+

भारत र नेपाल जस्ता मुलुकहरू पछि पर्नुको एउटा कारण

२२ चैत्र २०७८, मंगलवार ०२:४६

केशवप्रसाद भट्टराई ।
१. वेद चार छन्, हामी सवैलाई थाहा छ । हरेक वेदका अनेकौँ शाखाहरू भएका प्रमाणहरू पाइएका विज्ञहरू बताउँछन् । जस्तो ऋगवेदका २१, यजुर्वेदका १०१, अझ सामवेदका त एक हजार शाखा हरू र अथर्व वेदका ९ शाखा गरेर जम्मा गरेर वेदका ११३१ शाखा थिए । (पं राधेश्याम खेमका) तर दुर्भाग्यबस ती मध्ये १२ शाखाहरूमात्र उपलव्ध भएको बताइन्छ । त्यसैगरी उपनिषदहरू छन् ।

२. वेद समग्र जीवन र जगतबारे बताउने अनि जीवन र जगतलाई व्यवस्थित गर्ने, अनुशाशित र मर्यादित गर्ने ज्ञान, विज्ञान र संविधान हो । ज्ञान र विज्ञानको महासागर हो । अनि आत्मा र परमात्मा, जीव र ब्रह्मवीच सम्बन्ध र तादात्म्य राख्न सिकाउने शास्त्र उपनिषद् हो । एक किसिमले उपनिषद वेदको मर्म हो । सार हो वेदका छ अङ्ग चार उपाङ्ग मध्ये एउटालाई वेदान्त , मीमांसा वा दर्शन भनिन्छ । त्यसैले उपनिषदलाई वेदान्त वा दर्शन भनिने गरियो । उपनिषद्हरू पनि शयौँ थिए तर अधिकांश नष्ट भए । बाँकी १०८ उपनिषदहरूको गणना पण्डितहरूले गरेका छन् । तर ती सवै प्राप्य छैनन् ।

३. हिन्दुहरू माझ अत्यन्त बढी लोकप्रिय संस्कृत ग्रन्थ हो रामायण । सवैभन्दा प्रशिद्ध बाल्मिकी रामायण मानिन्छ । स्वयम् भगवान शिवजीले माता पार्वतीलाई सुनाउनु भएको राम कथालाई “अध्यात्म रामायण“ मानिन्छ । अगस्त्य रामायण , संवृत्त रामायण,लोमस रामायण,मन्जुल, सौपद्म, सौहार्द, सौर्य , चान्द्र,मैन्द,स्वायम्भुव , सुब्रह्म , सुवर्चस, देव, श्रवण, दुरन्त रामायण ( रामदास गौड) आदि १९ रामायणहरूको उल्लेख पाइन्छ । बिभिन्न भाषामा नेपाल र भारतदेखि जापान, कोरिया, लाओस, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया आदि देशहरूमा तुलसीदास र भानुभक्त जस्ता शयौं कवि र लेखकहरूले आफ्ना आफ्ना भाषामा रामायण लेखेका छन् । रामायण एउटा ग्रन्थ मात्र होइन, यो एउटा सभ्यताको नाउ हो । वेदव्यास रचित महाभारतको बारे हामीलाई थाहा छ तर महर्षि वादरायण र महर्षि सौतीहरुले पनि महाभारत रचना गर्नुभएको तर ती पनि सम्भवत नष्ट भएका छन् !

४. १८ पुराणका बारेमा हामी सवै धेरथोर जानकारी राख्छौँ नै ।

५. वेदका सयौँ शाखा ग्रन्थहरू, उपनिषदहरू रामायण र महाभारतहरू , अन्य दर्जनौ पुराण र दर्शनका ग्रन्थहरू आज अप्राप्य छन् ।

६. ती अप्राप्य हुनुका मूल कारण मुस्लिम आक्रमण र आगजनी हो । दाङको तुलसीपुरस्थित तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका हजारौँ दुर्लभ ग्रन्थहरूलाई माओवादीले आगो लगाइदिएका थिए । कयौं दिनसम्म उक्त पुस्तकालयमा लागेको आगो ननिभेको बारे स्थानीयहरू बताउँछन् । मुसलमानहरूले त्यस्तै आगजनी नेपाल र भारतमा बारम्बार गरेका थिए ।

७. उदाहरणको लागि संसारको सवैभन्दा पुरानो र पहिलो विश्व विद्यालय थियो तक्षशीला विश्वविद्यालय । भारत विभाजनपछि पाकिस्तानी भूभागमा परेको र रावलपिण्डी भन्दा करीव ५० किलोमिटर पश्चिममा पर्ने तक्सिला वा तक्षशीलामा इशा पूर्व ७०० देखि इशाको १००० सम्म यो विश्वकै प्रमुख ज्ञान र विज्ञान केन्द्र थियो । त्यस्तै थियो हालको पटनाबाट करीव सय किलोमिटर दक्षिण–पश्चिममा पर्ने नालन्दा विश्वविद्यालय । इशा पूर्व ५०० देखि सन् १२०० सम्म अस्तित्वमा थियो । १० हजार भन्दा बढी नेपाल, भारत, तिब्बत र चीनका मात्र नभएर जापान र कोरियासम्म हिन्दु र वौद्ध विद्यार्थीहरू अध्ययन गर्ने, तीन सय कक्षा कोठा, विशाल सभागृहहरू भएका ती विश्वविद्यालय क्षेत्र आज विश्वको प्रमुख सम्पदा क्षेत्रमा गणना हुन्छन् ।

मुसलमानहरूको आक्रमण र आगजनीमा नालन्दा विश्व विद्यालयको मात्रै ९० लाख पुस्तकहरू जलाइएका थिए, त्यस्तै संख्यामा तक्षशीला विश्व विद्यालयका दुर्लभ ग्रन्थहरू नष्ट भए । त्यस्ता आगजनी तीन पटक भए , एक पटक पुनर्निर्माण भयो त्यस पछि हुन सकेन । त्यहाँ लागेको आगो झन्डै डेढ वर्ष सम्म निभेन । मनसुनी वर्षामा पनि निभेन । तिनै र त्यस्तै आगजनीमा वेदका सय भन्दा बढी शाखा ग्रन्थहरूका हजारौँ प्रतिहरू , उपनिषद् र पुराणहरू र हजारौँ बौद्ध ग्रन्थहरू नष्ट भए । जव विश्वविद्यालय र पुस्तकालयहरू त्यसरी नष्ट भए , भारत र नेपाल जस्ता मुलुकहरु पछि पर्दै गए ।