अष्ट्रेलियालीहरूले हरेक वर्ष फाल्छन् सात लाख टनभन्दा बढी खाना 

अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।

    इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलरबराबरको खाना खेर फाल्छन् ।

दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताए ।

अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

    नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ । 

    लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताए ।

    “यो कठिन समय हो, जीवनको लागतको सङ्कटले कार्यको आवश्यकतालाई तीव्ररूपमा ध्यान दिइरहेको छ । हामी सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने हाम्रो योजनाको आधा बाटोमा छौँ । यो शिखर सम्मेलन महत्त्वपूर्ण छ”, उनले भने ।

   जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्नको बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ । 

भारतमा बाढीपहिरोबाट ६ जनाको मृत्यु

भारतको उत्तरपूर्वको दुर्गम क्षेत्रमा भारी वर्षा पछि आएको आकस्मिक बाढी र पहिरमा परि ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

भारतीय पर्यटकहरूमा लोकप्रिय चिनको सिमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर पाँच जना बेपत्ता भएका छन् ।

राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढीले सडक तथा पुलहरू बगाउनुका साथै एक हजार पाँच सय भन्दा बढी मानिसहरु बाढीमा फसेको बताए ।

बिहीबार बिहान तिस्ता नदीको जलस्तर खतराको निशान नाघेकोले सडकमा गम्भीर क्षति पुगी यातायात अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार सिक्किमको उत्तरी भागका विभिन्न बिन्दुहरूमा एक सय भन्दा बढी सवारी साधनहरू प्रभावित भएका छन् ।

मङ्गन जिल्ला प्रहरी अधीक्षक सोनम डिचूले राज्यको उत्तरका केही भागहरू देशका बाँकी भागहरूबाट काटिएको उल्लेख गर्दै बाढीले उक्त क्षेत्रका धेरै घरहरू बगाएको बताए ।

सिक्किमको राज्य विपद् एजेन्सीले उद्धार कार्य जारी रहेको तर स्थानीय मोबाइल फोन नेटवर्कमा भएको क्षतिले राहत कार्यमा बाधा पुर्याएको बताएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकारले प्रभावित परिवारलाई सहयोग प्रदान गर्ने काम गरिरहेको बताए ।

बाढीग्रस्त रूसी सहरमा नागरिकलाई सुरक्षितस्थलमा स्थानान्तरण गर्न निर्देशन

 

रूसको ओरेनबर्ग शहरमा आएको ‘घातक’ बाढीपछि युराल नदीमा पानीको बहाव बढ्दै जाँदा ’ठूलो सङ्ख्यामा मानिसहरूलाई अन्यत्र स्थानान्तरण’ गर्न बाध्य पारिएको रूसी मेयरले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लेको छ र भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् ।

“शहरमा साइरन बजिरहेको छ,” ओरेनबर्गका मेयर सर्गेई साल्मिनले भने,“यो कुनै कसरत होइन ।”

उनले भने, “सामूहिक उद्धार कार्य जारी छ । अवस्था ज्यादै दयनीय छ, समय खेर नफाल्नुहोस् । शहरका धेरै जिल्लाका मानिसहरूलाई खाली गर्न आह्वान गर्दछु ।”

युराल नदीमा आस्र्कको अधिकांश भागमा बाढी आएको छ र क्षेत्रीय राजधानी ओरेनबर्गले नदीमा बढ्दो पानीको वहावको लागि तयारी गरिरहेको छ । यस सहरको जनसङ्ख्या लगभग पाँच लाख ५० हजार रहेको छ ।

“पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर (१५.७ इन्च) ले बढेको छ,” साल्मिनले भने ।

अधिकारीहरूले ओरेनबर्गका करिब दुई हजार ५०० घरहरू पानी र लगभग पाँच हजार प्रभावित व्यक्तिहरूलाई बताएका छन्।

म्यान्मामा राष्ट्रव्यापी निर्वाचन नहुने

 

सेनाले आफ्नो शासनविरुद्ध बढ्दो हिंसालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला म्यान्मामा अर्को राष्ट्रव्यापी निर्वाचन गर्न सक्षम हुन नसक्ने जुन्ता प्रमुखले सोमबार प्रकाशित टिप्पणीहरूमा स्वीकार गरेका छन् ।

सन् २०२१ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सेनाले निर्वाचन गर्न धेरै वाचा गरेको छ तर मुलुकका धेरै हिस्सामा विरोधीहरूसँग लड्नका लागि उसले बारम्बार आपत्कालीन अवस्था विस्तार गरेको छ ।

जुन्ता प्रमुख मिन आङ ह्लाइङले अधिकारीहरूले हाल मतदाता सूचीको प्रमाणीकरणमा ध्यान केन्द्रीत गरिरहेको भन्दै शान्ति स्थापना भएपछि मात्र निर्वाचन हुनसक्ने दोहोर्याएका छन् ।

रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने, “राज्य शान्तिपूर्ण तथा स्थिर भएको अवस्थामा कानूनबमोजिम राष्ट्रव्यापी निर्वाचन नभए पनि हामी सम्भव भएसम्म सम्बन्धित खण्डहरूमा निर्वाचन गराउने योजनामा छौँ ।” सरकारी स्वामित्वको ग्लोबल न्यु लाइट अफ म्यान्मा अखबारमा उक्त अन्तरवार्तालाई अङ्ग्रेजीमा पुनरमुद्रित गरिएको छ ।

जनरलहरूले नोबेल पुरस्कार विजेता आङ सान सु कीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले सन् २०२० को निर्वाचनमा सानदार जित हासिल गर्ने क्रममा चुनावी धाँधलीको निराधार दाबीसहित आफ्नो सैन्य विद्रोहलाई उचित ठहर गरेका छन् ।

जुन्तासहितको निर्वाचन आयोगले गत वर्ष पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली) लाई खारेज गरेको थियो । उक्त निर्वाचन प्रणालीअन्तर्गत एनएलडीले सानदार जित हासिल गरेको थियो । यसको स्थानमा समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीको प्रयोग गरिनेछ ।

सत्ता कब्जा गरेको तीन वर्षपछि जुन्ताले आफ्नो शासनको व्यापक सशस्त्र विद्रोहलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सेना मुलुकको ठूला हिस्साहरूमा लोकतन्त्र समर्थक सशस्त्र समूहहरू र पुराना जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लडिरहेको छ ।

ईयूद्वारा रूसी खाद्यान्न आयातमा कर वृद्धि गर्ने तयारी

युरोपेली सङ्घ (ईयू) ले युक्रेनविरुद्धको युद्धमा रूसले प्रयोग गर्ने राजस्व सङ्कलनलाई रोक्न खाद्यान्न र त्यससँग सम्बन्धित आयातमा ‘निषेधात्मक कर’ लगाउने भएको छ ।युरोपेली आयोगको यो प्रस्ताव ब्रसेल्समा शुक्रबार हुने शिखर सम्मेलनका क्रममा ईयू नेतासमक्ष प्रस्तुत गरिएको हो ।

व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीसले भने, “किएभद्वारा स्वागत गरिएको थप प्रतिबन्धहरू अन्यत्र खाद्य आपूर्तिमा बाधा नपुगोस् भनी ईयूमार्फत अन्य बजारमा पठाउने रूसी अनाजमा लागू हुनेछैन ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार भिडियो लिङ्कमार्फत ईयू नेताहरूसँग रूसी खाद्यान्नको बजारसम्म ‘निर्बाध’ पहुँच कायम रहेको र युक्रेनी आयात सीमित रहेको गुनासो गरेका थिए ।

ब्रसेल्सले २७ राष्ट्र सदस्य रहेको ईयूमा रूसी सम्पत्ति रोक्का गरेको, राष्ट्रपति भ्लादिमिर पुटिनलगायत रूसी नेताहरूलाई लक्षित गरेको र व्यापारमा अङ्कुश लगाएपछि रूसको आर्थिक मामिलामा दबाब बढाउने प्रयास गरिरहेको छ ।

युरोपेली आयोगले घट्दो आयको विरोधमा प्रदर्शन गरिरहेका युरोपका किसानहरूलाई सहुलियत बढाउँदै लगेको छ । घट्दो आयकोे एक हिस्साको रूपमा उनीहरूले युद्धग्रस्त युक्रेनबाट खाद्यान्न आयात नहुनुलाई दोष दिन्छन् ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने, “प्रस्तावित करले रूसी खाद्यान्नलाई यी उत्पादनहरूमा ईयूको बजारलाई अस्थिर गर्नबाट रोक्नेछ ।”

डोम्ब्रोवस्कीसले भने, “आजको प्रस्ताव समयानुकूल र आवश्यक कदम हो ।” युक्रेनमा रूसको चौतर्फी आक्रमणको लागि उसको भूगोललाई दिएको भन्दै ईयूले बेलारूसका उत्पादनहरूमा पनि कर लगाएको छ ।

आयोगका अनुसार सन् २०२३ मा युरोपेली सङ्घमा रूसी कृषि आयातमा वृद्धि भएपछि यो प्रस्ताव आएको हो ।

राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे अमेरिकी सर्वोच्च अदालतले फैसला सुनाउने

अमेरिकी सर्वोच्च अदालतले डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनाव लड्न पाउने–नपाउने विषयको एउटा ऐतिहासिक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलराडोको अदालतले ट्रम्पलाई उक्त राज्यमा हुने निर्वाचनमा अयोग्य ठहर्याएपछि उनले त्यस विरुद्ध पुनरावेदन दिएका थिए। जसका आधारमा न्यायाधीशहरू मुद्दा अगाडी बढाउन सहमत भएका हुन् ।

उक्त मुद्दाको सुनुवाइ फेब्रुअरी महिनामा हुनेछ र आदेश देशव्यापी रूपमा कार्यान्वयन हुनेछ । कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् । जसमा तीन वर्षअघिको अमेरिकी संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको घटनाका बेला उनी देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ ।

तर गृहयुद्धकालीन संवैधानिक संशोधनले कतै ट्रम्पलाई उम्मेदवार हुन अयोग्य ठहर्याउने त होइन भन्नेमा कानुनी जटिलता देखिन्छ । अमेरिकाको संविधानको १४औँ संशोधनले ‘देशद्रोह वा विद्रोहमा संलग्न’ जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ । तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागु नहुने तर्क राखेका छन् ।

ट्रम्पले मेइन राज्यका निर्वाचन अधिकारीहरूले उनलाई चुनावबाट अलग्याउन गरेको निर्णयविरुद्ध समेत उजुरी दर्ता गरेका छन् । कोलराडोको उच्च अदालतमा गत महिना अमेरिकी इतिहासमा पहिलो पटक १४औँ संशोधनको प्रयोग गरेर राष्ट्रपति उम्मेदवारलाई चुनावका लागि अयोग्य ठहर्याइएको थियो ।

उक्त निर्णय मत विभाजनबाट भएको थियो पक्षमा चार र विपक्षमा तीन जना न्यायाधीश थिए । सर्वोच्च अदालतले उक्त व्यवस्थालाई कसरी व्याख्या गर्ने भनेर पहिलो पटक टुङ्गो लगाउनेछ।

मैले अध्ययन गर्न चाहनुको कारण विश्वलाई शिक्षा बढी महत्वपूर्ण रहेको देखाउनु हो

सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि किमानी मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । यी ८४ वर्षका पूर्वसैनिकले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए । बाल्यकालमा उनी विद्यालय जान पाएनन्। त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले । किमानीका पूर्वशिक्षिका जेन ओबिन्चुले उनका कारण विश्वभरका मानिसहरू प्रेरित भएको बताइन् ।

अक्टोबर २००३ मा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधानाध्यपिका जेन ओबिन्चु अर्को शैक्षिक सत्रको तयारीमा व्यस्त रहँदा उनले कसलै ढोका ढकढक्याएको आवाज सुनिन् । ढोकाबाहिर किमानी मारुगे उभिएका थिए । उनले राज्यका प्राथमिक विद्यालयहरूबाट निःशुल्क शिक्षा दिने केन्याको नयाँ कानुनबाट आफूले फाइदा लिन चाहेको बताए । जेन सुरुमा अलमलमा परिन् र ८० वर्ष नाघेका ती विद्यार्थीलाई भर्ना लिने या नलिने स्पष्ट हुन सकिनन् । उनी भन्छिन्, ‘हामीले उनको कुरा मानेनौँ। हामीले उनलाई भन्यौँ, ‘सिक्नका लागि तिम्रो उमेर गइसक्यो।’ त्यही भएर उनलाई पन्छाउन मैले उनलाई सन् २००४ को जनवरीमा फेरि आउन भने।’

तर किमानीले आश मारेनन्। ‘म छक्क परेँ जब सन् २००४ मा विद्यालय खुल्दा उनी मेरो कार्यालयमा आए । उनले विद्यालयको पोसाक लगाएका थिए र झोला बोकेका थिए जसमा कापी र सिसाकलम पनि थियो।’ जेनले एक सातापछि फेरि आउन उनलाई भनिन्। तर जब किमानी फेरि उपस्थित भए, उनले उनीसँग बसेरै कुरा गर्ने निधो गरिन्।

प्रेरणाको स्रोत के हो?
किमानीले उनलाई गिर्जाघरमा पादरीबाट सुनेको कुराप्रति आफू विश्वस्त नरहेको र विरोध जनाउँदै गिर्जाघरबाट बाहिर हिँडेको बताए । तर जब उनी घर फर्कँदै दिए उनलाई चक्कर लागेजस्तो भयो। अनि तत्कालै केही देखेजस्तो महसुस गरे । ‘उनलाई हाम्रो विद्यालयमा जान भनियो ताकि उनले कसरी पढ्ने भनेर सिक्न सकून्। त्यसो गर्दा उनले आफैँ बाइबल पढ्न सक्थे,’ जेन भन्छिन् । ‘त्यस बेला उनले आफूलाई त्यहाँ एक जना महिलाले पढ्न सहयोग गर्ने भनिएको जानकारी दिए। र अन्तिममा उनले त्यस बेला आफूले कल्पनामा मलाई देखेको पनि बताए।’ जेनले उनलाई भर्ना गरिन्।

शैक्षिक सत्र सुरु भएको पहिलो दिन किमानी समयमै नयाँ पोसाकसहित विद्यालयमा आए। सिक्ने उनको तत्परताले नयाँ उत्साह निम्त्यायो । लाठीको साहाराले हिँड्दै गएर उनी बालबालिकाहरूसँग खेल्ने गर्थे। केही वर्षपछि किमानीले आफ्नो दृढता व्याख्या गरे ।

‘मैले अध्ययन गर्न चाहनुको कारण केन्याका विद्यार्थीहरू र विश्वलाई शिक्षा धनी बन्नु वा अरू कुनै पनि कुराभन्दा बढी महत्वपूर्ण रहेको देखाउनु हो। वास्तविक धन शिक्षित बन्नु हो,’ उनले सन् २००६ मा रोएटर्स समाचार संस्थासँग भनेका छन् । कतिपय अभिभावकहरू आफ्ना बच्चाहरूसहित एक जना वृद्ध कक्षाकोठामा बसिरहेको देख्दा खुसी थिएनन्। उनीहरूले विरोध नै गरे । जेनलाई त डर पनि लाग्यो। तर उनकै विद्यार्थीहरू कक्षाकोठाबाट निस्किए र आफ्ना अभिभावकहरूलाई पिट्न थाले ।

तर त्यसो गर्दा पनि केही अभिभावकहरू पछि हटेनन्। उनीहरूले शिक्षा विभागमा उजुरी दिए र जेनलाई सरुवा गराए । जेन त्यसविरूद्ध लडिन् र पुरानै जागिरमा पुनर्स्थापित भइन्। उनी किमानीसँग राम्रो सम्बन्ध कायम गर्न सफल भइन र उनलाई कसरी पढ्ने भनेर सिकाइन् ।
जेन भन्छिन्, ‘उनले अक्षरहरू उच्चारण गर्ने प्रयास गरिरहेको समय मेरो उनीबारेको सबैभन्दा मिठो सम्झना हो।’

‘त्यो रमाइलो थियो। गीत गाउन सिक्ने क्रममा उनले पनि गीत गाउन र अरू विद्यार्थीहरूले गर्ने काम पनि गर्न सक्थे।’ किमानीले परिणाम देखाउन थाले। एक दिन किमानीले बाइबल उठाए र ‘जन ३१६’ शीर्षकको भाग पढे। ‘त्यो उनले वाचन गरेको पहिलो पङ्क्ति हो। त्यसले भगवानले हाम्रा पापहरूका लागि आफ्ना एक मात्र छोरालाई मर्न पठाएको चर्चा गर्छ।’

‘उनले पढिरहँदा हामी उत्साहित भयौँ र हाम्रा आँखा रसाए,’ उनले भनिन्। जेनले त्यो बेला किमानीको अन्तर्दृष्टि वास्तविकतामा बदलिएको विश्वास गरिन्।

अन्तर्राष्ट्रिय ख्याति
अझ रोमाञ्चक यात्रा सुरु हुन बाँकी नै थियो । सन् २००५ मा किमानी र जेनलाई संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्नका लागि न्यूयोर्क लगिएको थियो। शिक्षालाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले उक्त भ्रमणको व्यवस्थापन गरेका थिए । रोएटर्सले खिचेको एउटा भिडिओमा उनलाई न्यूयोर्कमा एक अमेरिकी विद्यालयको पहेँलो रङ्गको बसमा चढेर टाइम्स स्क्वाएरमा घुमिरहेको देख्न सकिन्छ। उनी एम्पाइअर स्टेट बिल्डिङबाहिर हिँडिरहेको र घोडा चढिरहेका एक जना प्रहरी अधिकारीसँग हात मिलाइरहेको देख्न सकिन्छ । तर त्यस्तो स्वागतले उनी भित्रैबाट खुसी भएनन्। ‘उनले त्यहाँ पर्याप्त न्यानोपन महसुस गरेनन्। त्यही भएर उनले सोधिरहे, हामीलाई अफ्रिकामा जस्तै यहाँ किन कसैको पनि घरमा बोलाइदैँन।’ उनले केन्याको खानेकुरा पनि याद आयो। तर उनले संयुक्त राष्ट्रसङ्घलाई स्पष्ट सन्देश दिए । ‘मेरो अपेक्षा छ कि सम्पूर्ण विश्वले सन्देश पाउनेछ र जसले विद्यालय जान पाएका छैनन् उनीहरूले विद्यालय जान पाउनेछन्।’

पदचापलाई निरन्तरता
उता केन्यामा किमानी आफ्नो विद्यालयका प्रमुख छात्र बने । उनको कीर्तिमान गिनिज बुक अफ रिकर्ड्समा पनि दर्ता भयो । उनको निधन सन् २००९ मा भयो। त्यसको एक वर्षपछि उनको जीवनमा आधारित चलचित्र ‘द फ्रस्ट ग्रेडर’ बनाइयो । त्यसको एक वर्षपछि ८५ वर्ष पुगिसकेकी उनी श्रीमती प्रिसिला सिटिनाई पनि अक्षर चिन्नका लागि प्राथमिक विद्यालयमा जान थालिन्। पेसाले सुँडेनी रहेकी उनी आफ्ना ६ पनातिहरू र आफूले प्रसूतिमा सघाएर जन्मिएका कैयौँ बच्चाहरूसँगै एउटै कक्षाकोठामा पढ्थिन् । उमेरका हिसाबले आफ्ना श्रीमान्भन्दा एक वर्ष ढिलो विद्यालयमा जान थालेकी उनले आफ्नै कीर्तिमान रचिन्।

सन् २०२२ मा निधन हुँदा उनको उमेर ९९ वर्ष थियो। उनी विश्वकै सर्वाधिक वृद्ध प्राथमिक विद्यालयकी विद्यार्थी भएको विश्वास गरिन्छ । ‘मलाई के गर्व लाग्छ भने धेरै वृद्ध मानिसहरू विद्यालय फर्कन थाले। मेरै कैयौँ कर्मचारीहरू आफ्नो शिक्षा अघि बढाउन कक्षा कोठामा फर्किए,’ जेन भन्छिन् । ‘त्यसले गर्दा भगवान्ले मलाई उद्देश्यसहित पठाउनुभएको महसुस भयो। त्यो उद्देश्य भनेको कमानीलाई पढ्न र लेख्न सिकाउनु थियो।’

विकी फार्नकोम्बी
बीबीसी

 

पाठेघरको मुखको क्यान्सरको उपचारमा पछिल्लो २० वर्षको सबैभन्दा ठूलो उपलब्धि

पाठेघरको मुखको क्यान्सरको उपचारमा पछिल्लो २० वर्षको सबैभन्दा ठूलो उपलब्धि हासिल भएको वैज्ञानिकहरूले बताएका छन् । प्रचलित रेडियोथेरापी उपचारभन्दा लगत्तै अघि पहिल्यै विद्यमान सस्तो औषधिकै प्रयोग गरेर यस्तो उपचार हुने उनीहरूको भनाइ छ । युरोपियन सोसाइअटी फर मेडिकल अङ्कलजी (ईएमएसओ)को सम्मेलनमा सार्वजनिक गरिएको परीक्षणको नतिजाअनुसार यस तरिकाको उपचारले यस रोगबाट महिलाको मृत्यु हुने वा रोग फर्कने जोखिम ३५ प्रतिशतले कम हुन्छ । यस अध्ययनमा लगानी गरेको क्यान्सर रिसर्च यूकेले यस नतिजालाई “उल्लेखनीय“ भनेको छ । उपचार केन्द्रहरूले आफ्ना बिरामीहरूका लागि छिट्टै यही विधिको प्रयोग सुरु गर्ने उसको अपेक्षा छ।

पुरानो औषधिको नयाँ प्रयोग
पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिलाहरू प्रभावित हुने गरेका छन्। रेडियोथेरापी उपचारमा सुधार भए पनि करिब एक तिहाइ बिरामीमा क्यान्सर फर्कने गरेको देखिएको छ। अर्थात् यसको उपचारका लागि नयाँ विधि अत्यन्त आवश्यक भइसकेको छ । क्यान्सर रिसर्च बेलायतका डा इअन फक्सले भने, ‘क्यान्सरको उपचारमा समय नै सबै थोक हो । विभिन्न अन्य क्यान्सरको हकमा शल्यक्रिया र रेडिओथेरपीजस्ता अन्य उपचारभन्दा अघि कीमोथेरपीका अतिरिक्त चरणहरूको महत्त्व देखाउने प्रमाणहरू बढ्ने क्रममा छन्। यसले क्यान्सर फेरि देखिने सम्भावनालाई मात्र कम गर्दैन, बरु यसलाई संसारभरि पहिले नै उपलब्ध औषधिको प्रयोग गरी छिटो गर्न पनि सकिन्छ।’

‘पाठेघरको मुखको क्यान्सरको उपचारमा यस परीक्षणले ल्याउन सक्ने थप सुधारबारे हामी उत्साहित छौँ र हामीलाई आशा छ कि उपचार केन्द्रहरूमा इन्डक्शन कीमोथेरपीका छोटा प्रक्रियाहरू तीव्र गतिमा अपनाइनेछ।’

अध्ययन
यस अध्ययनमा पाठेघरको मुखको क्यान्सर भएका २५० महिलाहरूलाई नयाँ उपचार प्रक्रियामा सामेल गरिएको थियो । सुरुको ६ हप्तासम्म कार्बोप्लाटिन र प्याक्लिट्याक्सल औषधिको प्रयोग गरी कीमोथेरपीको एक सघन प्रक्रियापछि रेडिओथेरपीको प्रचलित उपचार गरिएको थियो। यसका अतिरिक्त साप्ताहिक रूपमा सिस्प्लाटिन र ब्राकेथेरपी पनि गरिएको थियो, जसलाई कीमोरेडिएशन भनेर पनि चिनिन्छ । ‘कन्ट्रोल ग्रुप’ भनिएको अन्य २५० जना महिलाहरूलाई भने प्रचलित कीमोरेडिएशनमा मात्र सहभागी गराइयो ।

पाँच वर्षपछि नयाँ उपचार पद्धतिमा सामेल भएकामध्ये ८० प्रतिशत जीवित नै रहे भने ७३ प्रतिशतमा क्यान्सर फर्किएको वा फैलिएको पाइएन । प्रचलित उपचार पद्धतिमा सामेल समूहमा भने ७२ प्रतिशत बिरामी जीवित नै रहे र ६४ प्रतिशतको क्यान्सर फर्किएको वा फैलिएको थिएन ।

सबैभन्दा ठूलो सुधार
यूनिभर्सटी कलेज लन्डन क्यान्सर इन्स्टिट्यूटकी मुख्य अनुसन्धानकर्ता डा म्यारी म्याक्कोर्म्याकले भनिन्, ‘हाम्रो परीक्षणले के देखाएको छ भने स्ट्यान्डर्ड कीमोरेडिओथेरपीभन्दा लगत्तै अघिको अतिरिक्त कीमोथेरपीको छोटो प्रक्रियाले क्यान्सर फर्कने वा त्यसबाट मृत्यु हुने जोखिम ३५ प्रतिशतले घट्छ । यस रोगबारे पछिल्लो २० वर्षमा प्राप्त नतिजाहरूमध्ये यो सबैभन्दा ठूलो सुधार हो।

उनले भनिन्, ‘यहाँ महत्वपूर्ण कुरा के छ भने यदि बिरामीहरू जीवित र स्वस्थ छन् अर्थात् पाँच वर्षसम्म क्यान्सर फर्किएन भने उनीहरूलाई निको हुने सम्भावना अधिक हुन्छ। यसै कारण यो अनुसन्धान उत्साहजनक भएको हो।’

कीमोथेरपीमा प्रयोग हुने उल्लिखित दुई औषधिहरू सस्ता, सहज उपलब्ध र बिरामीले प्रयोग गर्न स्वीकृत भइसकेकाले उनीहरू छिट्टै नै उपचारको नयाँ मानकका रूपमा स्थापित हुन सक्ने विज्ञहरूको भनाइ छ । यद्यपि पाठेघरको मुखको क्यान्सर भएका हरेक महिलाले यस उपचार पद्धतिबाट उही लाभ तथा उपलब्धि हासिल गर्न नसक्ने सम्भावना पनि रहेको उनीहरू बताउँछन्।

अध्ययनमा सहभागी कतिपय महिलामा क्यान्सर शरीरको अन्य भागमा फैलन सुरु गरेकै थिएन। रोगको स्तर अझ विकसित भइसकेका महिलाहरूका लागि यस उपचार पद्धतिले कस्तो काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । यी औषधिले वाक्वाकी लाग्ने तथा कपाल झर्नेलगायत अवाञ्छित साइड इफेक्ट पनि गर्न सक्छन् ।

मिशेल रोबर्ट्स
बीबीसी

स्तन क्यान्सर पत्ता लगाउने उपकरणको विकास

पहिरिन मिल्ने अल्ट्राउन्ड उपकरण आफ्नो ब्रा कपमाथि जडान गरिएको कल्पना गर्नुहोस् । तपाईँले एक कप कफी पिइरहँदा त्यसले तपाईँको स्तनमा ट्यूमर छ कि छैन जाँच्न सक्छ । टर्कीका वैज्ञानिक डा कानन दाग्देभराइनले म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी)को मिडिया ल्याबका टोलीहरूसँग मिलेर यो प्रविधि विकास गरेकी हुन् । उनले स्तन क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नो एक आफन्तको सम्मानमा उक्त उपकरण बनाएकी हुन् । उक्त उपकरणले उच्च जोखिम भएका बिरामीहरूलाई म्यामोग्राम गर्ने उपकरणहरूको बीचमा नियमित अनुगमनको मौका दिन्छ । स्तन क्यान्सर महिलाहरूमा देखापर्ने सबैभन्दा बढी देखिने खालको क्यान्सर हो ।

सन् २०२० मा २३ लाख महिलामा उक्त क्यान्सर देखिएको थियो र छ लाख ८५ हजार जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । महिलाहरूको ज्यान लिने दोस्रो प्रमुख कारण स्तन क्यान्सर हो । अमेरिकन क्यान्सर सोसाइटीले स्तन क्यान्सर प्रारम्भिक र प्राथमिक चरणमा नै पहिचान भएको खण्डमा औसत पाँच वर्ष बाँच्ने सम्भावना ९९ प्रतिशत रहेको जनाएको छ । डा दाग्देभराइनले उक्त उपकरणले जीवित रहने प्रतिशत बढाउन सक्ने बताइन् । हाल ढिलो गरी स्तन क्यान्सर पहिचान गरिएका व्यक्ति जीवित रहने सम्भावना २२ प्रतिशत मात्रै छ ।

यो उपकरणले कसरी काम गर्छ ?

एमआईटीका वस्तुसम्बन्धी वैज्ञानिक र इन्जिनियर क्यानन दाग्देभराइनलाई सबैभन्दा पहिला यस्तो उपकरण बनाउने सोच अस्पतालमा आफ्नी आफन्तसँग अस्पतालमा बसिरहेको समयमा आएको थियो । नियमित रूपमा स्तनको जाँच गराए पनि ती आफन्तलाई आक्रामक खालको स्तन क्यान्सर भएको थियो र क्यान्सर पहिचान भएको छ महिनाभित्र उनको मृत्यु भयो । त्यो तन्किने र पुनः प्रयोग गर्न मिल्ने खालको प्याच हो जुन ब्रासँग जोडिएको हुन्छ । यो प्रयोग गर्न अर्को व्यक्तिको सहयोग चाहिँदैन ।

मौरीको चाकाको आकारको उक्त उपकरणमा छवटा स्लटहरू छन् र त्यहाँ बीचमा साना अल्ट्रासाउन्ड क्यामरा राखेर स्तनलाई सबै दिशाबाट हेर्न सकिन्छ । त्यसले ‘अल्ट्रासाउन्ड जेल’ बिनै काम गर्छ । डा दाग्देभराइनका अनुसार उक्त उपकरणले ०.३ सेन्टिमिटर व्यास भएको सिस्ट (गिर्खा)हरूलाई पनि पहिचान गर्न सक्छ। त्यो आकार ट्यूमरको प्रारम्भिक चरणको जत्रै हो । “त्यही भएर त्यसले कुनै पनि अस्वाभाविक कुरा पत्ता लगाउन सक्छ।’

म्यामोग्राम के हो?

स्तन क्यान्सर पहिचान गर्ने सबैभन्दा चल्तीको विधि म्यामोग्राम हो। त्यसमा स्तनको एक्स–रे गरिन्छ । एक्स–रे गर्दा विकिरण शरीरभित्र प्रवेश गर्छ र त्यहाँको तस्बिर खिचिन्छ । तर धेरै देशमा म्यामोग्राम महँगो छ। सरकारी स्वास्थ्य प्रणालीले त्यसको खर्च बेहोरिदिँदैन ।

किन केही महिलालाई स्तनमा दुख्छ ?

‘प्रत्येक व्यक्तिमा निजका स्तन विशिष्ट हुन्छन् र त्यहाँ भित्रको ग्रन्थि र बोसो भएको तन्तुको फरकपन आफ्नै खालको हुन्छ,’ कन्सल्टेन्ट रेडिओग्राफर हेलेन युल भन्छिन् । धेरै ग्रन्थि भएका महिलाहरू बढी बोसो भएका तन्तुसहितको स्तन भएकाहरूको तुलनामा म्यामोग्रामका समयमा असहज महसुस गर्छन्। होर्मन परिवर्तन गर्ने थेरपीले पनि स्तनलाई संवेदनशील बनाउन सक्छ । युलका अनुसार म्यामोग्राम कस्तो हुन्छ भन्ने महिलाहरूको अपेक्षाले पनि भूमिका खेल्छ । म्यामोग्रामको समयमा असहजता रोक्ने केही साधारण उपायहरू पनि छन्। जस्तै महिनावारी हुनुभन्दा एक साता पहिले वा महिनावारीको समयमा म्यामोग्राम गराउने प्रयास गर्नुपर्छ वा त्यसअघि पारासिटामोल सेवन गर्नुपर्छ ।

अल्ट्रासाउन्ड ब्रा कसका लागि हो ?

अध्ययनहरूले ट्यूमरहरू नियमित म्यामोग्राम गर्दा बीचको अवधिमा पनि विकासित हुन सक्ने देखाएका छन्। स्तन क्यान्सरको हकमा त्यस्तो बीचको अवधिमा विकास भएका क्यान्सर २० देखि ३० प्रतिशत छन् । एमआईटीको टोलीले ती ट्यूमरहरू नियमित परीक्षणको समयमा पहिचान हुनेभन्दा अझ आक्रामक हुने गरेको बताएको छ । यो उपकरण स्तन क्यान्सरको उच्च जोखिम भएका महिलालाई उपलब्ध गराउन सकिने र यसले दुईवटा म्यामोग्राम वा स्वयं गर्ने परीक्षणको अवधिबीचको समयमा पनि ट्यूमर आएको थाहा पाउन सघाउने भनिएको छ । तर अनुसन्धानकर्ताहरूले ‘कुनै समस्या देखिए, म्यामोग्राम अझ पनि चाहिने’ उल्लेख गरेका छन् ।

यो उपकरण कहाँ विकास गरियो ?

एमआईटीमा पहिरिन मिल्ने स्वास्थ्य उपकरणहरूका बारेमा काम गरिरहेका टोलीहरूले साढे छ वर्ष लगाएर यो उपकरण विकास गरेका हुन् । अमेरिकामा त्यसलाई पेटन्ट अधिकार दिइएको थियो र अहिले पनि मानवमा परीक्षण चलिरहेको छ । एउटा उपकरणका लागि झन्डै १,००० डलर आवश्यक पर्छ तर आविष्कारकर्ताहरूले ठूलो परिमाणमा उत्पादन हुन थालेपछि मूल्य घट्ने बताएका छन् । यो चारदेखि पाँच वर्षसम्म चल्छ । तपाईँले प्रत्येक दिन स्क्यान गर्नुभयो भने ‘एउटा स्क्यानको मूल्य एक कप कफीको दामभन्दा सस्तो पर्ने’ अनुसन्धान टोलीको आकलन छ ।

महिलाहरूका लागि आशा

अध्ययनहरूले ढिलो गरी स्तन क्यान्सर पहिचान हुने भएकाले र स्वास्थ्य सेवामा पर्याप्त पहुँच नहुने भएकाले विकासशील देशमा स्तन क्यान्सरका कारण धेरै जनाको मृत्यु हुने गरेको देखाएका छन् । डब्ल्यूएचओको तथ्याङ्कले उच्च आय भएका देशमा स्तन क्यान्सरपछिको पाँच वर्ष जीवित रहने सम्भावना ९० प्रतिशतभन्दा बढी देखाउँछ । तर भारतमा त्यो ६६ प्रतिशत र दक्षिण अफ्रिकामा जम्मा ४० प्रतिशत मात्रै छ । यो उपकरणलाई शरीरका अन्य अङ्ग स्क्यान गर्न पनि प्रयोग गर्न सकिन्छ । डा दाग्देभराइनले पोहोर आफू गर्भवती हुँदा बच्चालाई स्क्यान गर्न त्यसको प्रयोग गरेकी थिइन् । ‘मेरी आन्टी जम्मा ४९ वर्षमै बित्नुभयो। मर्ने कुरा उहाँको मनमा कतै आएको थिएन। उहाँले त्यस्तो ब्रा लगाएको भए कस्तो हुन्थ्यो होला?’ उनी भन्छिन् ।

आइलिन याजन
बीबीसी

बङ्गलादेशमा डेङ्गुबाट एक हजार जनाको मृत्यु

 

बङ्गलादेशमा यसवर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ ।

डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ । अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेङ्गुसहित चिकुङ्गुन्या, पहेँलो ज्वर र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ ।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले  प्रकाशित गरेको तथ्याङ्कअनुसार डेङ्गुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ ।

महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेङ्गुबाट मर्नेहरूको सङ्ख्या यस वर्ष उच्च रहेको बताए । “यो बङ्गलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो”, उनले भने ।

मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन् । यो आँकडा सन् २०२२ को तुलनामा कम हो । सो वर्ष डेङ्गुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो ।

यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेङ्गुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् ।

सन् १९६० को दशकबाट बङ्गलादेशमा डेङ्गुका केसहहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्याङ्क राख्न थालेको हो ।

डेङ्गुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बङ्गलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेङ्गुको प्रकोपले बङ्गलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताएका थिए ।