केशवप्रसाद भट्टराई ।
प्रजातान्त्रिक राजनीतिक स्थीरताकोलागि यसरी राजनीतिक अभ्यासबाटै विकसित हुँदै जाने अमेरीका, बेलायत जस्ता मुलुकको जस्तै दुई दलीय व्यवस्था आवश्यक छ ।
१. यदि काङ्ग्रेस र एमालेले एक्लाएक्लै चुनाव लड्ने राजनीतिक आत्मविश्वास र साहस गरे भने यही व्यवस्था भित्र पनि कुनै एउटै दलको बहुमतको सरकार सम्भव छ । एमालेले भन्ने गरेको दुई दलीय व्यवस्थामा पुग्ने बाटो पनि त्यही हो । प्रजातान्त्रिक राजनीतिक स्थीरताकोलागि यसरी राजनीतिक अभ्यासबाटै विकसित हुँदै जाने अमेरीका, बेलायत जस्ता मुलुकको जस्तै दुई दलीय व्यवस्था आवश्यक छ । तर च्याँखे बोकेर हिड्ने अनि खालमा च्याँखे अघि सारेर आफू हात बाँधेर बसेर दुई दलीय व्यवस्था आउन्न ।
२. एमालेले मित्रतापूर्ण प्रतिष्पर्धा गरौँ र एक्लाएक्लै चुनाव लडौँ भनेर काङ्ग्रेससँग प्रस्ताव राखोस् । त्यसो गर्दा बाँकी दलले मोर्चा वा एकीकरण गरेर केही समय तेस्रो दलको रुपमा देखिन सक्छन् । सरकार बनाउन बीचमा बसेर मोलतोल गर्ने अवस्था आउन सक्छ क्लेही समयका लागि तर ती दलहरुको आयु भनेको हालका ती दलका नेताको सक्रिय राजनीति गर्ने आयु भर जस्तो मात्रै हो । अनि ती सवै या त काङ्ग्रेस –एमालेमा विलय हुने हुन् या विलीन भएर जाने हुन् ।
३. काङ्गेस केन्द्रीय समितिले ठूलो भाग उम्केला जस्तो गरेर हत्तनपत्त गठबन्धनको निर्णय गर्यो यता माओवादी र समाजवादीले दम्स्याउन पाए । सरकारमासँगै छन्–संसदमा र सडकमा सरकारको निर्णयको विरोध गर्छन् । सरकारमा बस्ने संसद र सडकमा कुर्लिएर सरकारलाई अलोकप्रिय बनाउने घटिया राजनीतिक संस्कार बोकेकाको भर परेर हुन्छ ?
४. ज्योतिषीले दिएको साइत पर्खिदा पर्खिदै साइत गुम्ने सम्भावना पनि हुन्छ शेरबहादुर दाइ ! एउटाको साइतलाई वीचमै रोकेर अर्काको साइत पार्ने ज्ञान पनि छ ज्योतिष विद्यामा । त्यसैले अविलम्व प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गर्नोस् । एक्लाएक्लै चुनाव लड्ने रणनीतिक आत्मबल जोहो गर्नोस र एमालेलाई एक्लै आउन चुनौती दिनुहोस् ।
५. अन्त्यमा किन लेखेको ? कसले सुन्छ र ? ओली र देउवाले पनि कसैको कुरा सुन्छन् ? भन्ने प्रश्न तेर्स्याउने मेरा मेरा मित्रहरूमा मेरो अड्भान्स्ड स्पष्टीकरण –कसैले मेरो कुरो सुन्छन् भनेर लेखेको होइन हजुर हो ,मेरो नागरिक धर्म मात्रै निर्वाह गरेको ।


