरकारको बढ्दो ऋणलगायत विभिन्न सङ्कट रहेको विशेषज्ञहरू बताउँछन्।

सम्भाव्य खतराका लागि तयारी

आफू स्वच्छ ऊर्जाको क्षेत्रमा काम गर्ने हुनाले चूओ आफूलाई भाग्यमानी सम्झन्छिन् किनकि यो क्षेत्र निरन्तर फैलँदो छ। गत वर्ष चीनको आर्थिक वृद्धिदरमा यस क्षेत्रले ४० प्रतिशत योगदान दिएको मानिएको छ। तर आफ्ना धेरै साथी र आफन्तले जागिर गुमाइरहेकाले आफू ‘खतराप्रति तयार; रहन चाहेको उनी बताउँछिन्।

यस वर्षको फेब्रुअरीमा चूओले धेरै वटा अनलाइन बचत समूहहरूको सदस्यता लिइन्। त्यस्ता समूहमा प्रायः २० देखि ४० वर्षका महिलाहरू छन्। उनीहरू प्रत्येक दिनको बजेट र खर्चको अभिलेख राख्छन्। मनलाग्दी सामान किन्नबाट एकअर्कालाई रोक्न पनि उनीहरू सहयोग गर्छन्।

चूओको समूहका एक सदस्यले पाँच हजार युआन (झन्डै ९२ हजार नेपाली रुपैयाँ) पर्ने एउटा झोला किन्न चाहेकी थिइन्। तर समूहका अन्य महिलासँग कुरा गरेपछि उनी पहिले कसैले प्रयोग गरिसकेको सस्तो झोला किन्न सहमत भइन्।

अन्य धेरै महिलाले पनि यस्तै गरिरहेको थाहा पाउँदा उनी अचम्ममा परेकी छिन् तर उनले ‘सेभिङ पार्ट्नर’को साथको प्रभाव पनि महसुस गरेकी छन्। एक जनासँग साथी बनेको एक महिनामै आफ्नो खर्च ४० प्रतिशतले घटेको उनको दाबी छ। यस वर्ष उनी एक लाख युआन (झन्डै १८.५ लाख नेपाली रुपैयाँ) जोगाउन चाहन्छिन्।

बचतसँगै अतिरिक्त कमाइ

एउटा प्राथमिक विद्यालयकी ३० वर्षे शिक्षिका वेन चोङ पनि ‘सेभिङ पार्ट्नर’को सहयोगमा आफूले अनलाइन किनमेलमा कटौती गरेको बताउँछिन्। पहिला किनमेलमा खर्च गर्ने समय अहिले पढाइ र सिलाइबुनाइमा खर्च गरेको उनको भनाइ छ। आफूले बनाएका हस्तकलाका सामान उनले स्थानीय बजारमा बेच्न थालेकी छन्। यसले गर्दा अतिरिक्त कमाइ भएको छ।

अझ महत्त्वपूर्ण कुरा, ‘सेभिङ पार्ट्नर’सँग आबद्ध भएपछि आफूले जीवनशैलीलाई किफायती (‘मिनिमलिस्टिक’) बनाएको उनको दाबी छ। चीनको बचत दर संसारकै उच्चतममध्ये एक भइसकेको छ। आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म चिनियाँ परिवारहरूले ब्याङ्कमा राखेको रकम अघिल्लो वर्षको भन्दा झन्डै १४ प्रतिशत बढी थियो। तर डा. लूका अनुसार अत्यधिक बचत पनि चिनियाँ सरकारका लागि समस्या बन्न सक्छ।

सामान्य अवस्थामा केन्द्रीय ब्याङ्कले ब्याजदर कम गरी बचतमा आकर्षण घटाएर अर्थतन्त्रलाई गति दिन सक्छ। तर मान्छेहरूले खर्च नगरीकन पैसा जोगाउन थाले भने अर्थतन्त्रलाई प्रभावित गर्ने केन्द्रीय ब्याङ्कको क्षमता कमजोर हुन सक्छ।

बैंकमा होइन, ‘ट्याङ्का’मा

उता केही महिलाहरूले भने परम्परागत रूपमा घरमै नगद राखेका छन्। ‘अलिपे’ र ‘वीच्याटपे’जस्ता एप धेरै प्रयोग हुने चीनमा अधिकांश क्षेत्र नगदमुक्त भइसक्दा पनि घरमै नगद राख्नु अनौठो मानिएको छ। चीनको मध्य भागमा अवस्थित हेनान प्रान्तमा ब्यूटी पार्लर चलाउने ३२ वर्षे चेन हरेक महिना आफूले कमाएको पैसामध्ये अधिकांश रकम बैंकबाट निकालेर घरमै एउटा बाकसमा राख्ने बताउँछिन्।

हामीसँगको कुराकानीमा आफ्नो वास्तविक नाम खोल्न नचाहेकी उनको भनाइमा उनी ५० हजार युआन (झन्डै नौ लाख २५ हजार नेपाली रुपैयाँ) नपुगुन्जेल पैसा बाकसमै राख्छिन्। त्यसपछि भने बैंकमा मुद्दती खाता खोल्ने उनको योजना छ। उनी भन्छिन्, ‘पहिला मेरो बचत गर्ने कुनै योजना थिएन तर पनि केही पैसा जोगिएकै थियो। अहिले पैसा जोगाउन चुनौती थपिएको छ।’

आर्थिक मन्दीले गर्दा उनको ब्यूटी पार्लरका ग्राहकको सङ्ख्या घटेको छ। नियमित आउनेहरू पनि कम खर्च गर्न थालेका छन्। अनि चेन र उनका पति दुवै एक्ला सन्तान हुन्, अर्थात् उनीहरूले पाका उमेरका आआफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्नेछ।

यो दम्पतीका दुई छोरा छन्। त्यसैले चेनलाई आफ्ना सन्तानका लागि घर किन्नै पैसा नबच्ने हो कि भन्ने चिन्ता छ। चीनमा सामान्यतया छोराको बिहे हुने बेला आमाबुवाले घर किनिदिने चलन छ। उनको अनुमानमा उनले र उनका पतिले कम्तीमा ५० लाख युआन (झन्डै नौ करोड २५ लाख नेपाली रुपैयाँ) जोगाउनुपर्ने छ। तर उनी फेरि गर्भवती छिन् र यो रकम आफ्ना सन्तानका लागि पर्याप्त हुँदैन कि भन्ने उनलाई डर छ।

‘हातमा पैसा भयो भने मेरो तनाव कम हुन्छ,’ उनी भन्छिन्, ‘पैसाको चाङ झन् अग्लो, झन् अग्लो भएको देख्दा मलाई सुरक्षित र सन्तुष्ट महसुस हुन्छ।’

सिल्भिआ चाङ
बीबीसी

सदस्य सचिव डा. थापालाई सफाइ, शिव सेना सम्पर्क प्रमुख अशोक सिंहद्धारा वधाई ज्ञापन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ ।

सदस्य सचिव थापालाई विशेष अदालतद्धारा दिईएको सफाईप्रति शिवसेना भारतका विदेश सम्पर्क विभाग र नेपाल प्रमुख अशोक सिंह नेपालीले हार्दिक प्रसन्नता व्यक्त गर्दै अदालतलाई धन्यवाद र सदस्य सचिव थापालाई बधाई ज्ञापन गर्नु भएको छ । यो आदेश ईमानदारिताको विजय भएको सम्पर्क प्रमुख सिंहले प्रतिक्रिया दिनु भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतका शाखा अधिकृत सागर भण्डारीका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् ।

पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव डा. प्रदिप ढकाल र विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।

अख्तियारको दावी अनुसार, पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो । जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो । त्यही घटनालाई भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

२९ माघ २०७७ मा जलहरी निर्माण सुरु गरेका पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सबै काम सकिएपछि १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्का गरेका थिए ।

आशैआशमा सकियो ४०० जनाको जीवन

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।

शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र

ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्‍यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ मै सहकारीलाई  समस्याग्रस्त घोषणाको सिफारिश गरे पनि फाइल मन्त्रालयमा रोकिएको थियो।

पशुपति सेभिङले रकम फिर्ता दिन नसक्दा बचतकर्ताले विभिन्न निकायमा उजुरी र दबाब बढाउँदै थिए। त्यसपछि पक्राउबाट जोगिन अध्यक्ष सीबी (चन्द्रबहादुर) लामाले राजनीतिक पहुँचको राम्रै उपयोग गरे। २०७४ र २०७९ सालको चुनावमा काभ्रे १ ‘क’ मा नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए लामा।

लामाको समस्या यतिमै सकिएन। उनैले स्थापना गरेको अर्को सहकारी कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लि. मार्फत ठगी गरेको आरोप पनि लाग्यो। यसै प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेपछि लामा अहिले फरार छन्।

प्रहरीमा उजुरी दिन गएका कान्तिपुर सहकारीका पीडित। इन्सेटमा कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी। तस्वीरहरु: सुमन नेपाली/हिमालखबर

लामा मात्रै हैन, बचतकर्ताको रकम फिर्ता गर्न नसकेका अरू थुप्रै सहकारी पनि आफूलाई समस्याग्रस्त घोषणाको आग्रह गर्दै सहकारी विभाग पुगेका उदाहरण छन्।

सहकारी क्षेत्रबारे जानकार अधिवक्ता रामचन्द्र सिंखडा यस्ता सहकारीको सम्पूर्ण जिम्मेवारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा जाने हुँदा दायित्व मिलान गर्न नसक्दा समस्याग्रस्त घोषणाको आग्रह गर्दै विभाग पुग्छन्। “समितिले काम गरिरहेको भनेपछि प्रहरीले पनि पक्राउ गर्दैन,” सिंखडा भन्छन्, “यस्ता संस्थाको चलअचल सम्पत्ति रोक्का हुने हुँदा केही हदसम्म सुरक्षित पनि रहन्छ।”

त्यसमाथि समितिको काम निकै सुस्त गतिमा हुने भएकाले सञ्चालकको सम्पत्ति कहाँ, के-कति छ पत्ता लागुन्जेल सञ्चालकले सम्पत्तिको व्यवस्थापन गर्ने समय पनि पाउँछन्। विभागका प्रवक्ता टोलराज उपाध्याय भने कसैले माग गर्दा बित्तिकै समस्याग्रस्त घोषणा नगरिने बताउँछन्। उपाध्यायका अनुसार विभागले अनुगमन गर्दा गम्भीर समस्या आएकोे देखिएपछि मात्र उक्त सहकारीलाई समस्याग्रस्त घोषणाका लागि मन्त्रालयमा सिफारिश गर्छ। “कोही समस्याग्रस्त घोषणा गरिदेऊ भन्दै आउँछन्, कोही समस्याग्रस्त घोषणा गरेको विरुद्ध अदालत पनि गएका छन्,” उपाध्याय भन्छन्।

गिजोलिएका सहकारी

आफैले समस्या सुल्झाउन कार्ययोजना समेत पेश गरेका केही सहकारी समस्याग्रस्त घोषित भएपछि अदालत गएका छन्। यसैमध्येको एउटा हो, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था। “हाम्रो सहकारीको समस्या समाधानका लागि विभागमा कार्ययोजना पेश गरेका थियौं,” प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी भन्छन्, “सरकारले जबर्जस्ती समस्याग्रस्त घोषणा गर्‍यो। त्यसैले अदालत पुग्यौं।”

यसअघि यो सहकारीले सार्वजनिक सूचना जारी गरेरै ऋणीहरूलाई ऋण तिर्न आह्वान गरेको थियो। ऋण नतिर्नेहरूको सूचीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे, बाङ्लादेशका लागि नेपालका पूर्व राजदूत बंशीधर मिश्र, नेकपा (माओवादी केन्द्र)की नेत्री पम्फा भुसाल, नेपाली कांग्रेसकी नेत्री अनामिका निधिको नाम समेत थियो। निधि कांग्रेसका नेता विमलेन्द्र निधिकी पत्नी हुन्।

राजेन्द्रप्रसाद पाण्डे, बंशीधर मिश्र, पम्फा भुसाल र अनामिका निधि।

यो सूचनाबाट त्रस्त उनीहरूले श्री लालीगुराँसलाई छिटै समस्याग्रस्त घोषणा गराएको सहकारीका एक पदाधिकारीको दाबी छ। सरकारले समस्याग्रस्त घोषणा गरेको पर्सिपल्ट समेत खुलै रहेको लालीगुराँसको कार्यालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका कर्मचारी र प्रहरी पुगेर बन्द गराएका थिए।

समितिका प्रवक्ता पौडेल भने अदालती प्रक्रियामा लामो समय लाग्ने हुँदा हिसाब मिलानका लागि समयको उपयोग गर्न पनि केही सहकारीहरू अदालत पुग्ने गरेको बताउँछन्। यद्यपि समितिले पनि तदारुकतासाथ सहकारी व्यवस्थापनको काम गरेको देखिंदैन।

लालीगुराँस सहकारीले निकालेको सूचना।

सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्था वा सहकारी संघको साधारण सभा तथा लेखा सुपरिवेक्षण समितिले पाएका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउँछ। त्यति मात्र होइन, संस्थाका सञ्‍चालक, कर्मचारी र उनीहरूका परिवारको नाममा रहेको चल-अचल सम्पत्ति नियन्त्रणमा लिएर लिलाम गरी भुक्तानी गर्न पाउने अधिकार समेत ऐनले समितिलाई दिएको छ।

आशैआशमा सकियो ४०० जनाको जीवन

२०७४ कात्तिक २० गते सरकारले ओरेन्टल सहकारीलाई पहिलो पटक समस्याग्रस्त घोषणा गरेको थियो। ६ वर्ष बितिसक्दा पनि बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छैनन्।

नयाँ बानेश्वरका दयासागर काफ्लेले २०६८ माघ ५ मा पुर्ख्यौली सम्पत्ति बेचेर आर्जेको १५ लाख रुपैयाँ ओरेन्टल को-अपरेटिभ (सहकारी) लिमिटेडमा राखे।

राष्ट्रिय वाणिज्य ब्यांकले बढीमा दुई प्रतिशत ब्याज दिने त्यो वेला अन्य ब्यांकहरूले बढीमा ६ प्रतिशतसम्म दिन्थे। तर १८ प्रतिशत ब्याज दिने ओरेन्टलले उनलाई आकर्षित गर्‍यो। मुद्दती खातामा राखिएको रकमको म्याद २०६९ माघ ४ मा सकियो।

काफ्ले जस्ता हजारौं बचतकर्ताको बचत फिर्ता भएन। बचत फिर्ता नआउँदै २०७१ सालमा उनको निधन भयो। अहिले उनका छोराहरू रकम फिर्ता हुने आशामा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय धाइरहेका छन्।

बानेश्वरका खगेन्द्रनाथ काफ्लेले पनि २०६८ भदौ २४ मा छोरी, श्रीमती र आफ्नो गरी कुल ३० लाख रुपैयाँ ओरेन्टलमा राखे। उनले पनि अहिलेसम्म आफ्नो बचत फिर्ता पाएका छैनन्।

काफ्लेका अनुसार ओरेन्टलका बचतकर्तामध्ये करीब ४०० जना त बचत फिर्ताको आशैआशमा बितिसके। उनी ओरेन्टल सहकारीपीडित संघर्ष समितिका अभियन्ता समेत हुन्।

उनको कुरामा सहमति जनाउँदै अर्का पीडित नारायण गजुरेल भन्छन्, “हामीले यकीन तथ्यांक त राखेका छैनौं, तर सँगसँगै अभियानमा हिंडेका धेरै साथीहरूको मृत्यु भइसकेको छ। अझै पनि चार हजार २५९ जना दाबीकर्ता आशैमा छन्।”

केही समयअघि उच्च अदालतका पूर्व न्यायाधीश युवराज सुवेदी समितिको अध्यक्ष हुँदा ओरेन्टल सहकारीको जग्गा बिक्रीबाट प्राप्त रकमबाट समितिले रु.एक लाखभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता गरेको थियो। बाँकी कामै नगरी समितिको चौथो कार्यकाल २०८० चैत २३ मा सकिएको छ।

सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा भइसकेपछि ऋणीहरूलाई ऋण तिर्न समेत गाह्रो भएको देखिएको छ। साविक चपली भद्रकाली गाविस-२ का पदमराज पाण्डे आफ्नो ऋण चुक्ता गरी धितो राखेको घर फुकुवा गराउन समितिको कार्यालय अनामनगर धाइरहेका छन्।

पाण्डेले कान्तिपुर सेभिङ एन्ड क्रेडिट लिमिटेडमा साढे दुई तलाको घर धितो राखेर २०६८ मंसीर ८ मा दुई करोड ४७ लाख रुपैयाँ ऋण लिएका थिए। उनले लामो समय ऋणको किस्ता नबुझाएपछि सहकारीले धितो लिलामीको सूचना निकाल्यो।

त्यसपछि पाण्डे अदालत पुगे। अदालतले पाण्डेले चार करोड ९० लाख रुपैयाँ तिरेपछि घर फुकुवा हुने फैसला सुनायो। त्यतिन्जेल कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा भइसकेकाले पाण्डे अदालतको फैसला बोकेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगे।

तर समितिले अदालतले तोकिदिए बमोजिम रकम लिएर घर फुकुवा गर्न मानेन। समितिले आठ करोड रुपैयाँ नदिए जग्गा फुकुवा गर्न नसकिने जवाफ दियो।

समितिका तत्कालीन अध्यक्ष काशीराज दाहालका अनुसार अदालतबाट पाण्डेले बुझाउनुपर्ने रकम चार करोड ९० लाख रुपैयाँ कायम गरिए पनि कान्तिपुर सहकारीले पाण्डेको सावाँ र ब्याज गरी आठ करोड रुपैयाँ पुगेको हिसाब देखाएकाले निर्णय गर्न कठिन भएको हो। दाहाल भन्छन्, “सावाँ र ब्याज सबै नबुझाउने हो भने सहकारी आफैंले धितो सकार्छु भन्दाभन्दै कसरी आधा रकममा फुकुवा गर्ने?” त्यसमाथि जिल्ला अदालत र उच्च अदालतको फैसला विरुद्ध पाण्डे सर्वोच्चमा गएकाले पनि सर्वोच्चको फैसला नआउन्जेल थप निर्णय हुन नसक्ने उनी बताउँछन्।

तर पाण्डे समितिले उच्च अदालतको फैसला अनुसार रकम बुझी जग्गा फिर्ता गरेमा आफूले सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिने बताइरहेका छन्। उनी भन्छन्, “समिति र कान्तिपुर सहकारी मिलेर मेरो घर नै खाइदिन खोजेका छन्।”

समितिका सदस्यसचिव तथा प्रवक्ता केशवप्रसाद पौडेलको बुझाइ भने फरक छ। पौडेलका अनुसार सावाँको दोब्बर वा १५ प्रतिशतले हिसाब गर्दा जुन बढी हुन्छ सोही रकम कायम गरी ऋण सल्टाउने अधिकार समितिमा छ। उनी भन्छन्, “पाण्डेजीको केशमा किन समितिले यसरी अनिर्णयको बन्दी बनाएको हो, थाहा छैन।”

काठमाडौंका विश्व जोशीको जग्गा पनि कर्जा चुक्ता गरेको करीब एक वर्षपछि मात्र फुकुवा भएको थियो। सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन भएको हो। हालसम्म सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

संघीयता कार्यान्वयन गर्ने क्रममा सरकारले २०७५ सालमा ३८ वटा जिल्लामा रहेका डिभिजन सहकारी कार्यालय खारेज गर्दै सहकारीको अभिलेख स्थानीय र प्रदेश सरकारलाई बुझाएको थियो। अहिले एउटा स्थानीय तह मात्र कार्यक्षेत्र रहेको सहकारी स्थानीय तह मातहत, कार्यक्षेत्र एकभन्दा धेरै स्थानीय रहेका सहकारी प्रदेश मातहत र अन्तरप्रदेश कार्यक्षेत्र रहेका सहकारीहरू संघ मातहत छन्।

तर अधिकांश स्थानीय तह र प्रदेशमा आफू मातहतका सहकारीको अनुगमन र नियमन गर्ने सीप र संरचना छैन। सहकारीको अनुगमन, नियमन र सुपरिवेक्षणको जिम्मेवारी पाएको सहकारी विभाग आफ्नो भागमा जम्मा १२५ वटा सहकारी मात्र रहेको भन्दै बसेको छ। विभागसँग दक्ष जनशक्ति पनि छैन।

२४ वर्षदेखि समस्या

बचतकर्ताको बचत रकम फिर्ता नगरी सहकारी बन्द हुने र सञ्चालकहरू भाग्ने क्रम २०५७ सालमै शुरू भएको थियो। त्यति वेला काठमाडौं उपत्यकाबाट मात्र करीब १५० सहकारीले बचतकर्ताको रकम अपचलन गरी भागेका थिए। तर न सहकारी विभागले त्यसको कुनै तथ्यांक राखेको छ न त राष्ट्रिय सहकारी महासंघसँग नै यसको अभिलेख छ। महासंघकी अध्यक्ष ओमदेवी मल्ल भन्छिन्, “त्यस वेला काठमाडौंबाट करीब १५० सहकारी भागेको अनुमान थियो।”

राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी पनि त्यस वेला करीब १५० सहकारी बचतकर्ताको रकम खाएर भागेपछि नेपाल राष्ट्र ब्यांकले सहकारी ऐन, २०४८ संशोधनका लागि मस्यौदा तयार पारेको बताउँछन्। पंगेनीको नेतृत्वमा गठित समितिले बनाएको मस्यौदामा सहकारीको अनुगमन, नियमन र निर्देशनका लागि दोस्रो तहको स्वतन्त्र नियामक निकाय (एसटीआई) गठन गर्ने, बचत तथा ऋण सहकारीहरू कर्जा सूचना केन्द्रमा आबद्ध हुनुपर्ने, सदस्यले सहकारीमा निश्चित रकम मात्र बचत गर्न पाउने लगायत व्यवस्था गरिएको थियो।

“ऐनको मस्यौदा तयार पारेर म अध्ययनका लागि अमेरिका गएँ, फर्केर आउँदा मस्यौदा नै गायब पारिसकेछन्,” पंगेनी भन्छन्, “त्यो मस्यौदाकै कारण केही सहकारी अभियन्ता रिसाए।”

मस्यौदाप्रति राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल, अर्का पूर्व अध्यक्ष दीपकप्रसाद बास्कोटा र राष्ट्रिय सहकारी ब्यांकका अध्यक्ष केबी उप्रेती असन्तुष्ट थिए। पंगेनीको कुरामा सहमति जनाउँदै राष्ट्रिय सहकारी ब्यांकका अध्यक्ष उप्रेती मस्यौदालाई ऐन बन्न नदिनु ठूलो भूल भएको बताउँछन्। “आफूलाई के थाहा? यस्तो दिन आउँछ भनेर,” उनी भन्छन्, “त्यस वेला मस्यौदा ऐन बनेमा सहकारी सकिन्छ भन्ने लाग्यो, अहिले पो थाहा भयो त।”

त्यसपछि सहकारीमा समस्या आइरहँदा सरकारले समस्या समाधानका लागि समिति तथा आयोगहरू गठन त गर्‍यो। तर तिनले दिएका सुझावहरू कहिल्यै कार्यान्वयन भएनन्।

सहकारीमा समस्या देखिन थालेपछि सरकारको २०६१ साउन १३ गतेको निर्णय अनुसार राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य युवराज खतिवडाको संयोजकत्वमा ११ सदस्यीय ‘राष्ट्रिय सहकारी ब्यांक र बचत तथा ऋण सहकारी संस्थाको सञ्‍चालनका लागि उपयुक्त कानूनी स्वरूप र संस्थागत व्यवस्था अध्ययन समिति’ बन्यो। समितिले बचत तथा ऋण सहकारी संस्थाहरू, सहकारी ब्यांक र राष्ट्र ब्यांकबाट स्वीकृतिप्राप्त वित्तीय सहकारी संस्थाहरूको बचतको नियमन, निरीक्षण र सुपरिवेक्षण गर्न दोस्रो तहको संस्था स्थापना गर्नुपर्ने, त्यस्तो निकाय गठन नहुन्जेल राष्ट्रिय सहकारी ब्यांक नेपाल राष्ट्र ब्यांकको नियमन, निरीक्षण तथा सुपरिवेक्षणमा रहने व्यवस्था गर्नुपर्ने सुझाव पेश गरेको थियो।

त्यस्तै, समितिले सहकारी ऐन संशोधन गर्नुपर्ने, निक्षेपको सीमा निर्धारण गर्नुपर्ने, सहकारी विभागका कर्मचारीहरूलाई तालीम दिई तत्काल अनुगमनमा खटाउनुपर्ने लगायत सुझावहरू पेश गरेको थियो। बचत तथा ऋण सहकारीहरूका सदस्यको योग्यता कायम गर्नुपर्ने, सञ्‍चालकहरूलाई आचारसंहिता लागू गर्नुपर्ने, बहुउद्देश्यीय सहकारीले बचत तथा ऋणको कारोबार गर्न नपाउने लगायत सुझाव पनि प्रतिवेदनमा समावेश थिए।

तर सरकारको नेतृत्व गरिरहेका दलहरूले सुझाव कार्यान्वयनका लागि कुनै अग्रसरता देखाएनन्।

त्यस्तै, २०६१ असोजमा सरकारले सहकारीविज्ञ तुलसीप्रसाद उप्रेती र कानूनविज्ञ सूर्यरत्न शाक्यको दुई सदस्यीय ‘राष्ट्रिय सहकारी ब्यांक र बचत तथा ऋण सहकारी संस्थाको सञ्‍चालनका लागि आवश्यक पर्ने कानूनी स्वरूप र संस्थागत व्यवस्था सम्बन्धी अध्ययन समिति’ बनायो।

यस समितिले पनि खतिवडाको संयोजकत्वको समितिले दिएका अधिकांश सुझावहरू दोहोर्‍याएर प्रतिवेदन दियो। यी दुई प्रतिवेदन दराजमा थन्क्याएको सरकारले यस्ता अन्य समिति बनाउन चाहिं उत्साह देखाइरह्यो।

२०६९ भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयका तत्कालीन सहसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा पाँच सदस्यीय ‘बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरूको नियमन गर्ने सम्बन्धमा गठित सुझाव समिति’ बनायो।

समितिले पनि सहकारी विभागको पुनःसंरचना तथा क्षमता अभिवृद्धि गर्ने, सहकारी संस्थाहरूको तत्काल निरीक्षण गर्ने, सहकारीले लिने ब्याज निर्धारण गर्ने, बचतमा सीमा निर्धारण गर्ने, विज्ञापन गर्न रोक लगाउने, संस्थाहरूको सम्बन्धित संघहरूमा सदस्यता अनिवार्य गर्ने लगायत सुझाव सहितको प्रतिवेदन बुझायो।

२०६९ माघ १२ मा सरकारले तेस्रो यस्तै समिति बनायो, तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा। यो समितिले समस्याग्रस्त सहकारी, तिनका सञ्चालक र पदाधिकारीको रोक्का रहेको सम्पत्ति कर्जा असुली प्रयोजनका लागि फुकुवा गर्दै जान सुझाव दिएको थियो।

यसैगरी, कुल पूँजीको निश्चित प्रतिशतभन्दा बढी सहकारीले बचत संकलन गर्न नपाउने गरी व्यक्तिगत बचतको सीमा निर्धारण गर्नुपर्ने, संस्थाको पदाधिकारीमा रही संस्थाको बचत हिनामिना गर्ने, बेहिसाब गर्ने वा अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने, कर्जा सूचना केन्द्रमा सहकारीलाई जोड्नुपर्ने लगायत सुझाव पनि दियो।

समितिले रु.५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरूको विशेष लेखापरीक्षण गराउन, सञ्‍चालक, कार्यकारी प्रमुख र लेखा समितिका सदस्यहरू एकाघर परिवारबाट हुन नहुने व्यवस्था तत्काल लागू गर्न पनि सुझाव दिएको थियो।

यसपछि पनि प्रतिवेदन कार्यान्वयन नगर्ने तर समिति गठन गरिरहने सरकारको उत्साहमा कुनै कमी आएन। २०७० वैशाखमा गौरीबहादुर कार्कीको अध्यक्षतामा बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरूको छानबिन गर्न जाँचबुझ आयोग गठन भयो।

आयोगले नयाँ सहकारी ऐन तथा सहकारी न्यायाधिकरण अध्यादेश जारी गर्न सुझाव दिएको थियो। सुझाव अनुसार २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले अध्यादेश जारी त गर्‍यो, तर लगत्तै सरकार परिवर्तन भएपछि संसद्को समीकरणमा पनि परिवर्तन आयो। अध्यादेश ऐन बन्नै पाएन।

यस आयोगको प्रतिवेदन पनि थन्काएको सरकारले २०८० वैशाख १६ मा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य जयकान्त राउतको संयोजकत्वमा १३ सदस्यीय ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ गठन गर्‍यो।

कार्यदलले पनि सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने, सबै सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने, कर्जा असुली न्यायाधिकरण गठन गर्ने, रु.५० करोडभन्दा माथिको कारोबार गर्ने संस्थाको अनुगमन र नियमन राष्ट्र ब्यांकले गर्ने लगायत सुझाव पेश गरेको छ। यो समितिले ‘सहकारी अनुगमन तथा सुपरिवेक्षण बोर्ड वा प्राधिकरण’ गठन गर्न पनि सुझाव दिएको छ।

फसेको ४९ अर्ब

सहकारी विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र सम्बन्धित सहकारीबाट उपलब्ध तथ्यांकको लेखाजोखा गर्दा सहकारीमा रहेको बचतमध्ये ४८ अर्ब ९४ करोड रुपैयाँ तत्काल फिर्ता हुने सम्भावना देखिंदैन।

आममानिसले आफ्नो गाँस काटेर बचत गरेको पैसा डुबिरहँदा पनि सरकार र संसद्ले परिणाममुखी काम गरेका छैनन्। संसद्कोे पछिल्लो अधिवेशन पनि यस विषयमा पर्याप्त छलफल नगरी अन्त्य भएको छ। गृहमन्त्री रवि लामिछानेको विवादमा रुमल्लिएर निरन्तर अवरुद्ध भइरहेको संसद्को अधिवेशन सरकारले अचानकै अन्त्य गरायो।

सहकारी संस्था र वचत रकम

गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन)का कार्यकारी निर्देशक रहँदा लामिछानेले विभिन्न सहकारीबाट अवैधानिक रूपमा ऋण लिएको आरोप लागेको छ। यस विषयमा प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद् अवरुद्ध पारेको थियो।

तर यो विवादबीच बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीका लागि छलफल भएन। बचत फिर्ता र समस्या समाधानका लागि वर्तमान ऐनमा सुधार गर्न विभिन्न आयोग र समितिले सिफारिश गरे पनि त्यसतर्फ कुनै काम भएन। सर्वसाधारण बचतकर्ता प्राथमिकतामै परेनन्।

संसद्को अधिवेशन अन्त्य भइसकेपछि चाहिं सरकारले सहकारीपीडितको समस्या सम्बोधन गर्न कानून बनाउने निर्णय गरेको छ। २०८१ वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले विद्यमान कानूनबाट सहकारी समस्या समाधान असम्भव रहेको भन्दै ‘फास्ट ट्र्याक’ बाट कानून ल्याउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताएकी छन्। संसद्को अधिवेशन हठात् अन्त्य गराएर बनाइने कानूनले निमुखा बचतकर्ताको रकम फिर्ता ल्याउनेमा पीडित भने आशावादी छैनन्।

‘हिग्स बोजन’ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई सधैँका निम्ति फेरिदियो

सन् २०१२ को जुलाई ४ का दिन ‘लार्ज हेड्रन कलाइडर’ (एलएचसी)का अनुसन्धानकर्ताहरूले ४८ वर्षदेखि अपूर्ण रहेको रहस्यको एउटा अन्तिम गुह्य आफूहरूले पत्ता लगाएको घोषणा गरे।

लार्ज हेड्रन कलाइडर मानिसले बनाएकोमध्ये हालसम्मकै सबभन्दा ठूलो तथा जटिल यन्त्र हो। उनीहरूले ‘अणुभित्रको विश्व’मा रहेको एक कण फेला पारेका थिए। उक्त कण हामीले जानेबुझेको हरेक पदार्थको आधारभूत तत्त्वमध्येको एक हो।  विगतमा रहस्यको गर्भमा रहेको त्यो कण ‘हिग्स बोजन’ थियो। अनि त्यसको अस्तित्वको पक्का प्रमाण फेला पर्नु आधुनिक भौतिकशास्त्रमा एउटा ठूलो उपलब्धि थियो।

हिग्स बोजनको खोजले ‘स्ट्यान्डर्ड मोडल’ पूर्ण बन्यो। उक्त मोडलले हामीले जानेबुझेका सबै पदार्थका आधारभूत निर्माण तत्त्वको व्याख्या गर्नुका साथै ती तत्त्व वा कण जुन ढङ्गमा मिलेर रहेका छन् त्यसो हुनुमा कस्ता प्रकारका बल कारक छन् भन्ने बुझाउँछ। सन् १९६४ मा ब्रिटिश भौतिकशास्त्री पिटर हिग्सले बोजन भन्ने कण वास्तवमै हुनुपर्छ भनेर प्रकाशन गरेको एउटा सिद्धान्तबाट सुरु भएको रोमाञ्चक यात्राको उत्कर्षको रूपमा ‘लार्ज हेड्रन कलाइडर’ बनाइएको हो। ती वैज्ञानिक ९४ वर्षको उमेरमा गत मङ्गलवार बिते।

उनका अनुसार ‘बोजन कण’ नै उनको मस्तिष्कमा आएको’एकमात्र सही उपाय’ थियो र सुरुमा उनका सिद्धान्त उपयोगविहीन गणनाहरूको सङ्ग्रह मात्र थियो।त्यही एकमात्र सही विचारले हिग्सलाई सन् २०१३ को भौतिकशास्त्रको नोबेल पुरस्कार दिलायो। सन् २०२२ मा हिग्स बोजन कणको खोज भएको १० वर्ष पुगेको अवसरमा गरिएको कुराकानीमा दुई विशेषज्ञहरूले कसरी उक्त सूक्ष्म कणले मानवजातिले सामना गर्दै आएको दुइटा आधारभूत प्रश्नको उत्तर पाउन सहयोग गर्छ भनेर बताए: हामी कहाँबाट आयौँ र हामी केबाट बनेका छौँ?

‘स्ट्यान्डर्ड मोडल’

लामो समयसम्म के अणुलाई सबै पदार्थको सूक्ष्मतम आधारभूत तत्त्व मानियो। तर पछि अणु पनि अन्य अझ सूक्ष्म कणबाट बनेको हुन्छ भन्ने थाहा भयो। प्रोटोन र न्यूट्रोनले अणुको ‘न्यूक्लिअस’ बन्छ भने त्यसलाई इलेक्ट्रोनले परिक्रमा गर्छ। तर आज हामीलाई के थाहा छ भने ती प्रोटोन र न्यूट्रोनलाई पनि अझ सूक्ष्म तत्त्वमा विभाजन गर्न सकिन्छ। त्यस्ता १७ वटा आधारभूत सूक्ष्म तत्त्व फेला परेका छन्। ती तत्त्वले एकअर्कासँग निश्चित बलका कारण अन्तरक्रिया गर्छन्। यिनैबाट हामीले थाहा पाएको पूर्ण ब्रह्माण्ड निर्मित र सञ्चालित छ।

यी १७ कण तथा बलहरूको संयोजनलाई नै ‘स्ट्यान्डर्ड मोडल’ भनिन्छ। स्ट्यान्डर्ड मोडलका कणहरूलाई दुई मूल भागमा विभाजन गरिएको छ: फर्मिअन र बोजन। ब्रह्माण्डका प्रत्येक पदार्थ निर्माणमा ‘फर्मिअन’को भूमिका इँटाजस्तै हुन्छ। ती ‘लेगो पजल’का टुक्राजस्ता हुन् जसलाई भिन्नभिन्न शैलीमा मिलाउँदा भिन्नभिन्न प्रकारका अणु बन्छन्। फर्मिअन १२ किसिमका हुन्छन् – ६ क्वार्क तथा ६ लेप्टन। अर्को शब्दमा भन्नुपर्दा ब्रह्माण्डका जुनसुकै पदार्थ पनि ‘क्वार्क’ र ‘लेप्टन’कै मिश्रण हुन्।

बोजन कणमा चाहिँ फर्मिअनहरूलाई एकअर्कासँग अन्तरक्रिया गराउने बल हुन्छ। कुल पाँच प्रकारका बोजन छन्। ती प्रत्येकले तीनथरी आधारभूत बल बोक्छन् जसका आधारमा कणहरूबीच अन्तरक्रिया हुन्छ।

१ ग्लूअनमा क्वार्कहरूलाई जोड्ने ‘शक्तिशाली बल’ हुन्छ।

२ र ३ डब्ल्यू बोजन र जी बोजनमा ‘कमजोर बल’ हुन्छ जसले कुनै अणुको न्यूक्लिअसमा विस्तारै क्षय गराएर अर्कै प्रकारको अणु निर्माण गराउँछ।
४ फोटोन जसमा ‘इलेक्ट्रोम्याग्नेटिक’ (विद्युत्-चुम्बकीय) बल हुन्छ।

चौथो प्रकारको बल पनि छ। त्यो सबैभन्दा चर्चित गुरुत्त्वाकर्षणको बल हो।

तर अणुभन्दा पनि सूक्ष्म तहमा पुग्दा गुरुत्त्वाकर्षणको बल यति कमजोर हुन्छ कि त्यसको प्रभावलाई बेवास्ता गर्न सकिन्छ। त्यसैले यसलाई स्ट्यान्डर्ड मोडलमा समेटिएको छैन। फलस्वरूप हामीले स्ट्यान्डर्ड मोडलको एउटा चित्र पूर्ण गरेका छौँ: कसरी फर्मिअनहरूले बोजनहरूसँग अन्तरक्रिया गरेर ब्रह्माण्डलाई वर्तमान स्वरूप दिएका छन्। तर हामीले अझै पाँचौँ प्रकारको बोजन कणको चर्चा गर्न बाँकी छ …. जुन हो हिग्स बोजन।

हिग्स बोजन के हो?
बाह्र फर्मिअन तथा चार बोजनसहित हामीसँग स्ट्यान्डर्ड मोडलका १७ मध्ये १६ वटा कण भइसके। यो मोडललाई पूर्णतादिने सत्रौँ कण हिग्स बोजन हो। एउटा प्रमुख प्रश्नको उत्तर पाउन हिग्स बोजन आवश्यक छ: क्वार्क तथा लेप्टनजस्ता कणसँग ‘मास’ अर्थात् पिण्डमान हुन्छ र तिनले पदार्थ निर्माण गर्छन्। तर त्यो पिण्डमान कहाँबाट प्राप्त हुन्छ त ? त्यसको उत्तर भनेको ‘हिग्स फील्ड’ हो। ब्रह्माण्डभरि फैलिएको एक अदृश्य ‘क्षेत्र’ जसले कणहरूमा पिण्डमान भरिदिन्छ। त्यही ‘हिग्स फील्ड’मा ‘हिग्स बोजन’ हरू हुन्छन्। तिने पदार्थ निर्माण गर्ने कणहरूमा पिण्डमान भरिदिन्छन्।

‘हिग्स बोजनको खोजले हामी सबै एउटा अनौठो चिजमा डुबेका छौँ भन्ने देखायो र त्यो चिज भनेको हामीलाई पिण्डमान दिने हिग्स फील्ड हो,’ अक्सफर्ड विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्री तथा सेवानिवृत्त प्राध्यापक फ्र्याङ्क क्लोजले भने। ‘माछालाई पानीमा डुब्न आवश्यक भए जस्तै हामीलाई हिग्स फील्ड चाहिन्छ,’ उनले बताए। उनी ‘इल्यूयुजिभ: हाउ पिटर हिग्स सल्भ्ड द मिस्टरी अफ मास’ नामक पुस्तकका लेखक हुन्।

सन् १९६४ मा त्यस्तो क्षेत्रयको अस्तित्वबारे सिद्धान्त प्रतिपादन गर्ने पिटर हिग्स पहिलोमध्येका वैज्ञानिक थिए। उनले त्यस्तो क्षेत्रसँग सम्बन्धित विशेष कण हुनुपर्ने अनुमान पनि गरे। तर सन् २०१२ मा त्यो पनि ‘लार्ज हेड्रन कलाइडर’को माध्यमबाट मात्र उक्त कण पत्ता लाग्यो। हिग्स बोजन भनेर नाम दिइएको उक्त कण सिद्धान्तमा मात्र नभई यथार्थमै फेला पर्‍यो।

यो खोज किन यति महत्त्वपूर्ण?
मेक्सिकोस्थित न्याश्नल अटोनमस यूनिभर्सिटीको इन्स्टिट्यूट अफ फिजिक्सका अनुसन्धानकर्ता साउल नोए रामोस सान्चेजका अनुसार हिग्स बोजनको खोजले ब्रह्माण्डसम्बन्धी हाम्रो ज्ञानलाई परिवर्तन गर्ने गरी तीन महत्त्वपूर्ण विषय उजागर गर्‍यो। ‘हाम्रा अणुहरूको निर्माण गर्ने सबै कणहरू बल्ल बुझियो। साथै एउटा कण र अर्को कणबीचको सम्बन्ध पनि बुझियो,’ रामोस सान्चेजले भने। हिग्स बोजन भनेको प्रोटोन वा इलेक्ट्रोनजस्तो होइन। अनि एउटा कण र अर्को कणबीच हुने निश्चित खालका अन्तरक्रियाका लागि यो जिम्मेदार छ जसले हामीलाई ती कणका पिण्डमानबारे ज्ञान दिन्छ। रामोस सान्चेजका अनुसार स्ट्यान्डर्ड मोडल ‘मानवजातिसँग भएको हालसम्मकै सुस्पष्ट सिद्धान्त’ हो।क्लोज त्यसमा सहमति जनाउँछन्: ‘थोरै साना अपवादबाहेक यसले हामीले देखेका सबै थोकको वर्णन गर्न सक्छ।’

भविष्य
सन् २०१२, जुलाई ४ को उक्त ऐतिहासिक क्षणपश्चात् ‘पार्टिकल फिजिक्स’मा अर्को महत्त्वपूर्ण आविष्कार नभएकोमा विज्ञहरू एकमत छन्। लार्ज हेड्रन कलाइडर तथा अमेरिकामा रहेको अर्को ‘पार्टिकल एक्सिलरेटर फर्मिल्याब’मा गरिएका पछिल्ला केही प्रयोगमा नयाँ कण वा पहिले थाहा नपाइएका भिन्न बलबारे केही सङ्केत प्राप्त भएको छ। यदि साँच्चिकै त्यसो रहेछ भने स्ट्यान्डर्ड मोडलमाथि पनि प्रश्न उठ्न सक्छ। तर ती प्रयोगका परिणामले ठोस निष्कर्ष भने दिन सकेका छैनन्। ‘हिग्स बोजनको खोजपश्चात् स्ट्यान्डर्ड मोडल बाँकी अन्य सिद्धान्तभन्दा निकै  विश्वसनीय बनेको छ,’ रामोस सान्चेजले भने।

तर के पनि साँचो हो भने अझै कैयौँ प्रश्न बाँकी छन् जसको उत्तर स्ट्यान्डर्ड मोडलले दिन सकेको छैन। पार्टिकल फिजिक्सको स्ट्यान्डर्ड मोडलले ब्रह्माण्डको ५% मात्र बुझाउँछ जुन स्वाभाविक र देख्न सकिन्छ। त्यसले ‘डार्क म्याटर’बारे बताउन सक्दैन। उक्त रहस्यमय पदार्थले ब्रह्माण्डको २७% भाग ओगट्छ। बाँकी ६८% भाग उस्तै रहस्यमय ‘डार्क एनर्जी’ले ओगट्छ। साथै यसले किन ब्रह्माण्डमा ‘एन्टी-म्याटर’भन्दा ‘म्याटर’ धेरै छ, अनि किन ब्रह्माण्डको विस्तार तीव्र गतिमा भइरहेको छ भन्ने जस्ता प्रश्नको उत्तर दिँदैन। अर्को कमजोरी चाहिँ यसले गुरुत्त्वाकर्षण बललाई समेट्दैन। यी रहस्यको उत्तर खोज्न कैयौँ सिद्धान्त अघि सारिएका छन् तर ती कुनैले पनि स्पष्ट उत्तर दिँदैनन्।

यद्यपि स्ट्यान्डर्ड मोडल गलत छ भन्ने अर्थ नलाग्ने विज्ञहरू बताउँछन्। ‘म त यो मोडल सङ्कटमा परोस् भन्ने चाहन्छु!’ क्लोजले भने। ‘यदि सङ्कटमा परेको भए हामीलाई यसलाई विस्थापन गर्ने र सबै थोक बुझाउन सक्ने अर्को मोडल प्रतिपादन गर्न प्रेरणा मिल्थ्यो होला,’ ती प्राध्यापकले भने। ‘तर स्ट्यान्डर्ड मोडलको यथार्थ के छ भने यसले निकै सही काम गरिरहेको छ।’ ‘हामीलाई थाहा छ यो पूर्ण सिद्धान्त अझ पनि होइन। तर हाम्रो पहुँचमा भएका सबै थोकको यसले अहिलेसम्म पूर्ण व्याख्या गर्छ।’

कागजभन्दा पर
सन् १९६४ मा अचेल हामीले भन्ने गरेको हिग्स फील्डको अस्तित्वबारे गरिएको अध्ययनमा पिटर हिग्सबाहेक अरू वैज्ञानिक पनि संलग्न थिए।सँगसँगैजसो अरू वैज्ञानिकहरूले पनि सोही दिशातर्फ इङ्गित गर्ने खालका अध्ययनहरू गरेका थिए। तर ती गणितीय अवधारणा सही भएको ठम्याउने उनी एक्लै थिए। त्यस्तो कण प्रकृतिमा साँच्चिकै रहेको र त्यो कुनै गणितको समस्या समाधन गर्न गरिएको कल्पना मात्र नभएको उनले पुष्टि गरे। ‘उनको गणनामा प्रकृतिमा केही अनौठो चिज भएको कल्पना गरिएको छ जसलाई हिजोआज हामी हिग्स फील्ड भन्छौँ,’ क्लोजले भने। ‘त्यसैले यदि उक्त फील्ड साँच्चिकै हुने हो भने त्यसलाई हामीले फेला पार्न सक्नुपर्छ। अनि त्यसलाई फेला पार्ने भनेको चाहिँ अहिले हामीले भन्ने गरेको हिग्स बोजन कणको खोजीबाटै हो।’

‘यो बुझ्ने हिग्स मात्र एक व्यक्ति थिए। त्यसैले सही रूपमा बोजनलाई उनको नाम दिइएको हो।’ जीवनको आफ्नो पछिल्लो खण्डमा पिटर हिग्सले स्कटल्यान्डको एडिन्बरामा एकान्त जीवन बिताए। उनी इन्टरनेट प्रयोग गर्दैनथे, केवल फोन प्रयोग गर्थे। लिफ्ट नभएको भवनमा बस्थे, आफ्नो कोठाबाट तल आउन उनले ८४ वटा सिँढी ओर्लिनुपर्थ्यो। प्राध्यापक क्लोजका अनुसार पिटर हिग्सले उसैगरी एकान्तमा जीवन बिताए जसरी उनले पत्ता लगाएको बोजन कैयौँ वर्ष फेला परेन तर जब फेला पर्‍यो त्यसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई सधैँका निम्ति फेरिदियो।

नोबेल पुरस्कार विजेता ब्रिटिश भौतिकशास्त्री पिटर हिग्सको ९४ वर्षको उमेरमा गत साता निधन भयो। यो सामग्रीमा हामीले उनकै नाममा राखिएको ‘हिग्स बोजन’ कणको खोजले हाम्रा वरपर भएका प्रायः सबै थोकप्रतिको हाम्रो बुझाइमा परिवर्तन ल्याइदियो भनेर हेर्ने जमर्को गरेका छौँ।

कार्लोस सेरानो
बीबीसी