No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन् २०२३ मा संचालन हुने अन्तरिक्ष अभियान

0

हामी सबैलाई अन्तरिक्षसम्बन्धी खबर रोचक लाग्छ । त्यसबारे रुचि हुने मानिसका लागि सन् २०२३ मा धेरै कुराहरू छन् । सन् २०२२ अन्त्य हुनुअघि मानवरहित ओरिअन अन्तरिक्षयानसहित आर्टमिस १ अभियान चन्द्रमामा प्रक्षेपण गरिएको थियो । अनि यो साल अन्य कैयौँ रकेट प्रक्षेपण गर्ने र अन्तरिक्ष अभियानहरू अघि बढाउने लक्ष्य राखिएको छ। तीमध्ये धेरैले मानवजातिलाई चन्द्रमामा फेरि पुर्याउने उद्देश्य पनि राखेका छन् ।
चन्द्र अभियान
ओरिअन चन्द्रमाको कक्षमा पुग्न सफल भएपछि नासाले उपकरण र वैज्ञानिक परीक्षणहरू गरेर सन् २०२५ सम्म मानिसलाई चन्द्रमामा पुग्ने अवस्था निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि एकभन्दा बढी अन्तरिक्ष अभियानहरू सञ्चालन हुनेछन्। नोभा सी नामक लुनर ल्यान्डरले पाँचवटा वैज्ञानिक उपकरणलाई सुरक्षित रूपमा चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने क्षेत्रमा पुर्याउनेछ ।

मानवयुक्त अन्तरिक्ष अभियान चन्द्रमामा पठाउँदा उक्त प्रविधिले पृथ्वीमा रहेका वैज्ञानिकहरूलाई सहयोग पुर्याउनेछ । कम फ्रिक्वेन्सीको रेडियो प्रणाली, सेन्सर र क्यामरालाई प्रयोग गरेर भावी अभियानका लागि महत्त्वपूर्ण सूचना सङ्कलन र तथ्याङ्कको अभिलेख राख्न ती कति प्रभावकारी छन् भन्ने जाँच गरिनेछ ।

मानवयुक्त यान चन्द्रमामा पुर्याउनका लागि भल्कन सेन्टो रकेटले पेरग्रेन लुनर ल्यान्डरलाई प्रक्षेपण गर्नेछ । पाँचवटा मुख्य इन्जिन भएको यो ल्यान्डरले अन्तरिक्षयानका सबै खालका काममा सहयोग गर्नेछन्। मूलरूपमा यसले चन्द्रमामा सामान बोक्ने भ्यानले जस्तै पेलोडलाई तोकिएको ठाउँसम्म पुर्याउनेछ।
अन्तरिक्ष पर्यटन
इन्टरनेशनल स्पेस स्टेशनबाट यो वर्ष पाहुनाहरूलाई पृथ्वीको कक्षामा १० दिन भ्रमण गराउनेगरी दुईवटा उडान हुनेछन् । त्यो दृश्य पक्कै पनि रोचक हुनेछ । त्यसमाथि चन्द्रमा माथिको उडानका लागि स्पेसएक्स मिशनमा सहभागी हुन एक जापानी अर्बपतिले आठ जनालाई छानेका छन् । यद्यपि अमेरिकी नियामक निकायहरूले अहिलेसम्म त्यसका लागि अनुमति दिइसकेको छैन ।

आईएसएसको आपूर्ति अभियान
हालैका वर्षहरूमा अर्बपति इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सको क्रु ड्रयागन अन्तरिक्षयानदाई इन्टर्न्याश्नल स्पेस स्टेशनमा मालसामान र मानिसहरूलाई सुरक्षित पुर्याउने जिम्मेवारी दिइएको हामीले देख्यौँ । सन् २०२३ मा नासाले मानिससहित पनि त्यस्ता उडान गर्नेछ । तर अब नासाका अन्तरिक्षयात्री बोकेको ड्र्यागन अन्तरिक्षयान मात्रै हुनेछैन, हामीले बोइङ सीएसटी–१०० स्टारलाइनरको पहिलो क्रियाशील अभियान पनि देख्न पाउनेछौँ ।

स्टारलाइनर आंशिक रूपमा पुनःप्रयोग गर्न सकिने अन्तरिक्षयान हो जसले चालकदलका सदस्यलाई इन्टरनेशनल स्पेस स्टेशन र पृथ्वीको अन्य तल्लो कक्षमा पुर्याउन सक्छ। यस्तो पहिलो पटक हुन लागेको हो । स्टारलाइनर १० पटकसम्म प्रयोग गर्न सकिन्छ र यसमा ट्याब्लेट र वायरलेससहित कैयौँ नवीन प्रविधिहरू छन् ।

हिमाच्छादित चन्द्रमा
युरोपेली अन्तरिक्ष निकाय ईएसए पनि अन्तरिक्षमा पुग्न इच्छुक छ। उसले जूपिटर आइसी मुन्स एक्सप्लोरर नामक अन्तरिक्षयान प्रक्षेपण गर्ने लक्ष्य लिएको छ । यो अभियानका लागि धैर्य चाहिन्छ। त्यहाँ पुग्न मात्रै आठ वर्ष लाग्छ । जब यो यान त्यहाँ पुग्छ त्यसले बृहस्पति र बरफले ढाकिएका त्यसका उपग्रह अर्थात् चन्द्रमाहरूको अन्वेषण गर्न थाल्नेछ ।

अक्टोबरभन्दा अघि स्पेसएक्स फाल्कोन हेभीले नासाको एउटा अन्वेषण अभियान ठूलो धातुले बनेको साइकी नामक क्षुद्रग्रहतर्फ पठाउनेछ । केही सफ्टवेयर र प्राविधिक गडबडीका कारण उक्त अभियान सन् २०२२ मा सुरु हुन सकेन। सन् २०२९ सम्म आफ्नो काम सम्पन्न गर्ने उक्त अभियान चलिरहँदा अन्तरिक्षयान मङ्गलग्रह हुँदै अघि बढ्नेछ ।

अनि यो गोप्य नै छ !
हामी तपाईँहरूलाई तथ्य, सूचना र ज्ञान उपलब्ध गराउँछौँ तर कति कुरा हामीलाई पनि थाहा छैन । अमेरिकाको नवगठित सुरक्षाबल ’द यूएस स्पेस फोर्स’ ले अन्तरिक्षयानमा कैयौँ गुप्त अभियानहरू सञ्चालन गरिरहेको छ। तिनको उद्देश्य हामीलाई थाहा छैन । त्यसबाट अन्तरिक्षका नयाँ ‘अभिभावक’बारे नयाँ रहस्य थपिएको छ । स्पेस फोर्ससम्बन्धी धेरै विवरण ’गोप्य’ र विशेष पहुँच भएका व्यक्तिले मात्र त्यो हेर्न पाउँछन्।

अमेरिकी सरकारका उच्च अधिकारीहरू त्यस्ता गोप्य जानकारी कसैलाई उपलब्ध गराउन चाहँदैनन् । तर हामीलाई के थाहा छ भने अमेरिकाले गत वर्ष एउटा विमान अन्तरिक्षमा पठाएको थियो र त्यसले ९०८ दिनमा यात्रा पूरा गरेको थियो। त्यो नयाँ कीर्तिमान थियो । यी सन् २०२३ का लागि अपेक्षित अन्तरिक्ष अभियानहरू हुन्।
बीबीसीबाट

 

प्रकाशित: २३ पुष २०७९, शनिबार ०५:४६

Leave a Reply